Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभेरीमा भेन्टिलेटर बनाउन भनिएको डेढ करोड फ्रिज

भेरीमा भेन्टिलेटर बनाउन भनिएको डेढ करोड फ्रिज


जिएम यादव
बाँके, भदौ १०
बाँकेमा रहेको भेरी प्रादेशिक अस्पतालमा भेन्टिलेटर खरिदका लागि सांसद विकास कोषबाट उपलब्ध गराइएको डेढ करोड रुपैयाँ फ्रिज भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामार्फत भेरी अस्पताललाई दिइएको डेढ करोड रूपैयाँ उपमहानगरको बेवास्ताले गर्दा फ्रिज भएको प्रतिनिधिसभा सदस्य मो. इश्तियाक राईले जानकारी दिए ।

कोभिड १९ जस्तो भयावह महामारीको समयमा अति आवश्यक मानिने भेन्टिलेटर खरिदका लागि दिइएको रकम उपयोग नगरिएको भन्दै सांसद राईले सो रकमबाट भेन्टिलेटर खरिद गरिएमा त्यसको राजनीतिक लाभ अरुले पाउने ठानेर नेपालगञ्ज उपमहानगरपालिकाले जानीजानी बेवास्ता गरेको आरोप लगाए ।

भेन्टिलेटरको अभावमा कुनै पनि जिल्लावासीको ज्यान गएमा त्यसको जिम्मेवारी उपमहानगरले लिनुपर्ने दाबी सांसद राईको छ । स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीनवटा योजनाको ठेक्का हुन नसकेकोले फ्रिज हुनलागेको सो रकमलाई समय रहँदै महामारीको बेला सर्वसाधारणको उपचारका लागि खर्च गर्ने उद्देश्यले उपमहानगरमार्फत भेरी अस्पताललाई दिने निर्णय गरिएकोमा उपमहानगरले जानीजानी सो रकमको अख्तियारी नलिएको पूर्वमन्त्री राईले दाबी गरेका छन् ।

यसैबीच बाँकेमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर नेपालगञ्जको भेरी अस्पताललाई सुविधासम्पन्न कोरोना अस्पताल बनाउने अभियानमा लागि परेको छ । बाँकेमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समेत यो कामलाई तीव्रता दिन चासो देखाएका छन् ।

कोभिड अस्पताल स्थापनाको लागि भेरी अस्पताल विकास समितिको रा.वा. बैंकको खाता नं. ४१३०२०७०००७०१ मा रकम जम्मा गर्न सेन्टरले अनुरोध समेत गरेको छ । लक्षणसहितका बिरामी संख्या देखिन थालेपछि नेपालगञ्जमा तत्काल सुविधासम्पन्न कोरोना अस्पतालको आवश्यकता महसुस गर्दै सामुदायिक सहयोग जुटाउन थालिएको छ । भेरी अस्पतालमै कोरोना उपचारका व्यवस्थामा लागेको बेला आवश्यक पूर्वाधारका लागि तत्काल रकम अभाव भएपछि समुदायस्तरमा सहयोग जुटाउन थालिएको हो ।

‘भेरी अस्पतालमा १०० शय्याको कोभिड वार्डका लागि तत्काल अस्पताल विकास समितिको खातामार्फत आवश्यक व्यवस्थापनमा लागिएको हो । हामीलाई पैसा होइन, सामानको सहयोग भए पुग्छ’, अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने । उनकाका अनुसार कोरोना अस्पतालको व्यवस्थापनका लागि वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर यादवको नेतृत्वमा चिकित्सकहरूको टिम सक्रिय भएको छ ।

‘कम्तीमा ३० बेडको आईसीयू, भेन्टिलेटरसहितको सय बेड तयार गर्ने लक्ष्य हो’, कोरोना अस्पतालका लागि सहयोग जुटाइरहेका व्यवस्थापन समितिका संयोजक डा. यादवले भने, ‘भेरीका डाक्टर कर्मचारी मात्रै होइन सीडीयो साबले निकै सहयोगका साथ लागिरहनुभएको छ ।’ प्रजिअ कुरुम्वाङले यसैसाता कम्तीमा २५ लाखसम्म जुटाउने योजना अघि सार्दै जिल्लावासी सबैले सहयोग गर्नुपर्ने बताए ।

भेरी अस्पतालका पूर्वप्रमुख समेत रहेका डा. यादवले सरकारको पैसा खर्च गर्न झन्झट र प्रक्रियागत समय पनि लाग्ने भएकाले यस्तो बेला समुदायबाट सहयोग जुटाउन खोजिएको बताए । अस्पतालका लागि स्थानीय तहबाट उपलब्ध १० लाखले अक्सिजन पाइपलाइन बिछ्याउन लागिएको छ । डा. यादवका अनुसार प्रत्येक बेडमा अक्सिजन पाइप रहनेछ । वातानूकुलित हुने अस्पतालका लागि एसी निजी क्षेत्रका स्वास्थ संस्थाबाट सहयोग जुट्दै छ । कम्तीमा ५० बेड तयार गरिसकेर अपरेसनमा ल्याउने योजना रहेको डा. यादवको भनाइ छ ।

‘कम्तीमा ८ वटा भेन्टिलेटर, आईसीयू तयार गरेर मात्र सन्तोष गर्न सकिन्छ’, डा. यादवले भने । अस्पताल प्रमुख डा. थापाले सय बेड तयार गर्न सकिए सरकारबाट थप जनशक्ति मागेर सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न सकिने बताए । ‘भेन्टिलेटरका लागि सरकारसँग पनि माग गरिएको छ । तर, सरकारको आश गर्दा समय लाग्छ’, डा. थापाले भने, ‘त्यसैले स्थानीय सहयोग आवश्यक देखिएको हो ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x