Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर राजस्वमा उच्च योगदान गर्ने परिसंघका सदस्यहरूलाई सम्मान

कर राजस्वमा उच्च योगदान गर्ने परिसंघका सदस्यहरूलाई सम्मान


काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये चारवटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । १२ मध्ये आठ जना नेपाल उद्योग परिसंघका सदस्यहरू छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७७/७८ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घ्यू उद्योग प्रालि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसीबी फुड्स एन्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो । यसैगरी बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालि, रेमिट्यान्स तथा मनि ट्रान्सफरमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।

सोमबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च कर तिर्ने परिसंघका सदस्यहरूलाई सम्मान गरेका हुन् । उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरू रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए । उच्च करदाता हुनु व्यक्तिगत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको उनले बताए । साथै उनले आगामी वर्षमा समेत परिसंघ सदस्यहरू सरकारबाट सम्मानित हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिरेका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले कोभिड महामारी, तरलताको अभाव, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए । कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, गभर्निङ काउन्सिल सदस्यहरू शिवरतन शारडा, उपाध्यक्षहरू राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरू सहभागी थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #8, #Page 8

तपाईको प्रतिक्रिया