Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशबाट आएका थप एक नेपालीलाई कोरोना देशभर क्वारेन्टाइन निर्माणको होडबाजी

विदेशबाट आएका थप एक नेपालीलाई कोरोना देशभर क्वारेन्टाइन निर्माणको होडबाजी


शनिबार बागलुङ नगरपालिका–४ की एक १९ वर्षीय युवतीलाई कोरोना भएको पुष्टि भएको छ । चैत ४ गते उनी युरोपबाट कतार हुँदै काठमाडौं आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही दिन आएकी अर्की काठमाडौंकी युवतीलाई पनि कोरोना भएको पुष्टि भएर उनको काठमाडौंमा उपचार भइरहेको छ । अहिलेसम्म विदेशबाट आउनेहरुलाई मात्र कोरोना भएको पुष्टि भएको छ । विदेशबाट आउनेले लापरबाही गरेर कति जनालाई कोरोना भाइरस सर्न गयो भन्ने पुष्टि भएको छैन । धेरै परीक्षण नभएको कारण पनि कतिलाई कोरोना लागेको छ भन्ने एकीन नभएको हो । सरकारले आइतबारदेखि कोरोनाको थप परीक्षण हुने जनाएको छ । त्यसपछि मात्र वास्तविक तथ्यांक आउने देखिएको छ । विदेशबाट अउनेहरु लापरबाहीपूर्ण तरिकाले हिँड्डुल गरेको कारण धेरैमा कोरोना भाइरस सारेको अनुमान गरिएको छ । यद्यपि पुष्टि नभएसम्म कसैलाई पनि आरोप लगाउन नमिल्ने स्वास्थ्य मन्त्रालयएका एक अधिकारीले बताए । ‘विदेशबाट आउनेहरुमा धेरै कोरोना देखिएको छ’, मन्त्रालयका ती अधिकारीले भने, ‘थप व्यक्तिलाई उनीहरुकै कारण कोरोना सरेको छ÷छैन भन्नेबारे परीक्षणबाट मात्र पुष्टि होला । अहिले नै भन्न सकिने अवस्था छैन ।’

बागलुङकी ती युवती काठमाडौंबाट पोखरा विमानस्थल र पोखराबाट माइक्रोबस चढेर बागलुङ गएको कारण उनको धेरै व्यक्तिसँग सम्पर्क भएको आशंका गरिएको छ । ती युवतीलाई कोरोना भएपछि कतारबाट उक्त उडानमा आउने थप यात्रु, काठमाडौंबाट पोखरा विमानमा जाने यात्रु, पोखराबाट बागलुङ जाने माइक्रोबसका यात्रु तथा बागलुङकै उनका साथीहरुमा त्रास बढेको छ । विमानबाट नेपाल आउने मात्र होइन, भारतबाट नेपाल आउनेहरुको पनि स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्न स्थानीय रुपमा पनि जनदबाब बढेको छ । पाँचौं संक्रमित पनि विदेशबाटै आउने भएपछि विदेशबाट आउनेलाई हेर्ने दृष्टिकोण र व्यवहार नै फरक हुन थालेको छ । सोही कारण विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुले वडावडामा क्वारेन्टाइन बनाउन थालेका छन् । यद्यपि सुदूरपश्चिममा भारतबाट प्रवेश गर्नेहरुले भने क्वारेन्टाइनमा बस्न इन्कार गर्दै आएको बताइएको छ । यसले गाउँगाउँमा थप त्रास बढेको छ । केन्द्र सरकारको निर्देशन गएपछि अहिले गाउँपालिका तथा नगरपालिकाहरुमा वडावडाका जनप्रतिनिधिहरु भारत तथा अन्य मुलुकबाट गाउँ आउनेहरुको लागि १४ दिनसम्म बस्नका लागि क्वारेन्टाइन बनाउन थालेका छन् । पर्वतको महाशीला गाउँपालिकाले कोरोना संक्रमित परीक्षण गर्दा चिकित्सकले लगाउने प्रसर्नल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) तयार गरेका छन् । लुंखुदेउराली प्राथमिक स्वास्थ्य चौकीमा अब कोरोना संक्रमित बिरामीहरूको आइसोलेसन वार्डमा राखेर उपचार गर्न सकिने भएको छ । टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेका छन् । टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा २१ जनालाई राखिएको छ ।

चितवनको विभिन्न अस्पताल र सार्वजनिकस्थलमा गरी पाँच सय ४६ शय्याको क्वारेन्टाइन तथा आइसोलेसन स्थापना गरिएको छ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ७० शय्या, भरतपुर अस्पताल ३० शय्या, कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेज १०÷१० शय्या तयार गरिएको छ । त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरी २० शय्या, सामुदायिक अस्पताल बच्र्यैली १५ शय्या, होटल स्टार बैंकुइट रत्ननगरमा एक सय १५ शय्या, सौराहाको मारुनीमा ३० शय्या, रत्ननगर नगरपालिका–६ मा रहेको हेल्थपोष्टमा १० श्यया रहेका छन् । यस्तै खैरहनी नगरपालिकामा ६६ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । वडा नं ६ डिजने पार्टी प्यालेसमा २० शय्या, सैनिक आवासीय महाविद्यालय ३२ शय्या, रुरल रिकन्स्ट्रक्सन नेपालमा १४ शय्या र राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माविमा १५ शय्या रहेको छ । बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक शान्ति माविमा क्वारेन्टाइन निर्माण भएको छ । यस्तै स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा ३६६ जना बसेका छन् । स्याङ्जामा होम क्वारेन्टाईनमा ३४०, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा २५ र सेल्फ क्वारेन्टाइनमा एक कूल ३६६ जना क्वारेन्टाइनमा बसेका हुन् । गोरखाको शहिद लखन गाउँपालिकामा विदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यस्तै, विश्वमा फैलँदै गएको नोवल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौंको टोखा नगरपालिकाले ३८ शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । टोखा नगरपालिकाले तिलिङ्गाटार माध्यमिक विद्यालयमा २५, टोखा प्राथमिक स्वास्थ्य केन्द्र टोखा बजारमा १० शय्या र झोर स्वास्थ्य चौकीमा तीन शय्याको क्वारेन्टाइन निर्माण गरेको हो । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकाले कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले १३ शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x