Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी प्राविधिकको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

विदेशी प्राविधिकको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौं ।
भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विशेषज्ञ तथा प्राविधिक नआउँदा प्राविधिक काम अघि बढ्नसकेको छैन । विमानस्थलमा सञ्चार, विमान उडान/अवतरण, मौसम आदिको जानकारी दिनको लागि आवश्यक उपकरण जडानको लागि विशेषज्ञ तथा प्राविधिकहरु आवश्यक पर्ने हुँदा उनीहरुको अभाव भएसँगै विमानस्थलको प्राविधिक काम अघि बढ्न नसकेको हो ।

आयोजना प्रमुख प्रवेश अधिकारीले प्राविधिक कामको लागि अमेरिका, अष्ट्रेलिया, बेलायत र चीनबाट विशेषज्ञ ल्याउन पहल गरे पनि सम्भव नभएको बताए । ‘आईसीपी १ मा सञ्चार, मौसम र विमानको दिशा पत्ता लगाउन तथा आईसीपी २ मा विमान उडान तथा अवतरण गराउनको लागि आवश्यक उपकरण जडानको लागि विशेषज्ञको आवश्यक पर्छ’, उनले भने, ‘युरोप र चीनबाट ती विशेषज्ञ ल्याउन पहल भए पनि तत्काल सम्भव नहुँदा हामीले वैकल्पिक व्यवस्था गरेका छौँ ।’

उनले अघि भने, ‘आयोजना अघि बढाउनको लागि अब वैकल्पिकको रुपमा भारतीय प्राविधिक ल्याउने तयारी गरेका छौँ । आयोजना अघि बढाउनुपर्ने दबाब छ । त्यसैले काम अघि बढोस् भन्ने उद्देश्यका लागि भारतीय प्राविधिक ल्याउन लागिएको हो ।’
कोरोना महामारीको कारण विदेशी प्राविधिक नआउँदा आयोजना प्रभावित बनेको हो ।

कोरोनाविरुद्धको भ्याक्सिन निर्माण भएसँगै विश्वभरका मानिस सो भ्याक्सिनको पर्खाइमा छन् भने नेपाल आउन लागेका प्राविधिकहरु पनि भ्याक्सिन लगाएर मात्र प्रवेश गर्ने बताउँदा केही समय लागेको आयोजना प्रमुख अधिकारीको भनाइ छ । यसैबीच नेपाल आउने तयारीमा रहेको चिनियाँ प्राविधिक भने उताको विमानस्थलमा रहेको तथा उनीहरु फागुनसम्ममा नेपाल आउने बताइएको छ । ‘फागुनसम्ममा भने नौ जना प्राविधिक आयोजना स्थलमा आइपुग्नेछन्’, आयोजना प्रमुख अधिकारीले भने, ‘चिनियाँ प्राविधिकको भिसाको लागि अध्यागमनलाई जानकारी गराएका छौँ भने सो विषयमा अध्यागमन सकारात्मक रहेको छ ।’

चिनियाँ मात्र नभई फेब्रुअरी अन्तिमसम्ममा भने सबै प्राविधिकहरु आइसक्ने आयोजनाले जनाएको छ । यसैबीच आयोजनाको भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको छ । चिनियाँ नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक निर्माणतर्फको ठेक्का (आईसीपी वान) को जिम्मा लिएको हो भने आयोजनाका एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनको उपकरणसम्बन्धी ठेक्का (आईसीपी टू) थाइल्याण्डको एरो थाई कम्पनीले लिएको हो ।

हाल प्राविधिकको समस्या झेलेको विमानस्थलले यसअघि भने विमानस्थललाई आवश्यक उपकरण नआउँदा समस्यामा परेको थियो । नेपाल–चीनतर्फको रसुवा र तातोपानी नाकाबन्द हुँदा धावनमार्गको लागि आवश्यक बत्ती, एयर ट्राफिक, ह्यान्डलिङ सिस्टम (कन्भियर भल्ट) आवश्यक सामग्री तथा इलोक्ट्रोनिक सामग्री र उपकरण जडानलगायतका उपकरणहरु ल्याउन समस्या हुँदा आयोजना अघि बढ्नसकेको थिएन ।

विभिन्न अवरोधको कारण आयोजना प्रभावित बन्दा पटक–पटक म्याद थप गर्नुपरेको छ । पछिल्लो समय पाँचौँपटक डिसेम्बरसम्म आयोजना निर्माणसम्पन्न गर्ने म्याद थप गरिएको थियो भने अहिले आएर पनि म्याद थप गर्न लागिएको छ । आयोजना प्रमुख अधिकारीले म्याद थपका लागि आवश्यक परामर्श भइरहेको बताए ।

यता पोखरा विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको बताएको छ । पछिल्लो समय विमानस्थललाई आवश्यक सामग्री तथा उपकरण विदेशबाट ल्याउन नसक्दा आयोजना अघि बढ्न सकेको थिएन ।गौतमबुद्ध विमानस्थलजस्तै पोखरा विमानस्थलमा पनि विदेशी प्राविधिक अभाव हुँदा आयोजना अघि बढ्नसकेको थिएन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया