बहुसंख्यक बीमा कम्पनीहरू सुगम क्षेत्रमा
बीमा कम्पनीहरूको २६ दशमलव पाँच प्रतिशत शाखा बागमती प्रदेशमा मात्र केन्द्रित
काठमाडौं,नेपाल बीमा प्राधिकरणको बीमाको पहुँच र जनचेतना विस्तारको लागि भन्दै राजधानीका पाँचतारे होटलहरुमा महँगो मूल्य तिरेर विभिन्न गोष्ठीहरु गर्दै आएको भए पनि त्यसको परिणाम भने खासै पर्न नसकेको देखिएको छ । प्राधिकरणले राजधानी र सुगम क्षेत्रलाई मात्र केन्द्रविन्दुमा राखेर गर्ने बीमाको पहुँच र जनचेतना विस्तार कार्यक्रमसँगै बीमा कम्पनीहरुको सेवा पनि सुगम क्षेत्रमा मात्र केन्द्रित हुने गरेको देखिएको हो ।
नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)बाट प्राप्त तथ्यांकलाई स्रोत मानेर सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार धेरैजसो बीमा कम्पनीका शाखाहरु बागमती प्रदेश र उक्त प्रदेशका पनि सुगम क्षेत्रमा मात्र देखिएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले नेपालमा सबै किसिमका गरी ३८ वटा बीमा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । जसमध्ये १८ वटाले जीवन बीमा, १८ वटाले निर्जीवन बीमा र दुईवटा पुनर्बीमा कम्पनीहरु छन् । पछिल्लो समय कारोबार सञ्चालनको लागि अनुमति पाएका लघुबीमा कम्पनीहरुलाई पनि राष्ट्र बैंकले अनुसन्धानको क्रममा समावेश गरेको छैन ।
राष्ट्र बैंकको प्रदेशगत जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुको कुल शाखा संख्या नेपालमा तीन हजार तीन सय २९ वटा छन् । जसमध्ये जीवन बीमा कम्पनीहरुको कुल शाखा संख्या दुई हजार दुई सय ९२ र निर्जीवन बीमा कम्पनीहरुको कुल शाखा संख्या एक हजार ३७ वटा छ । राष्ट्र बैंकका अनुसार प्रदेशगत जीवन बीमा तथा निर्जीवन बीमा शाखा संख्या जीवन बीमा शाखाको प्रदेशगत विश्लेषण गर्दा आव २०७८÷०७९ सम्म मुलुकको कुल जीवन बीमा शाखामा सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको छ ।
यो प्रदेशमा मात्र कुल शाखामध्ये २६ दशमलव पाँच प्रतिशत हिस्सा रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको छ दशमलव ३३ प्रतिशत हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ । कुल जीवन बीमा शाखामा लुम्बिनी प्रदेशको १५ दशमलव ९२ प्रतिशत रहेको छ । यसबाहेक प्रदेश नं. १ को १६ दशमलव ४० प्रतिशत, मधेश प्रदेशको १४ दशमलव एक प्रतिशत, सुदूरपश्चिम प्रदेशको ११ दशमलव २१ प्रतिशत र गण्डकी प्रदेशको १० दशमलव शून्य आठ प्रतिशत हिस्सा रहेको छ ।
राष्ट्र बैंकका अनुसार मुलुकको कुल निर्जीवन बीमा शाखामा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहेको छ । निर्जीवन बीमा कम्पनीहरुको कुल शाखा संख्यामध्ये बागमती प्रदेशमा मात्र ३० दशमलव १८ प्रतिशत शाखाहरु सञ्चालनमा रहेको देखिएको छ । प्रतिवेदनअनुसार निर्जीवन बीमा कम्पनीहरुको सबैभन्दा कम शाखा भने कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा कुल शाखामध्ये चार दशमलव ४४ प्रतिशत शाखा मात्र रहेका छन् ।
राष्ट्र बैंकका अनुसार निर्जीवन बीमा कम्पनीहरुको कुल शाखामध्ये लुम्बिनी प्रदेशमा भने १६ दशमलव ९७ प्रतिशत शाखाहरु सञ्चालनमा रहेका छन् । यसैगरी प्रदेश नं १ मा १५ दशमलव ९१ प्रतिशत शाखा सञ्चालनमा रहेका छ भने गण्डकी प्रदेशमा १३ दशमलव २१ प्रतिशत शाखाहरु सञ्चालनमा रहेका छन् । मधेश प्रदेशमा १२ दशमलव २५ प्रतिशत शाखा सञ्चालनमा रहँदा सुुदूरपश्चिम प्रदेशमा भने सात दशमलव चार प्रतिशत शाखाहरु सञ्चालनमा रहेका छन् ।
राष्ट्र बंैकले देशको बैंकिङ तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय, सरकारको आर्थिक सल्लाहकार एवम् देशको बाह्य क्षेत्र व्यवस्थापन गर्ने भूमिकामा रहेर देशको मौद्रिक तथा विदेशी विनिमय नीति तर्जुमा तथा कार्यान्वयनमार्फत देशको समष्टिगत आर्थिक व्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएका उद्देश्यहरु हासिल गर्ने क्रममा देशको आर्थिक नीति निर्माण गर्न सहयोग पुग्ने गरी गर्ने प्रकाशनहरुमध्ये आर्थिक गतिविधिसम्बन्धी अध्ययन एवम् प्रतिवेदन तयार गर्ने र सोको प्रकाशन गर्दै आएको छ । सोही क्रममा बीमा कम्पनीहरुको पहुँच विस्तारसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया