Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाछाखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

माछाखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने


काठमाडौं, चैत ९
विकास हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित अप्पर माछाखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । उक्त हाइड्रोमा लगानी गर्ने सम्बन्धमा गत बिहीबार विकास हाइड्रोपावर कम्पनी र बैंकबीच वित्तीय व्यवस्थापनबारे सम्झौता भएको हो । काठमाडौंको सांग्रिला होटलमा आयोजित समारोहमा विकास हाइड्रोपावरका प्रबन्धनिर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गरेको बताए । ‘युवा साथीहरुको काम गर्ने उत्साह देखेर खुसी छौँ । आयोजना समयमै निर्माण हुने र सबैले लाभ प्राप्त गर्नेमा पनि आशावादी छौँ’, श्रेष्ठले भने । श्रेष्ठले वाणिज्य बैंक सरकारी बैंक भए पनि निजी बैंकहरुभन्दा पनि अगाडि रहेर शीर्ष स्थानमा रहेको बताउँदै बैंकले जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेर लगानी गरिरहेको बताए ।

कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ(एनआरएनए) एसिया प्यासिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले आयोजना २०७८ मै सक्ने गरी काम तीव्र रुपमा भइरहेको बताउँदै एनआरएनए र स्थानीयको लगानीमा आयोजना बनिरहेको बताए । उनले आयोजनामा लगानीका लागि राष्ट्रिय वाणिज्य बैंकलाई धन्यवाद दिँदै आयोजनामा स्थानीयको पूर्ण सहयोग र समर्थन रहेकाले कम खर्चमा उत्कृष्ट आयोजना बन्ने बताए । उनले आयोजनाको लाइन धादिङको बसेरीमा जोडन लागिएको बताए ।

गैरआवासीय नेपाली (एनआरएन)सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण सुरु भइसकेको छ । गोरखाको धार्चे गाउँपालिकाको माछाखोलामा अप्पर माछाखोला जलविद्युत् आयोजनाका लागि काम भइरहेकोे न्यौपानेले बताए । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत् उत्पादनका लागि माछाखोलामा निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए । निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि जग्गा खरिद गरिसकेको र सबै ठेक्काको काम सकिसकेको न्यौपानेले बताए ।

न्यौपानेले बैंकिङ एग्रिमेन्टको काम पनि सकिएको, आयोजनालाई चाहिने सम्पूर्ण मोटरबाटोको निर्माणकार्य सम्पन्न भएको र ट्रान्समिसन लाइन र विद्युत् प्रसारण लाइनको सम्झौतासमेत सकिएर निर्माणकार्य सुरू भइरहेको बताए । ‘हामी झोलामा खोला हालेर हिड्दैनौं । काम धमाधम भइरहेको छ निर्धारित समयभन्दा छिटो प्रोजेक्ट सक्छौँ ।’ बाँधस्थलबाट तीन किलोमिटर पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गर्ने न्यौपानेले बताए । न्यौपानेले आफूहरुले पीपीए गर्दा दुई वर्षमा निर्माणसम्पन्न गर्ने भनिए पनि त्योभन्दा छिटो निर्माण सम्पन्न हुने दाबी गरे ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरी गत कात्तिकमा नै पीपीए भएको हो । आयोजनाको लागत ८१ करोड ६५ लाख रहेको छ । जसमध्ये ६० प्रतिशत लगानी बैंकले गरेको र बाँकी ४० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र सञ्चालक समितिले गर्ने भएका छन् ।

विकास हाइड्रोपावरमा एनआरएनएन एसिया प्यासिफिक सहसंयोजक अध्यक्ष खगेन्द्र न्यौपानेसँगै नेपाल विज्ञापन संघका सचिव कृष्ण घिमिरे, सरोज धिताल, सुनिलबाबु श्रेष्ठ र इन्द्र ढकाल सञ्चालक समितिमा रहेका छन् । विकास हाइड्रोपावर कम्पनीले नै ४ दशमलव ५५ मेगावाटको अप्पर माछाखोला जलविद्युत् आयोजनासँगै अन्य जलविद्युत् आयोजना निर्माणको पनि प्रक्रिया सुरु गरेको छ । विकास हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्धनिर्देशक एवं स्थानीय घिमिरेले कम्पनीले सञ्चालन गर्ने आयोजनाहरूमा स्थानीय जनताको नै अधिकतम सहभागिता र स्थानीयकै धेरै सेयर लगानी रहेको बताए ।

सञ्चालक घिमिरेले स्थानीयसँगको सहकार्यबाटै कम्पनीले निर्माण गर्न लागेको अप्पर माछा खोला हाइड्रोपावर आयोजना समयमै सम्पन्न गर्ने समेत बताए । घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम गर्न सजिलो भएको र कम्पनीले स्थानीयसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x