Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटा ५ प्रतिशतले घट्यो

व्यापारघाटा ५ प्रतिशतले घट्यो


प्रवीण राउत
काठमाडौं, चैत ५
पछिल्लो समय नेपालको वैदेशिक व्यापार स्थितिमा सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को सात महिना (साउनदेखि फागुनसम्मको अवधिमा) गत आव (२०७५/७६) को सोही अवधिको तुलनामा भारतलगायत तेस्रो मुलुकसँग नेपालको व्यापारस्थितिमा सुधार देखिएको हो । यो अवधिमा निर्यातमा वृद्धि भई आयातमा कमी आएको तथ्यांकले देखाएको छ । विभागका अनुसार चालू आवको सात महिनाको अवधिमा नेपाली व्यवसायीहरुले आठ खर्ब तीन अर्ब ६० करोड २८ लाख १३ हजार मूल्यबराबरको सामग्री आयात गरेका छन् । जुन गत आवको सोही समयको तुलनामा चालू आवमा तीन दशमलव ५६ प्रतिशतले आयातमा कमी हो । गत आवमा आठ खर्ब ३३ अर्ब २६ करोड ८४ लाख १९ हजार मूल्यबराबरको सामग्री व्यापारीहरुले आयात गरेका विभागले जनाएको छ ।

चालू आवको सात महिनाको अवधिमा निर्याततर्फ भने वृद्धि भएको छ । सात महिनाको अवधिमा व्यवसायीहरुले ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार रुपैयाँ मूल्यबराबरको सामग्री भारतलगायत तेस्रो मूलुकमा निर्यात गरेका छन् । जुन गत आवको तुलनामा चालू आवमा २२ दशमलव ४१ प्रतिशतले वृद्धि हो । गत आवको सोही समयमा ५३ अर्ब सात करोड ८७ लाख ५६ हजार मूल्यबराबरको सामग्री निर्यात भएको पाइन्छ । चालू आवको सात महिनाको अवधिमा व्यापार घाटा सात खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रहेको छ । जुन गत आवको सोही समयको तुलनामा चालू आवमा ५ दशमलव ३३ प्रतिशतले कमी हो । गत आवको सोही समयमा व्यापारघाटा सात खर्ब ८० अर्ब १८ करोड ९६ लाख ६३ हजार रहेको छ ।

यता चालू आवको सात महिनाको अवधिमा कुल वैदेशिक व्यापार आठ खर्ब ६८ अर्ब ५७ करोड ४० लाख ४० हजार रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा दुई प्रतिशतले कमी हो । गत आवमा नेपालको तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार आठ खर्ब ८६ अर्ब ३४ करोड ७१ लाख ७५ हजार रहेको थियो ।

आयातनिर्यातको सूचकांकअनुसार चालू आवमा १२ दशमलव चार प्रतिशत र गत आवमा १५ दशमलव सात प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा २१ दशमलव २२ प्रतिशतले कमी हो । कुल व्यापारमा निर्यातको सूचक हेर्दा गत आवमा ७ दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवमा ५ दशमलव ९९ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा २४ दशमलव ८८ प्रतिशतले वृद्धि भएको पाइन्छ । यस्तै गत आवमा आयातको सूचक ९४ प्रतिशत रहेकोमा चालू आवमा ९२ दशमलव ५२ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा एक दशमलव ५९ प्रतिशतले कमी हो ।

नेपालको विशेषगरी दुई छिमेकी मुलुक भारत र चीनसँगको व्यापारघाटामा रहेको छ । पछिल्लो सात महिनामा भारतसँग चार खर्ब ५१ अर्ब आठ करोड २८ लाख तथा चीनसँग एक खर्ब ३१ अर्ब ५६ करोड ३० लाख व्यापारघाटा रहेको छ । सो अवधिमा भारतमा ४५ अर्ब ३९ करोड ७१ लाखको वस्तु निर्यात भएको छ भने चार खर्ब ९६ अर्ब ४८ करोडको वस्तु आयात गरिएको छ । चीनमा भने एक अर्ब छ करोड ५१ लाख वस्तुको निर्यात तथा एक खर्ब ३२ अर्ब ६२ करोड ८१ लाखको वस्तु आयात गरिएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, भटमासको तेल, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टिल, फेल्ट र पश्मिना सल प्रमुख रुपमा रहेको छ भने आयाततर्फ अधिकांश मेसिनरी वस्तु तथा सवारीसाधनका पार्टपुर्जा रहेको विभागले जनाएको छ । यता नेपालको निकासी व्यापारमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरलेण्ड आदि प्रमुुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुुख छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया