Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरूको लागि होम लोन नै सुरक्षित

बैंकहरूको लागि होम लोन नै सुरक्षित

व्यक्तिगत आवास निर्माणमा दिए तीन खर्ब ४५ अर्ब कर्जा


काठमाडौं । विश्व बैंकिङ बजारमा नै होमलोन अर्थात् व्यक्तिगत आवास निर्माणसम्बन्धी कर्जालाई सबैभन्दा सुरक्षित र भरपर्दो कर्जाकोरुपमा लिइने गरिएको छ । ग्राहकहरुले घरबास बनाउन कर्जा लिने र तोकिएको समयमा उक्त कर्जा तिर्न नसके बैंकहरुले आफ्नो कर्जा असुलीको लागि नियमसंगतरुपमा उक्त ग्राहकको घरबास नै उठाउने गर्छन् । केही अपवादबाहेक कुनै पनि ग्राहक आफ्नो घरबास बैंकलाई सुम्पिन तयार हुँदैन ।

यसो भन्नुको अर्थ होमलोन लिने ग्राहक बैंकप्रति अन्य ग्राहकको तुलनामा अलि बढी इमानदार हुन्छन् अर्थात् तोकिएकै समयमा बैंकको सावाँ ब्याज चुक्ता गर्छन् । यसो त बैंकले पनि ग्राहकको नियमित आम्दानीको स्रोत, धितोमा रहने निर्माणाधीन घर आदि सबै हेरेर नै उक्त ग्राहकलाई होम लोन दिने गरेको हुन्छ ।

होम लोनको विश्वव्यापी सिद्धान्त मान्यता पनि यही नै हो । यही सिद्धान्तमा अडिएर नेपाली बैंंकहरुले पनि अन्य क्षेत्रको तुलनामा होम लोनलाई अलि बढी सुरक्षित मान्ने गरेको बैंक तथा फाइनान्स कम्पनीहरुले व्यक्तिगत आवास क्षेत्रमा प्रवाह गरेको कर्जासम्बन्धी पछिल्लो तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले होम लोन शीर्षकमा मात्र चालू आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा तीन खर्ब ४५ अर्ब ७८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ६० वटा संस्थाहरुले उक्त परिमाणमा होम लोन शीर्षकमा कर्जा प्रवाह गरेका हुन् ।

घरजग्गा अर्थात् रियलस्टेट क्षेत्रमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले छुट्टै थप दुई खर्ब २१ अर्ब ९४ करोड १० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले मात्र भने चालू आवको पछिल्लो चार महिनाको अवधिमा होम लोन शीर्षकमा दुई खर्ब ८२ अर्ब ६५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । रियलस्टेट क्षेत्रमा भने बैंंकहरुले प्रवाह गरेको कुल कर्जा रकम एक खर्ब ९१ अर्ब ६५ करोड २० लाख रुपैयाँ छ ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले पनि आफ्नो कुल कर्जा रकममध्येको ५२ अर्ब २३ करोड ५० लाख रुपैयाँ होम लोन शीर्षकमा प्रवाह गरेका छन् । यसबाहेक रियलस्टेट क्षेत्रमा विकास बैंकहरुले छुट्टै २० अर्ब २३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरुले भने होम लोन शीर्षकमा १० अर्ब ९० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

रियलस्टेट क्षेत्रमा भने फाइनान्स कम्पनीहरुले १० अर्ब पाँच करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले सातवटा प्रदेशका ७७ वटै जिल्लामा रहेका आफ्ना छ हजार चार सय ८८ वटा शाखाहरुमार्फत होम लोन र रियलस्टेट क्षेत्रमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । यसको लागि वाणिज्य बैंकहरुले पाँच हजार ९०, विकास बैंकहरुले एक हजार एक सय २३ र फाइनान्स कम्पनीहरुले दुई सय ७५ वटा शाखाहरु प्रयोग गरेका छन् ।

बैंक तथा फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या भने चालू आवको पछिल्लो चार महिनाको अवधिमा चार हजार छ सय ९५ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार तीन सय २७, विकास बैंकहरुको तीन सय २५ र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x