Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनागरिक लगानी कोषले पाएन निगमबाट ऋण फिर्ता

नागरिक लगानी कोषले पाएन निगमबाट ऋण फिर्ता

समस्याग्रस्त वित्त कम्पनीमा राखेको ६३ करोड निक्षेप पनि डुब्यो


काठमाडौं । नेपालमा निजामती कर्मचारी, शिक्षक, प्रहरी र अन्य संस्थाका कर्मचारीको लागि अवकाश कोष, उपदान कोष, कर्मचारी बचत वृद्धि कोष, लगानीकर्ता हिसाब योजनालगायतका कार्यक्रमहरू सञ्चालन गर्नको लागि ‘नागरिक लगानी कोष ऐन, २०४७’ अन्तर्गत नागरिक लगानी कोषको स्थापना भएको हो । कोषमा सरकारको १० प्रतिशत, नेपाल राष्ट्र बैंकको १३ दशमलव ३४ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५ प्रतिशत, विभिन्न बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ प्रतिशत तथा सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । यति धेरै व्यक्ति र संस्थाहरुको प्रमुख सेयर लगानी रहेको कोषले ऋण लगानी गरेको आधा दर्जन संस्थाहरुमा करोडौँ रुपैयाँ डुबेको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार कोषको रकम राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका पाँचवटा फाइनान्समा डुबेको हो । नारायणी डेभलपमेन्ट बैंक, क्यापिटल मर्चेन्ट फाइनान्स, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स र नेपाल सेयर मार्केट फाइनान्समा कोषले गरेको लगानी डुबेको हो । यी वित्तीय संस्थामा कोषले कुल ६२ करोड ५९ लाख ६२ हजार रुपैयाँ मुद्दती निक्षेप राखेको थियो । त्यसको ब्याजदर ४ प्रतिशत कायम गरिएको छ । जुन कोषअन्तर्गत योजनाको कोष लागत–बीमा कोषको हकमा छ दशमलव पाँच प्रतिशतभन्दा पनि घटी रहेको छ ।

समस्याग्रस्त घोषणा गरिए पनि कतिपय वित्तीय संस्था हाल अन्य बैंकहरुमा मर्ज भइसकेका छन् भने केही पुनः सञ्चालनमा आइसकेको अवस्था छ । तर पनि समस्याग्रस्त उल्लेख गरी न्यून ब्याजदरमा लगानी गरेकोले कोषअन्तर्गतका योजनाहरूको मौज्दात रकमबाट उचित प्रतिफल प्राप्त नभएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । समस्याग्रस्त मुद्दती निक्षेपअन्तर्गत देखाएको ६२ करोड ५९ लाख ६२ हजारको सम्बन्धित संस्थाबाट समर्थनपत्र समेत लिएको छैन, जसले गर्दा कोषको उक्त रकम डुब्ने अवस्थामा रहेको देखिएको छ ।

महालेखाका अनुसार नेपाल वायुसेवा निगमसँग २०७४ साल जेठ २९ गते भएको ऋण सम्झौताअनुसार वाइड बडी विमान खरिद गर्न सरकारको जमानीमा कोषले कर्मचारी बचत वृद्धि अवकाश योजनामार्फत १२ अर्ब रुपैयाँ दीर्घकालीन ऋण प्रवाह गरेको छ । निगमसँग २०७९ असार मसान्तसम्म पुँजीकृत गरिएको ब्याज समेत १६ अर्ब ५८ करोड १२ लाख ७१ हजार रुपैयाँ ऋण लगानी देखिएको छ । सम्झौतामा विमानको टिकट बिक्रीको ३० प्रतिशत रकम विशेष खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ तर त्योअनुसार रकम जम्मा नभएको साथै सम्झौताबमोजिम कोषले नेपाल वायुसेवा निगमबाट ऋण लगानीको प्रतिफल प्राप्त गरेको छैन । यसैगरी कोषले हिसाब मिलान कोषअन्तर्गतका योजनाहरूले राष्ट्रिय बीमा संस्थानमा सहभागी हुने योगदानकर्ताहरूको वार्षिक संकलन गरेको उमेरअनुसारको प्रिमियम रकम राष्ट्रिय बीमा संस्थानमा बुझाउनुपर्दछ । यसरी संकलन गरिएको रकम र कोषले संस्थानलाई बुझाएको रकमबीच २१ करोड ९८ लाख ५९ हजारको भिन्नता देखिएको छ ।

‘कोषले बीमा कोषमा संलग्न नहुनेहरूको हकमा कोषमै राखिएको रकमबीचको हिसाब मिलान गरेको छैन’, महालेखाले भनेको छ । राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमाबापत संकलन भएको तीन अर्ब ४४ करोड ७५ लाख १६ हजार रहेकोमा कोषले राष्ट्रिय बीमा संस्थानलाई तीन अर्ब छ करोड ८६ लाख ७३ हजार मात्र दायित्व देखाएकोले फरक देखिएको ३७ करोड ८८ लाख ४३ हजारको हिसाब मिलान नगरेको पनि महालेखाले जनाएको छ । कोषको लेखाप्रणालीअनुसार नेपाल राष्ट्र बैंकमा चार करोड ९० लाख ५७ हजार मौज्दात रहेकोमा राष्ट्र बैंकको समर्थन पत्रअनुसार ८१ करोड २२ लाख ९८ हजार रहेको उल्लेख छ । कोषले फरक ७६ करोड ३२ लाख ४१ हजारको समायोजन हिसाब तयार गरेको छैन । उक्त खाताहरू अद्यावधिक गरी यथार्थ हिसाब तयार गरिनुपर्ने महालेखाले उल्लेख गरेको छ । कोषको एक सहायक लिमिटेड कम्पनीमा दुई अर्ब ५५ करोड अर्थात् ५१ प्रतिशत लगानी गर्ने निर्णय गरेको छ । उक्त कम्पनीमा लगानी गर्नका लागि कर्मचारी बचत वृद्धि अवकाश कोष योजनाबाट अल्पकालीन समयको लागि दुई अर्ब दुई करोड रुपैयाँ सापटी लिएको छ ।

सापटी लिएको रकममध्ये एक अर्ब २२ करोड यो वर्षसम्म फिर्ता गरेको छैन । कोषको उक्त लगानी अल्पकालीन लगानी नभई दीर्घकालीन (सेयर) लगानी भएको र सोबापत २०७८/०७९ मा छ दशमलव ८५ प्रतिशत सेयर लाभांश प्राप्त भएकोले उक्त लगानी रकमलाई कोष योजनाबाट ऋण देखाउनु उपयुक्त नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x