Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहिलाको आर्थिकस्तर माथि उठाउन सरकारका कार्यक्रम गरिब लक्षित हुन जरुरी

महिलाको आर्थिकस्तर माथि उठाउन सरकारका कार्यक्रम गरिब लक्षित हुन जरुरी


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलाहरूको आर्थिकस्तर माथि उकास्न सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली महिला सम्मेलनमा उनले महिलाहरू अझै पनि आर्थिक क्षेत्रमा कमजोर रहेको बताइन् । नेपालको सन्दर्भमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढे पनि अन्य क्षेत्रमा भने अझै पनि न्यून रहेको उनको भनाइ थियो । संविधानले महिला र पुरुषलाई पैतृक सम्पत्तिमा बराबरी हक दिए पनि महिलाहरूले सम्पत्तिमा दाबी गर्ने क्रम अझै कम रहेको उनले बताइन् । ‘महिलाहरूको सम्पत्तिमाथिको अधिकार बिस्तारै बढ्ने क्रममा छ । नौ प्रतिशतबाट अहिले विस्तारै बढ्दै गएको छ’, उनले भनिन्, ‘राष्ट्रिय जनगणनाले २४ प्रतिशत महिलाहरूको सम्पत्तिमा अधिकार रहेको देखाएको छ । अहिले फेरि २६ दशमलव चार प्रतिशत भन्ने कुरा आएको छ ।’

सम्मेलनमा उनले महिलाको आर्थिक सशक्तीकरणका निम्ति सरकार र दातृ निकायबीच एक आपसमा समन्वय गरेर काम गर्नुपर्ने बताइन् । महिलाको क्षेत्रमा विभिन्न निकायले काम गर्दै आए पनि अझै लैंगिकमैत्री बजेट बन्न नसकेको उनको भनाइ थियो । ‘विभिन्न डोनर एजेन्सी र सरकारले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छौँ । तर अझै पनि लैंगिकमैत्री बजेट बन्न सकेको छैन’, उनले भनिन्, ‘यो क्षेत्रमा धेरै न्यून बजेट छ । महिला मन्त्रालय भएको हुनाले ४० प्रतिशतभन्दा केही बढी बजेट हाम्रो मन्त्रालयको छ । तर अन्य मन्त्रालयमा भने निकै न्यून बजेट छ ।’

अबका कार्यक्रमले गरिबीको रेखामुनि रहेका लक्षित वर्गलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रा नीति, योजना कार्यक्रम गरिबीको रेखामुनि रहेका व्यक्ति केन्द्रित हुनुपर्छ’, उनले भनिन्, ‘त्यो वर्गको अवस्थामाथि उठ्न नसकेमा समग्र महिलाको आर्थिक अवस्थामाथि उठ्न सक्दैन ।’ विगत केही वर्षमा गरिबीको रेखामुनि रहेका व्यक्तिहरूको अवस्थामा सुधार भए पनि पछिल्ला वर्ष कोभिड–१९ महामारी, भूकम्पलगायतको कारणले पुनः गरिबीको अवस्था वृद्धि भएको उनले बताइन् ।

‘ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरणलाई मुख्य विषय बनाएर आयोजना गरिएको सो सम्मेलन मंगलबारसम्म होटल हिमालय, कुपण्डोल ललितपुरमा चल्नेछ । अन्तर्राष्ट्रिय विकास संस्था, ललितपुर, दक्षिण एसियाली महिलाहरूको सञ्जाल, नयाँ दिल्ली, भारत र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले संयुक्तरूपमा सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा दक्षिण एसियाली महिलाहरूले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठ्यारोका बारेमा छलफल हुनेछ । सम्मेलनमा दक्षिण एसियाका लघु, साना र मध्यमस्तरका महिला उद्यमी व्यवसायीहरू, सम्बन्धित देशका सरकारी प्रतिनिधिलगायतको सहभागिता छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया