Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै क्षेत्र स्तब्ध

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै क्षेत्र स्तब्ध

डिजेल एकै पटक प्रतिलिटर २७ र पेट्रोल २१ रुपैयाँले वृद्धि


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सर्वसाधारणले थेग्नै नसक्ने गरी वृद्धि गरेको छ । आयल निगमलाई चरम आर्थिक संकटबाट जोगाउन भन्दै निगमले सर्वसाधारणले थेग्नै नसक्ने गरी मूल्यवृद्धि गरेको हो ।

आयल निगम सञ्चालक समितिले वृद्धि गरेको मूल्य आइतबार राति १२ बजेपछि लागू भएको छ । निगमले अहिलेसम्मकै सबैभन्दा धेरै मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा निगमले रसिया–युक्रेन युद्धलाई कारक देखाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य उडानतर्फ हवाइ इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलरले वृद्धि गरेको छ ।

निगमले वृद्धि गरेर नयाँ निर्धारण गरेको मूल्यअनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य एक सय ९९ रुपैयाँ, डिजेल र मट्टितेल एक सय ९२ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फको उडानको लागि प्रतिलिटर एक सय ८५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर १६ सय ४५ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा निगमले प्रतिलिटर एक डलर छ सय ४५ सेन्टले वृद्धि गरेको हो ।

मूल्यवृद्धि भए पनि अझै निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा छ । निगमले खाना पकाउने ग्यासको भने मूल्यवृद्धि गरेको छैन ।

डिजेल, पेट्रोल र खाना पकाउने ग्यास बिक्रीबाट निगमलाई घाटा भए पनि मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ छ पैसा, आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर १३ रुपैयाँ ६१ पैसा र अन्तर्राष्ट्रिय उडानतर्फका हवाइ इन्धनमा प्रतिलिटर ५६ रुपैयाँ ६७ पैसा नाफा छ । तर, धेरै खपत हुने र प्रत्यक्ष ढुवानीमा प्रयोग हुने डिजेलको मूल्यवृद्धिले आमसर्वसाधारण प्रत्यक्ष मर्कामा पर्नेछन् । डिजेलमा गरिएको मूल्यवृद्धिको कारण सार्वजनिक बस तथा ढुवानीका सबै साधनको भाडा वृद्धि हुनेछ ।

भाडा वृद्धि भएपछि सबै वस्तुको मूल्यवृद्धि हुनेछ । अन्य वस्तुको मूल्यवृद्धि हुन नदिनको लागि पनि सरकारले डिजेलको मूल्यमा निगमलाई अनुदान दिएर सस्तो बनाउनुपर्ने आवाज सर्वसाधारणले उठाउँदै आएका छन् । तर, सरकारले सर्वसाधारणको आवाजलाई बेवास्ता गर्दै डिजेलमा सबैभन्दा बढी मूल्यवृद्धि गरेको छ । यसले प्रत्यक्ष रुपमा बजार प्रभावित हुनेछ ।

मूल्यवृद्धि गरिए पनि निगमलाई मासिक रुपमा अझै चार अर्ब ७० करोड रुपैयाँ घाटा हुने आइतबार राति जारी विज्ञप्तिमा जनाइएको छ । निगमलाई खाना पकाउने ग्यासमा मात्रै प्रतिमहिना करिब दुई अर्ब २८ करोड रुपैयाँ घाटा रहेको जनाइएको छ । समग्र घाटा जोड्दा असार मसान्तसम्म निगमलाई करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने बताइएको छ ।

मूल्यवृद्धि नगरी बस्दा इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम धेरै हुँदा आपूर्ति व्यवस्थामै समस्या आउने भएकाले मूल्यवृद्धि गरिएको निगमले दाबी गरेको छ । निगमले मूल्य बढाउनुपर्ने जति तर्क र तथ्य पेश गरे पनि सरकार आम नागरिकको दैनिकीसँग सम्वेदनशील नभएको आइतबारको मूल्यवृद्धिले देखाएको छ । डिजेलमा गरिएको मूल्यवृद्धिले सबैलाई स्तब्ध पारिदिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x