सन् २०२४ को सुरुमा पाइपलाइनबाट पेट्रोल आउने
काठमाडौं,सन् २०२४ को सुरुमा भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याइने भएको छ । दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइनबाट यसअघि डिजेल मात्र आयात गर्दै आएकोमा दोस्रो चरणअन्तर्गत सन् २०२४ को सुरुदेखि भने पेट्रोल ल्याइने भएको हो । यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाइएको बताइएको छ ।
हाल पाइपलाइनबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाइ इन्धन आयात गर्न सकिनेछ । तर भौतिक पूर्वाधारको अभावका कारण डिजेलबाहेक अन्य इन्धन ल्याउन नेपाल आयल निगम लिमिटेडले सकेको छैन । पाइपलाइनबाट पेट्रोल, मट्टितेल, हवाइ इन्धन आयातको सम्भावना भए पनि भौतिक पूर्वाधारको अभावका कारण आयात गर्न नसकिएको निगमका प्रवक्ता इन्जिनियर विनितमणि उपाध्यायले आर्थिक दैनिकलाई बताए ।
‘दोस्रो चरणअन्तर्गत पेट्रोल आयात गर्न लागिएको हो’, प्रवक्ता उपाध्यायले आर्थिक दैनिकसँग भने, ‘पेट्रोल आयातका लागि भौतिक संरचनाअन्तर्गत भण्डारण क्षमता अभाव रहेको थियो, यसको परिपूर्ति छिटै हुने हुँदा पेट्रोल आयात गर्न लागिएको हो ।’अमलेखगञ्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजेल मात्र आयात गरिएको हो । जसले गर्दा अमलेखगञ्जमा भण्डारण गृहको क्षमता बढाउन र नयाँ ठाउँमा पनि काम गर्ने गरी निगम अघि बढेको थियो ।
यसले निगमलाई करोडौँ रुपैयाँ बचतमा सहयोग पु¥याउने बताइएको छ । जसरी डिजेल आयात गर्दा मासिक करिब दुई अर्ब बचत हुने गरेको थियो त्यसरी नै रकम बचत हुने अपेक्षा निगमले लिएको छ ।यसअघि नै दोस्रो चरणमा भण्डारण केन्द्र निर्माणको लागि नेपाल र भारतले लगानी गर्ने सम्झौता भएको थियो । पाइपलाइन निर्माण सम्झौताको समयमा नै दोस्रो चरणमा पेट्रोल भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता आयल निगम र भारतीय आयल कर्पोरेसन लिमिटेडबीच सहमति भएको थियो ।
दोस्रो चरणको भण्डारण केन्द्र निर्माणको लागि कुल एक अर्ब २८ करोड भारतीय रुपैयाँ खर्च गर्ने दुईपक्षीय सम्झौता भएको निगमले जनाएको छ । सोहीअनुरुप आयोजना अघि बढेको उनले बताए । ‘त्यसैले गर्दा तोकिएको समयमा नै काम सम्पन्न भएमा हामीले सन् २०२४ को सुरु वा नयाँ वर्षको पहिलो महिनाबाट पाइपलाइनबाट पेट्रोल आयात गर्नेछौँ’, उनले भने । डिजेल र पेट्रोल एउटै पाइपबाट ल्याउँदा मिसावट हुनेछ तर त्यसको लागि पनि निगमले छुट्टै ट्यांकीको व्यवस्था गर्नेछ । ‘भण्डारण केन्द्र निर्माणपछि हाल डिजेल आयात गरिरहेको पाइपलाइनबाट पेट्रोल ल्याउनेछौँ’, उनले भने, ‘एउटै पाइपलाइनबाट डिजेल र पेट्रोल आयात गर्दा केही मात्रामा इन्धनमा मिसावट हुन्छ, त्यसरी मिसावाट भएको इन्धन राख्न भने छुट्टै टयांकी निर्माण गर्नेछौँ ।’
हाल अमेलखगञ्ज डिपोमा १९ हजार किलोलिटर डिजेल भण्डारण क्षमता छ । पाइपलाइनमार्फत आएको डिजेल सो भण्डारणस्थलमा राख्ने र सोपश्चात् टयांकरमार्फत अन्यत्र पठाउने गरेको पाइन्छ । पेट्रोलियम पदार्थहरुको हकमा नेपालमा सबैभन्दा बढी खपत डिजेलको रहेको पाइन्छ । हाल भैरहवाभन्दा पूर्वको आपूर्तिको लागि करिब सबैजसो स्थानमा पाइपलाइनबाट आएको डिजेल वितरण गरिएको छ ।
२०७६ भदौ ४ गते मंगलबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै मुलुकबाट ‘रिमोट’ थिचेर मोतिहारी–अमेलखगञ्ज पाइपलाइनको उद्घाटन गरेका थिए । ६९ दशमलव दुई किलोमिटर कुल लम्बाइ रहेको सो पाइपलाइनको ३६ दशमलव दुई किलोमिटर नेपाली भूमिमा र ३३ किलोमिटर भारतीय भूमिमा रहेको छ । पाइपलाइन निर्माणअघि भने ट्यांकरबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा दुर्घटना तथा चोरीको कारण निमगलाई आर्थिक तथा वित्तीय हिसाबले ठूलो क्षति भएको तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै पाइपलाइन निर्माण प्रक्रिया अघि बढाएको थियो ।
ट्यांकरमार्फत ढुवानी गर्दा ढुवानी भाडा र प्राविधिक क्षतिका कारण निगमको मासिक १५ करोड रुपैयाँ खर्च हुने गरेकोमा पाइपलाइनपश्चात् वार्षिक करिब दुई अर्ब रुपैयाँ बचत हुने गरेको प्रवक्ता उपाध्यायले बताए ।विश्वका एक सय २० वटाभन्दा बढी मुलुकहरुले पेट्रोलियम पदार्थ ढुवानीका लागि करिब ४० लाख किलोमिटरभन्दा बढी पाइपलाइन विस्तार गरेका छन् । पाइपलाइन विस्तारमा सबैभन्दा अग्रस्थानमा अमेरिका रहेको छ । उसले करिब २४ लाख किलोमिटर पाइपलाइनमार्फत करिब ७० प्रतिशत पेट्रोलियम पदार्थ ढुवानी र वितरण गर्छ । त्यसपछि भने रुस रहेको छ ।प्रवीण राउत
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया