Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै

अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै


काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६ दशमलव चार प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम चार दशमलव तीन प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ ।

बागमतीपछि कोशी प्रदेशको योगदान धेरै रहेको छ । मुलुकको अर्थतन्त्रमा कोशीको १५ दशमलव आठ प्रतिशत, लुम्बिनीको १४ दशमलव तीन, मधेसको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान तथ्यांक कार्यालयले गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्तरूपमा परिवर्तन भएको छ । गतवर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्तरूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्तरूपमा बढेको छ ।

प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ प्रतिशत र लुम्बिनीमा चार दशमलव शून्य पाँच प्रतिशतबराबर रहने अनुमान गरिएको छ । त्यस्तै कोशीको आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत, मधेसको तीन दशमलव ७८, बागमतीको तीन दशमलव शून्य छ र सुदूरपश्चिमको चार दशमलव ४१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा तीन दशमलव ३९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने अनुमान गरेको छ ।

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलाप गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी देखिएको छ । व्यापार क्षेत्रले राष्ट्रियस्तरमा दोस्रो हिस्सा ओगटेको छ । मधेस प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको तथ्यांक कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा हुने देखिन्छ । बागमती र मधेश प्रदेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिएको छ भने बागमतीमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनसम्बन्धी क्रियाकलाप र मधेशमा खनिज तथा उत्खनन क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिएको छ ।

औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै २१ दशमलव ८४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । तर, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् क्षेत्रको रहने देखिएकोे छ । सुदूरपश्चिम र कोशी प्रदेशमा उद्योग क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहने देखिएको छ भने अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर न्यून देखिन्छ । निर्माण क्षेत्रको वृद्धिदर सबै प्रदेशमा ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेशबाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ । राष्ट्रिय तहमा पनि यी दुई क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयले गरेको छ ।

कोशी प्रदेश कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आर्थिक वर्षका लागि करिब नौ खर्ब तीन अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्षमा करिब आठ खर्ब ४० अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।

मधेस प्रदेशको चालू आर्थिक वर्षका लागि करिब सात खर्ब ४८ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्षमा करिब सात खर्ब तीन अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।

तथ्यांक कार्यालयका अनुसार बागमती प्रदेशको जीडीपी चालू आर्थिक वर्षमा करिब २० खर्ब ७५ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्षमा करिब १० खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्षमा पाँच खर्ब १७ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्षमा करिब चार खर्ब ८४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आर्थिक वर्षका लागि करिब आठ खर्ब १४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्षमा करिब सात खर्ब ६४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।

त्यस्तै कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्षमा करिब दुई खर्ब ४४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्षमा करिब दुई खर्ब २० अर्ब रहने संशोधित अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालू आर्थिक वर्षका लागि करिब चार खर्ब चार अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्षमा करिब तीन खर्ब ८१ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब पाँच अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x