Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन’

‘विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन’


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन भएको बताएका छन् । विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

विश्व पर्यटन दिवसको अवसरमा परिसंघको पर्यटन परिषद्ले नेपालको कला संस्कृतिलगायत नयाँ पर्यटकीय सम्भावनाहरु उजागर गर्ने विषयसँग सम्बन्धित रहेर आयोजना गरेको कार्यक्रममा अध्यक्ष अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष समेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट बिस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु-याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए । नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उनको भनाइ थियो ।

यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशासम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरेका थिए । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइने बताइएको छ । कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्था, नेपालस्थित राजदूत एवं विकास साझेदार प्रतिनिधिहरु, उद्योगी व्यवसायीका प्रतिनिधिमूलक संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा सुरु हुँदै गरेका चाडपर्वको शुभकामना आदानप्रदान पनि गरिएको थियो । समृद्ध मुलुक निर्माणका लागि पर्यटन पनि महत्वपूर्ण एवं भरपर्दो आधार भएकाले यसको विकास एवं विस्तारमा नेपालको निजी क्षेत्रले थप योगदान गर्ने परिसंघको विश्वास रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया