Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगसँग ग्यास ‘स्टक’ रहे पनि बजारमा कालोबजारी

उद्योगसँग ग्यास ‘स्टक’ रहे पनि बजारमा कालोबजारी


जिएम यादव
बाँके, चैत ५
बाँकेको नेपालगञ्जमा रहेका ग्यास उत्पादन कम्पनीमा अहिले पनि करिब ४६ हजार तीन सय ४० सिलिण्डर ग्यास मौज्दात छन् । तर, कोरोना भाइरसको सन्त्रासको निहुँमा व्यवसायीले ग्यासमा कालोबजारी सुरु गरिसकेका छन् । यसको रोकथाम र नियन्त्रणका लागि बाँके प्रशासन र नेपालगञ्ज उद्योग वाणिज्य संघ उदासिन देखिएको छ । आयल निगमका अनुसार बाँकेमा रहेका तीनवटा ग्यास उद्योगमा अहिले पनि करिब ४६ हजार तीन सय ४० सिलिण्डर ग्यास मौज्दात छन् ।

भेरीमा ३५ हजार, मनकामना ग्यासमा छ हजार तीन सय र राप्ती ग्यास उद्योगसँग पाँच हजार ४० सिलिण्डर ग्यास मौज्दात छन् । भारतबाट नियमितरूपमा ग्यास तथा पेट्रोलियम पदार्थ आयात भइरहेको छ । तर, नेपालगञ्जका व्यवसायीले ग्यासमा कालोबजारी थालेका छन् । अहिले दैनिक आठ हजार सात सय सिलिण्डर ग्यास बजारमा गइरहेका छन् । भेरी ग्यास उद्योगले चार हजार पाँच सय मनकामना ग्यास उद्योगले दुई हजार दुई सय र राप्ती ग्यास उद्योगले दुई हजारको हाराहारीमा सिलिण्डर ग्यास बजारमा बिक्रीवितरणका लागि पठाएको तथ्याङ्क दिएका छन् । कोरोना भाइरसको सन्त्रास फैलिएको छ ।

कोरोना भाइरसकै कारण विश्व अर्थतन्त्रसमेत प्रभावित बनेको छ । चीनको वुहानबाट फैलिएको भाइरसले दुई महिनामै विश्वलाई आतङ्कित बनाएको छ । यसलाई धेरैले कमाउने अवसरका रूपमा समेत लिएका छन् । यहिबेला विभिन्न खाले भ्रम फैलाएर कमाउधन्दा चलाउनेहरूको पनि कमी छैन । अहिले नेपालगञ्जमा पनि हल्लैहल्लाले धेरैलाई आतङ्कित बनाएको छ । पछिल्लो समयमा खाना पकाउने (एलपी) ग्यास अभाव हुनसक्ने भन्दै हल्ला फिजाइएपछि कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीहरू सल्बलाउन थालेका हुन् ।

कोरोना भाइरसका कारण भारतीय सीमा नाका बन्द हुने र बजारमा ग्यास अभाव हुने हल्ला फिजाएर ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोजे पनि इन्धन अभाव नहुने इन्धन डिपो प्रमुख नवविनोद पोखरेल बताउँछन् । सीमा नाका बन्द नै भइहाले पनि ग्यास तथा पेट्रोलियम पदार्थको आयात रोकिँदैन उनले भने ‘कालोबजारी हुन नदिन खबरदारी समेत गरेका छौँ ।’ बजारमा ग्यास अभाव भएको भनेर फिजाइएको हल्ला गलत भेरी ग्यास उद्योगका प्रबन्ध निर्देशक सुनिल सिन्हा बताउँछन् । उनका अनुसार नाकाबन्दी भए पनि नेपालगञ्जमा करिब २० दिनलाई पुग्ने ग्यास स्टक रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x