Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र नेपाली सेनाबीच सम्झौता

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र नेपाली सेनाबीच सम्झौता


काठमाडौं, चैत ३
नेपाली सेनामा डिप्लोमा इन मेकानिकल र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङ सञ्चालनको लागि नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्यसचिव डा. पुष्परमण वाग्ले र नेपाली सेनाको तर्फबाट विद्युत् तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढाथोकीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रधानसेनापतिको कमाण्ड मार्गनिर्देशन –२०७५ को लक्ष्य नं. ५ मा उल्लेख भएबमोजिम नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फको दक्ष जनशक्तिको कार्य क्षमता वृद्धि गर्ने उद्देश्यअनुरूप प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त भएपश्चात् उक्त शैक्षिक कार्यक्रम भक्तपुर खरिपाटीस्थित नेपाली सेनाको विद्युत् तथा यान्त्रिक शिक्षालयमा सञ्चालन गरिने सेनाले जनाएको छ ।

समझदारीअनुसार डिप्लोमा इन मेकानिकल ४८ जना र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङ ४८ जनाले अध्ययन गर्न पाउनेछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरमा आयोजित उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू, व्यावसायिक तालिम परिषद्का सदस्य सचिव तथा अन्य पदाधिकारीहरूलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनामा पहिलो पटक सञ्चालन भएको यस प्रकारको शैक्षिक कार्यक्रमले मध्यमस्तरको दक्ष प्राविधिक जनशक्तिको उत्पादन भई नेपाली सेना तथा समग्र राष्ट्रको प्राविधिक जनशक्तिको आवश्यकता पूर्ति हुनुको साथै नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया