Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदैनिक १० किलो सुनले बजारको माग धान्न मुस्किल

दैनिक १० किलो सुनले बजारको माग धान्न मुस्किल


काठमाडौं । सुनचाँदी व्यवसायीहरूले दैनिक १० किलो सुनको आयातले बजारको माग धान्न मुस्किल परेको बताएका छन् । उनीहरूका अनुसार बजारमा दैनिक १५ देखि ४० किलो सुनको माग हुनेगरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघद्वारा सोमबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले हाल आयात भइरहेको सुनले बजारको एक तिहाइ माग मात्रै धान्ने जानकारी दिएका हुन् । सुनचाँदी तथा रत्न आभूषण क्षेत्रको निरन्तर विकास र विस्तार हुँदै गर्दा यसको विपरीत सरकारले पछिल्लो समय दैनिक १० किलोग्राम सुनको आपूर्ति व्यवस्था गरेको छ । जुन निर्धारित कार्यविधिअनुरूप तीनै महासंघका सदस्य व्यवसायीहरूले अत्यन्त थोरै मात्रामा प्राप्त गर्ने व्यवसायीको गुनासो छ ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा पनि झन्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुन्छ । विधिवत् तरिकाले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरूले विनाभन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप एक सय ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधा छ । यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि भरथेग पु-याइरहेको भए पनि पछिल्लो समय प्रहरी प्रशासन र भन्सार विभागले जफत गरेपछि बजारमा झनै ठूलो समस्या आइरहेको व्यवसायीहरूको भनाइ छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पछिल्लो समयमा राज्यले तोकेको मापदण्डअनुरूप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई पनि अपराधीजस्तो ब्यवहार गर्न थालिएको बताए । यसले राज्यको नियमअनुसार दर्ता गरी बसेका व्यवसायीहरूलाई हतोत्साही बनाउँनुका साथै पेसाप्रति नै वितृष्णा पैदा गरेको उनको भनाइ छ । ‘सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्बद्ध चेकजाँच गर्ने स्थान (भन्सारनाका)मा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ’, उनले भने, ‘भन्सारबाट विविवत् रूपमा ल्याइएका गरगहनाहरू त्यसपश्चात् व्यवसायीको पसल, दोकानमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्नेबित्तिकै त्यसप्रति गलत आशंका गर्ने, व्यवसायीलाई त्रसित र आतंकित बनाउने, अनुसन्धानका नाममा अनावश्यक दुःख दिनेजस्ता कार्य निन्दनीय छन् ।’

वाणिज्य बैंकहरूको मात्र एकल आपूर्तिबाट सुनचाँदी बजार सञ्चालन हुँदै गर्दा निजी क्षेत्रका वैधानिकरूपमा पेसा व्यवसाय दर्ता गरेर व्यवसायीहरूले यस क्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नपाउँदा बजार एकपक्षीय र अन्यायपूर्ण रूपमा सञ्चालन हुँदै आएको व्यवसायीको आरोप छ । यस क्षेत्रका कम्पनी फर्महरूले राज्यको सम्बन्धित निकायहरूबाट अनुमति प्राप्त गरेको उद्देश्यबमोजिम गरगहना र यससम्बन्धी कच्चापदार्थहरू आयात र निर्यात गर्न नपाएको दशकौँ भएको नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए । सुनचाँदी बजारले आफ्नो दशकौँदेखिको मौलिक माग र आपूर्तिको स्वरूप गुमाएको अवस्थामा विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यवस्थाको समीक्षा हुनु अत्यन्त आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै व्यवसायीहरूले सुन रत्न पत्थरहरूको खानीहरू पत्ता लगाई उत्खनन गर्नुपर्नेमा पनि जोड दिएका छन् । निर्बाधरूपमा राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेसा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट प्रस्ट मापदण्ड (निर्देशिका) ऐन, कानुन बनाई शीघ्र लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुनेगरी ऐन नियम कार्यविधि निर्माणका लागि उनीहरूले सरकारसँग माग गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #8, #Page 8

तपाईको प्रतिक्रिया