Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी छापको व्यापक दुरूपयोग गर्दै भैरहवा भन्सार कार्यालय

सरकारी छापको व्यापक दुरूपयोग गर्दै भैरहवा भन्सार कार्यालय


पोसकान्त पोखरेल
बुटवल, चैत ३
भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा सरकारी छापको व्यापकरूपमा दुरूपयोग भएको पाइएको छ । कार्यालय प्रमुखको बेवास्ता तथा जिम्मेवारीको पूर्ण पालन नहुनुले कार्यालयमा कार्यरत कर्मचारीको सरकारी छापप्रति गम्भीर नबन्दा भैरहवा भन्सार कार्यालय बेलहियामा सरकारी छापको दुरूपयोग बढ्दै गएको हो ।

भैरहवा भन्सार कार्यालयमा सरकारी छापप्रति कर्मचारीहरू गम्भिर नबन्दा कार्यालयको छाप दुरूपयोग भई गलत प्रयोजनमा प्रयोग हुने खतरा बढेको छ । कर्मचारीहरूकै लापरबाहीले टेवलमा जथाभावि राखिएको छाप जसले जुन प्रयोजनका लागि पनि आफूखुशी लगाउने गरेको पाइएको छ । छाप लगाउने कोठामा अधिकांश समय कर्मचारी बस्ने कुर्सी रित्तो हुन्छ । छापको जिम्मेवारी दिएका कार्यालय सहयोगीहरू घरी चिया पकाउन र घरी पानी तताएर हाकिमहरूलाई दिन व्यस्त हुन्छन् । कार्यालयको सरसफाई पनि गर्नुप-यो । आफूभन्दा माथिल्लो कर्मचारीले भनेका सबै काम जिम्मेवारीको बोझ पनि उत्तिकै हुन्छ । जसको कारणले छापहरू यत्तिकै टेवलमा राखिन्छ । जसले जसरी जे गरे पनि कसैले केही मतलव नराखेपछि तस्करहरूले खाली कागज वा भन्सार छल्नको लागि सक्कलीजस्तो नक्कली कागजात तयार पारेर तस्करी गर्न सक्ने खतरा उत्तिकै छ । बिचौलियाहरूको कार्यालयमा देखिने रुवाफ हेर्दा त कतै मिलेमतोमा आर्थिक लेनदेनका कामहरू त भएका छैनन् भन्ने शंका पनि गर्ने वातावरण प्रशस्त देखिन्छ ।

कार्यालयकी कार्यलय सहयोगी भन्छिन्, ‘हामी त झाडुपोचा गर्ने, पानी दिनेलगायत सबैभन्दा तल्लो दर्जाको काम गर्ने कर्मचारी हो । हाकिमहरूले जे भन्यो त्यही गर्नुपर्छ । मेडमले तातोपानी खाने भन्नुभयो, पानी दिन गएकी थिएँ । पानी दिन गएको बेलामा सबैले आफैँ–आफै छाप लगाउनुभएछ, थाह भएन । कागजात पूरा भएर सक्कलीमै लगाउनुभएको होला । त्यस्तो गलत काम त हुँदैन र भएको पनि छैन । अरु कुरा मलाई केही पनि थाह छैन् । सबै कुरा बुझ्न पनि सकिँदैन । माथिल्लो दर्जाका सर मेडमहरूले जसो जसो भन्नुहुन्छ त्यसै त्यसै गर्ने हो ।’ सबैले आफूखुशी आफ्ना कागजातमा छाप लगाएपछि प्रतिक्रिया लिन कार्यालय प्रमुखको कार्यकक्षमा जाँदा कार्यलय प्रमुख कमलकुमार भट्टराई थिएनन् ।

कार्यालय प्रमुखलाई पछि मोबाइलमा सम्पर्क गर्दा पूरा घण्टी गए पनि उनले फोन उठाएनन् । आफूखुशी दस्तखत भएका र नभएका सबै कागजातहरूमा बिचौलीयाहरूले छाप लगाउनु शंकास्पद देखिन्छ । दस्तखत नभएको कागजमा छाप लगाएर दस्तखत गर्नको लागि सम्बन्धित कर्मचारी जहाँ छ त्यही गएर लगाउनुपर्ने भए पनि सधैँ छाप आफूहरूले नै लगाउने गरेको एक सेवाग्राहीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया