Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाउँघरमा कोरोना थप त्रास

गाउँघरमा कोरोना थप त्रास


दोलखा, चैत ११
कोरोना भाइरसको त्रासले छिमेकी देश भारत र राजधानी काठमाडौंबाट हजारौं मानिसका जिल्ला भित्रिएसँगै गाउँमा स्थायीरूपमा बसोबास गर्दै आएकाहरू थप त्रसित बनेका छन् । विश्वमा तीव्ररूपले महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइरस सक्रमण बच्न सकिने भन्दै विभिन्न ठाँउमा अस्थायी बसोबास गर्दै आएका नागरिक जिल्ला भित्रिएका छन् ।

सरकारले सोमबारदेखि लामोदूरीमा चल्ने सवारीसाधन बन्द गर्ने निर्णय गरे पनि दोलखामा भारत, बंगलादेशबाट आएका यात्रुहरूको निर्वाध दोलखा प्रवेशले संक्रमणको जोखिम बढाएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट पूर्व सतर्कताको लागि सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाए पनि भारत र बंगलादेशबाट आएका यात्रुविना चेकजाँच निर्वाध ढंगले जिल्ला भित्रिएका छन् ।

काकडभिट्टा नाका हुँदै भारत र बंगलादेशदेखिका यात्रुहरूको जिल्ला प्रवेशले जोखिम बढाएको स्थानीयको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार सोमबार मात्र किर्नेटार र खरिढुंगा हुँदै भित्रिएका २० भन्दा बढी यात्रुवाहक बस तथा सयभन्दा बढी निजी सवारीबाट करिब दुई हजार यात्रुहरू जिल्ला भित्रिएका छन् । रोजगारीका लागि भारत तथा बंगलादेश गएका सयौं नागरिक बस रिर्जभ गरेर दोलखा भित्रिएका छन् ।

जिल्ला भित्रिनको लागि कतिपयले भारतीय नम्बर प्लेटका सवारीसाधनसमेत लिएर आएको ट्राफिक असई राजकुमार दुलालले जानकारी दिए । कोरोना संक्रमित मुलुकहरूबाट धमाधम मानिसहरू जिल्लाको विभिन्न स्थानहरूमा प्रवेश गरिरहेका कारण गाउँमा त्रास फैलिएको हो । एकैसाथ धेरै यात्रुहरू भित्रिएको र दुईवटा नाकामा जम्मा दुईवटा मात्रै ‘थर्मल गन’ भएका कारण सबै यात्रुको तापमापन गर्न कठिनाइ भइरहेको दोलखाका प्रजिअ भीमकान्त शर्माले बताए ।

दोलखा प्रवेश गर्ने मुख्य नाका खरिढुंगा र किर्नेटारमा सोमबारबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितको संयुक्त टोलीले हेल्थ डेस्क राखेर यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाइएको उनले बताए । यता सदरमुकाम चरीकोटको सातदोबाटो चोकमा रहेको जिल्ला ट्राफिक कार्यालय छेउमा पनि हेल्थ डेस्क राखेर सोमबारदेखि यात्रु र चालकको स्वास्थ चेकजाँच गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय चरिकोटले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया