Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिन रद्द भयो नयाँ पेट्रोल पम्प खोल्ने प्रक्रिया ?

किन रद्द भयो नयाँ पेट्रोल पम्प खोल्ने प्रक्रिया ?


काठमाडौं, साउन ११
नेपाल आयल निगमले नयाँ पम्पहरु राख्ने भन्दै एक वर्ष पहिला मागेका सम्पूर्ण आवेदनहरु रद्द गरेको छ । निगमले २०७६ वैशाख १७ र भदौ १० गते आवेदन मागेकामा एक हजार २५ वटा आवेदन परेको थियो । पम्पमा लगानी गर्ने भनेर एक वर्षदेखि कुरेर बसेका लगानीकर्ताहरुबीच एकाएक एक वर्षभन्दा पछि आएर आवेदन रद्द भएपछि अन्योल बढेको हो । निगमको गत असार १६ गते बसेको सञ्चालक समितिको निर्णयले गत वर्ष वैशाख र भदौमा मागिएका आवेदनहरु रद्द गर्ने निर्णय गरेको थियो ।

नयाँ बिक्रेताका लागि पर्न आएका निवेदनहरु जनसंख्या, भूगोल, सवारीसाधनको संख्या एवं सडक घनत्वका आधारमा नपरेको निगमको दाबी छ । त्यस्तै, निगमका अनुसार विद्यमान भण्डारणलगायतका भौतिक पूर्वाधार, प्रविधि तथा उपलब्ध जनशक्तिबाट नयाँ बिक्रेता नियुक्ति गर्दा भण्डारण क्षमता र जनशक्तिको अपुग समेत देखिएको छ ।

निगमका अनुसार पम्पको लागि पूर्वाधार क्षमताको विकास, प्रविधि एवं जनशक्तिको थप व्यवस्था गर्न समय लाग्ने र कर्मचारी नियुक्तिका लागि समेत आवश्यक प्रबन्ध गर्नुपर्ने तथा भौगोलिक एवं जनसंख्याको आधारमा पेट्रोल पम्प कम भएका वा स्थानीयस्तरमा आवश्यक भएका जिल्लाहरुको अवस्थाको अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा स्थानीय निकाय, प्रहरी तथा प्रशासन, स्थानीय उद्योग वाणिज्य संघ तथा प्रदेश सरकार एवं निगमको सम्बन्धित प्रादेशिक÷डिपो कार्यालयको सिफारिसबमोजिम नयाँ पेट्रोल पम्पको अनुमति निगमको केन्द्रीय कार्यालयले दिनसक्ने व्यवस्था विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ मा थप गर्ने गृहकार्य गरिएकाले पुराना आवेदनहरु रद्द गर्नुपरेको हो ।
नयाँ बिक्रेता नियुक्ति गर्नुपूर्व हाल भइरहेका बिक्रेताहरुको डिजिटल म्यापिङ गरी एक बिक्रेतादेखि अर्को बिक्रेतासम्मको दूरी तथा जिल्लागत रुपमा रहेका पम्पहरुको संख्या एकीन गर्ने र भौगोलिक एवं जनसंख्याको आधारमा माग र बिक्रीवितरणको सम्भावित अवस्थाको आँकलनसहित विनियमावलीमा थप व्यवस्था गर्ने तयारी निगमको छ ।

निगमका अनुसार हाल प्राप्त अधिकांश आवेदनहरु भौगोलिक एवं जनसंख्याको माग र बिक्रीवितरणको आवश्यकताअनुसार नआएको कारण पनि रद्द गर्नुपरेको हो । विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र संक्रमणको विस्तारका कारण नयाँ बिक्रेता नियुक्ति गर्दा आवश्यक गर्ने भौतिक पूर्वाधार, प्रविधिको व्यवस्थापन र जनशक्ति आपूर्तिको काम तत्काल व्यवस्था गर्न चुनौती रहेकाले पनि निवेदनहरु रद्द गर्न बाध्यता सिर्जना गरेको हो । विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ मा भएको प्रावधानबमोजिम नमूना पम्प बिक्रेता नियुक्तिका लागि जुनसुकै बखत स्वीकृति प्राप्त गर्नसक्ने तथा भूगोल र जनसंख्याका आधारमा आवश्यक रहेको ठाउँमा निगमले जुनसुकै समयमा जुनसुकै व्यक्तिलाई नमूना पम्प निर्माणको अनुमति दिनसक्ने व्यवस्था छ ।

सडक सञ्जाल विस्तार भएका नयाँ ठाउँमा बिक्रेता नियुक्ति गर्न कानुनी समस्या नहुनुको साथै लागत लाभ, विद्यमान निगमको भौतिक पूर्वाधार तथा जनशक्ति तथा निगममा प्रविधिको प्रयोग न्यून रहेको वर्तमान अवस्था र नयाँ बिक्रेताका लागि प्राप्त धेरैजसो निवेदनहरु हाल पेट्रोल पम्प भइरहेको ठाउँहरुमा परेकोले यथास्थितिमा नयाँ बिक्रेताहरु नियुक्त गर्दा उपयुक्त नहुने परिस्थिति देखिएकोले सम्पूर्ण आवेदनहरु रद्द गरेको पनि निगमले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x