Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार४८ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो बैंकिङ क्षेत्रको कर्जा

४८ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो बैंकिङ क्षेत्रको कर्जा

कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा १२ दशमलव तीन प्रतिशत मात्र कर्जा


काठमाडौं,बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम ४८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार माघको दोस्रो सातासम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित ५६ वटा संस्थाहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । उक्त कर्जामध्येमा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम ४२ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप रकम भने ५३ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्र कुल ४७ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा छ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कुल कर्जामध्ये ६६ दशमलव आठ प्रतिशत कर्जा भने घरजग्गाको धितोमा प्रवाह भएको देखिएको छ । यसबाहेक १२ दशमलव तीन प्रतिशत कर्जा भने चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । गत आवको सोही अवधि अर्थात् २०७८ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव पाँच प्रतिशत र १२ दशमलव चार प्रतिशत रहेको थियो ।

बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम भने चालू आवको पछिल्लो पाँच महिनामा दुई दशमलव दुई प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब १५ करोड रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७८ अर्ब ४४ करोड रुपैयाँ अर्थात् एक दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप नौ दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २५ दशमलव सात प्रतिशत र ६० दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव एक प्रतिशत, ३१ दशमलव पाँच प्रतिशत र ५४ दशमलव तीन प्रतिशत रहेको थियो । २०७९ मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ दशमलव दुई प्रतिशत रहेको छ । २०७८ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने एक दशमलव छ प्रतिशत अर्थात् ७३ अर्ब ३० करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव चार प्रतिशत अर्थात् चार खर्ब २३ अर्ब १३ करोड रुपैयाँले बढेको थियो । २०७९ मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा चार दशमलव एक प्रतिशतले बढेको छ ।

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो ।

चालू आवको पछिल्लो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह एक दशमलव चार प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव आठ प्रतिशतले र फाइनान्स कम्पनीहरुको शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९÷०८० को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा चार दशमलव तीन प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा तीन दशमलव नौ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया