Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनवलपरासी कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

नवलपरासी कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी


बुटवल । कारागार कार्यालय, नवलपरासीमा क्षमताभन्दा चार गुणा कैदीबन्दी रहेका छन् । यहाँको कारागारको क्षमता पुरुषतर्फ एक सय ५० रहेको छ भने महिलातर्फ २५ रहेको छ । तर हाल उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीहरू रहेका छन् ।

कार्यालयका सूचना अधिकारी जितेन्द्रप्रसाद चौधरीका अनुसार हाल कारागारमा पुरुषतर्फ चार सय ५८ जना र महिलातर्फ एक सय ८६ जना रहेका छन् । जसमध्ये पुरुषतर्फ तीन सय २४ जना कैदी र एक सय ३४ जना थुनुवा रहेका छन् भने महिलातर्फ ५१ जना कैदी र ३५ जना थुनुवा रहनुका साथै तीन जना आश्रित बालबालिका रहेका छन् । कारागारमा पुरुषतर्फ नवलपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई जिल्लाका कैदी बन्दीहरू राख्नुपर्छ भने महिलातर्फ चार जिल्ला नवलपुर, नवालपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही र कपिलवस्तुका कैदी बन्दीहरू राख्नुपर्छ । त्यसका लागि दुई वटा ब्लक रहेका छन् ।

कार्यालयका सूचना अधिकारी चौधरीले पूर्वाधारको समस्यासँगै कार्यलयमा अन्य समस्याहरू पनि रहेको बताए । उनका अनुसार यहाँको मुख्य समस्या भनेको खानेपानीको हो । कैदीबन्दीलाई जारको पानी किनेर खुवाउनुपर्ने बाध्यतात्मक अवस्था रहेको उनले बताए । यसले गर्दा कारागारको खर्च पनि बढाइरहेको उनको भनाइ छ । सवारीसाधनको पनि समस्या रहेको उनले बताए । गृह मन्त्रालयका मन्त्री चढेर हिँड्ने पुरानो मुस्ताङ म्याक्स नामक सवारीसाधनमा कैदीबन्दी ओसारपसार गर्दै आएको उनले बताए । यस्तै, एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि तीन वर्षदेखि पूर्ति नहुँदा चेकजाँचमा समस्या हुने गरेको छ । उक्त दरबन्दीका लागि लोकसेवा आयोगले प्रक्रिया अगाडि बढाएको भन्ने सुनिएको बताए ।

कारागार ऐन, २०७९ का अनुसार कारगारले उपलब्ध साधन र स्रोतको परिधिभित्र रही कारागारभित्र बन्दीका लागि आवश्यक पर्ने खानेपानी तथा शौचालय, व्यायाम, स्थल, पुस्तकालय, पूर्वाधारको व्यवस्था गर्नुका साथै बन्दीलाई मनोरञ्जनका लागि खेलकुद सामग्री, रेडियो तथा टेलिभिजनलगायत अन्य सुविधाको व्यवस्था गर्नुपर्नेछ । कारागारभित्र संरचना वा सेवाको व्यवस्था गर्दा सरसफाइ, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत मानव अधिकारको प्रत्याभूत हुने गरी गर्नुपर्छ । महिला बन्दीलाई आवश्यक पर्ने सेनेटरी प्याडलगायत प्रजनन् स्वास्थ्यसम्बन्धी सामग्री निःशुल्क उपलब्ध गराउनुपर्छ । बन्दीको लागि दैनिक खानपानको व्यवस्था मिलाउनुका साथै दीर्घ रोगी, मानसिक रोगी वा कडा रोग लागेका गर्भवती वा सुत्केरी बन्दीका लागि खानाका अतिरिक्त पौस्टिक आहारको व्यवस्था गर्नुपर्छ भने बन्दीहरूलाई मौसमअनुसारका लत्ताकपडा पनि व्यवस्था गर्नु पर्दछ ।

कानुनी व्याख्या एकातिर भए पनि नेपालका अधिकांश क्षेत्रहरूमा कानुनको अक्षरांश पालना भएको पाइँदैन । नेपालमा पनि हरेक कारागारमा सबैका आ–आफ्नै समस्या छन् । ती समस्याहरूमा सबैभन्दा ठूलो समस्या त पूर्वाधारको रहेको छ । पूर्वाधार क्षमता कम हुनु कैदीबन्दी धेरै हुनु राष्ट्रिय रोग नै भएको अन्य जिल्लाका कारागार प्रशासकहरू पनि स्वीकार गर्दछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x