Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानी बोर्डद्वारा ऊर्जामा ८५ अर्ब २८ लाखको लगानी स्वीकृत

लगानी बोर्डद्वारा ऊर्जामा ८५ अर्ब २८ लाखको लगानी स्वीकृत


काठमाडौं, पुस १४
लगानी बोर्डले एकैपटक अर्बौँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष के.पी. शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्डको ४२औं बैठकले एकैपटक ८५ अर्ब २८ लाखको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । उक्त बैठकले माथिल्लो त्रिशूली १, मस्र्याङ्दी बेसी जलविद्युत् परियोजना र माथिल्लो त्रिशूली ३ बी जलविद्युत् परियोजनाको लागि उक्त लगानी स्वीकृत गरेको सहसचिव तथा बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालका अनुसार माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाका लागि करिब ६५ अर्बबराबरको लगानी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी मर्स्याङ्दी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली–३ बी जलविद्युत् परियोजनाका लागि कमशः ११ अर्ब ७७ करोड ५४ लाख र ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत भएको छ । बैठकले अरुण ३ जलविद्युत परियोजनाको छ्याङकुटी–दिदिड प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिलाई प्राविधिकहरुसहितको थप जनशक्ति उपलब्ध गराई दुई महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुनर्गठन गरेको छ ।

बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश नं. ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरीया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश नं. १ को उर्लाबारी तथा प्रदेश नं. २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । साथै, परियोजना कार्यान्वयन प्रक्रियालाई अघि बढाउन विकासकर्ताको छनोट गर्ने लगायतका कार्यमा आवश्यक प्राविधिक सहयोग, समन्वय तथा सहजीकरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको रिजालले जानकारी दिए ।

बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले लगानी बोर्डको कामको परिणाम तत्काल नदेखिने प्रकृतिको भए पनि यसको काम दीर्घकालसम्म प्रभाव पार्ने गरी संकेत दिने खालको हुनुपर्नेमा जोड दिएका थिए । ठूला परियोजनाहरुलाई विना अवरोध कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि सम्बन्धित निकायहरुबीच प्रभावकारी समन्वयको आवश्यकतामा जोड दिएको बोर्डले जनाएको छ । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डको कार्यालयले विभिन्न परियोजनाहरुका लागि गरिरहेको सहजीकरण र तिनीहरुको कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए ।

उक्त बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरु उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बालकृष्ण शिवाकोटीको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया