Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको माग ३५ प्रतिशतले घट्यो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको माग ३५ प्रतिशतले घट्यो


काठमाडौं, चैत ४
कोरोना भाइरसको कारण पछिल्लो एक महिनामा विश्वबजारमै पेट्रोलियम पदार्थको माग झण्डै ३५ प्रतिशतले कमी आएको छ । विश्वका विभिन्न देशमा आर्थिक गतिविधि ठप्प हुन पुग्दा पेट्रोलियम पदार्थको माग घट्न गई मूल्य पनि घटेको हो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले अहिले युरोपलाई आक्रान्त पारेको छ । युरोपपछि सबैभन्दा बढी त्रसित अमेरिका बनेको छ । युरोप र अमेरिकामा तेलको माग नै नभएपछि विश्वबजार नै प्रभावित बन्नपुगेको छ । चीनमा पनि पेट्रोलियम पदार्थको माग ह्वात्तै घटेको छ ।

विश्वका एक सय ५० भन्दा बढी देशमा कोरोना भाइरस देखा परेपछि उद्योग, कलकारखाना बन्दजस्तै छ । मानिसहरुको आवतजावत विश्वभर कम भएको छ । विश्वभर बाह्य र आन्तरिक दुईतर्फको हवाइ उडान झण्डै ७० प्रतिशतले कटौती भएको छ । एक देशले अर्को देशबाट आउने नागरिकका लागि भिसा बन्द गरिएको छ । कोरोनाको कारण विश्वका विभिन्न देशका नागरिक आफ्नै देशमा नजरबन्दजस्तै अवस्था छन् ।

नेपालमा पनि अन्तर्राष्ट्रिय उडान कटौती भएको छ । नेपालले विदेशीलाई भिसा दिन बन्द गरिदिएको छ । नेपालका एयरलाइन्सहरुले पनि अन्तर्राष्ट्रिय उडान कटौती गरेको छ । अमेरिकाले युरोपको बेलायतबाहेक अरु सबै देशबाट आफ्नो देशमा आउने नागरिकका लागि ढोका बन्द गरिदिएको छ । कोरोनाको कारण अल्पविकसितदेखि विकसित सबै देशको अर्थतन्त्र प्रभावित भएको छ । नेपालमा २०७२ वैशाख १२ गतेको भूकम्पको कारण जसरी अर्थतन्त्रमा असर परेको थियो, त्यस्तै प्रभाव अहिले विश्वका धनी देशहरुको अर्थतन्त्रमा परेको छ । विश्वभर आर्थिक गतिविधि ठप्पजस्तै बनेको छ ।

कोरोनाको कारण विकसित र सम्पन्न देशहरुमा समेत खाद्यान्नको अभाव सिर्जना भइसकेको छ । कयौँ देशमा भेला तथा जमघटका कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस फैलिने डरले नेपालमा पनि राजनीतिक दलका सबै कार्यक्रम स्थगित गरिएको छ भने भोज तथा पार्टीहरु रोक्न सरकारले आह्वान गरेको छ । अत्यावश्यक काममा बाहेक अरु बेला ठूला जमघट नेपालमा पनि बन्द हुन थालेको छ । कोरोनाको उपचार गर्न नेपालका स्वास्थ्य संस्थाहरु सबल नभएको तथ्यहरु बाहिर आएपछि मानिसहरुले आत्मनियन्त्रणलाई उच्च प्राथमिकता दिएका छन् । विकसित देशहरुको जस्तो उपचारको राम्रो प्रबन्धन नहुने भएको कारण रोग नै भित्रिन नदिन नेपालीले आफैं सक्रियता देखाएका छन् ।

नेपाल मात्र नभई विश्वर कसरी बाँच्ने भन्ने प्रयासमा नागरिक रहेको कारण अर्थतन्त्र कमजोर बन्न पुगेको छ । इन्धनको माग घट्न गएको हो । विश्वभर पेट्रोलियम पदार्थको माग ३५ प्रतिशतले घटेर मूल्य घट्दा नेपालमा पनि भारी मात्रामा पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा गरिए पनि नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी ग्यास बाहेक पेट्रोलियम पदार्थको मूल्य सामान्य रुपमा घटाएको छ ।

आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर दुइ रुपैयाँको दरले घटाएको छ । हवाई इन्धन पनि आन्तरिक उडान तर्फ साढे चार रुपैयाँले घटाएको छ । विमानका यात्रु घटेको कारण चलाउन नसकिने अवस्था पुगेको निजी वायुसेवा सञ्चालकहरुले गुनासो गर्र्दै मूल्य घटाउन माग गर्दै आएका छन् । तर, सरकारले नाम मात्रकै मूल्य घटाएर अन्याय गरेको निजी विमान सञ्चालकहरुले गुनासो गरेका छन् । त्यस्तै, डिजेल र पेट्रोलको मूल्य घटाउँदा पनि सरकारले अन्तर्राष्ट्रिय बजारअनुसार घटाएको छैन । नयाँ मूल्यसूचीअनुसार अब डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ र पेट्रोल एक सय छ रुपैयाँमा पाइनेछ । ग्यासको मूल्य भने निगमले यथावत् राखेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x