Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखानी तथा भूगर्भ विभागद्वारा ६० करोड राजस्व सङ्कलन

खानी तथा भूगर्भ विभागद्वारा ६० करोड राजस्व सङ्कलन


प्रवीण राउत
काठमाडौं, चैत ७
खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा ६० करोड रुपैयाँभन्दा बढी रकम राजस्व संकलन गरेको छ । विभागले चालू आर्थिक वर्ष (२०७६/०७७) आठ महिनाको अवधिमा ६० करोड ४६ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । सो अवधिमा सबैभन्दा बढी रकम खानी रोयल्टीमार्फत राजस्व संकलन गर्न विभाग सफल भएको छ भने त्यसपछि क्रमशः सरकारी सम्पत्तिको बिक्री, प्रशासनिक दण्ड, जरिवाना जफत र अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा राजस्व संकलन गरेको छ ।

आठ महिनाको अवधिमा खानी रोयल्टीबापत ६० करोड ४२ लाख ४५ हजार नौ सय, प्रशासनिक दण्ड, सरकारी सम्पत्तिको बिक्रीबाट दुई लाख १५ हजार नौ सय, जरिवाना र जफतबापत एक लाख ७८ हजार एक सय र अन्य प्रशासनिक सेवा शुल्कबापत १२ हजार राजस्व संकलन गरेको छ । विभागले खानीका लागि इजाजतपत्र तथा नवीकरण दिने, सरकारी बिक्री, अन्य प्रशासनिक सेवा, प्रशासनिक शुल्क दण्ड जरिवानालगायतको शीर्षकमा सो रकम संकलन गर्ने गरेको जानकारी दिएको छ । विभागलाई खानीबाट कच्चा पदार्थलगायतका सामग्री उत्खनन गर्दा, नक्सा बिक्री, कानुन मिचेको अवस्थालगायतका विषयमा राजस्व संकलन गर्ने अधिकार रहेको अधिकारीहरुको भनाइ छ ।

विभागले आठ महिनामध्ये सबैभन्दा बढी राजस्व संकलन मंसिर महिनामा गरेको छ भने त्यसपछि क्रमशः पुस, फागुन, असोज, माघ, भदौ, साउन र कात्तिकमा राजस्व संकलन गरेको छ । मंसिरमा सरकारी सम्पत्तिको बिक्रीबाट २९ हजार चार सय, खानी रोयल्टीबापत १७ करोड १९ लाख ३६ हजार चार सय गरी कुल १७ करोड १९ लाख ६५ हजार नौ सय राजस्व संकलन गरेको विभागले जनाएको छ । पुसमा सरकारी सम्पत्तिको बिक्रीबाट ३९ हजार, खानी रोयल्टीबापत र नौ करोड ४४ लाख ९४ हजार गरी कुल नौ करोड ४५ लाख ३३ हजार आठ सय राजस्व संकलन गरेको छ ।

विभागले फागुनमा सरकारी सम्पत्ति ५१ हजार चार सय, अन्य प्रशासनिक सेवा शुल्क १२ हजार र खानी रोयल्टीमार्फत आठ करोड १८ लाख ६६ हजार कुल आठ करोड १९ लाख २९ हजार चार सय रुपैयाँ राजस्व संकलन गरेको छ । असोजमा सरकारी सम्पत्तिको बिक्रीबाट ६७ हजार चार सय, खानी रोयल्टीबापत आठ करोड चार लाख ९१ हजार गरी कुल आठ करोड पाँच लाख ५८ हजार चार सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै माघमा सरकारी सम्पत्तिको बिक्रीबाट पाँच हजार छ सय, खानी रोयल्टीबापत छ करोड २५ लाख ८५ हजार चार सय गरी कुल छ करोड २५ लाख ८५ हजार चार सय राजस्व संकलन गरेको छ भने भदौमा सरकारी सम्पत्तिको बिक्रीबाट छ हजार सात सय, खानी रोयल्टीबापत तीन करोड ८९ लाख ५५ हजार चार सय गरी कुल तीन करोड ९१ लाख ४० हजार तीन सय राजस्व संकलन गरेको विभागले जनाएको छ ।

साउनमा सरकारी सम्पत्तिको बिक्रीबाट पाँच हजार नौ सय, खानी रोयल्टीबापत तीन करोड ९१ लाख १९ हजार चार सय गरी कुल तीन करोड ९१ लाख २५ हजार तीन सय ३९ राजस्व संकलन गरेको छ भने कात्तिकमा खानी रोयल्टीबापत ३४ करोड ७९ लाख ७२ हजार दुई सय र सरकारी सम्पत्तिको बिक्रीबाट १० हजार गरी कुल तीन करोड ४८ लाख सात हजार पाँच सय राजस्व संकलन गरेको छ ।

विभागले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ मा रहेर राजस्व संकलन गर्दै आएको छ । सो नियमावलीअनुसार सुन, चाँदी, तामा, फलाम, चुनढुंगा, माटो लगायतका वस्तुलाई विभिन्न मूल्य राखिएको छ भने खनिज पदार्थलाई अति साना स्तर, साना स्तर, मझौला स्तर र ठूला स्तर भनी वर्गीकरण गरिएको छ । सुन प्रतिग्राम (धातु) सात, चाँदी प्रतिकिलोग्राम (धातु) एक सय, तामा प्रतिकिलो एक, फलामा प्रतिटन आठ, चुनढुगा तथा क्यालसाइट प्रतिटन १२ रुपैयाँ कायम गरेको छ भने पदार्थअनुरुप मूल्य पनि फरक–फरक रहेको छ । यस्तै खनिज पदार्थ उत्खननका लागि अनुभवी व्यक्ति हुनुपर्ने समेत व्यवस्था गरिएको छ । विभागले पछिल्ला वर्षहरुमा हजारौं उद्योगहरुलाई खनिज खोजतलास तथा उत्खननका लागि अनुमति र नवीकरण प्रदान गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया