Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनलाई प्रभावकारी बनाउन सशस्त्रको २४ घण्टे गस्ती

लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्रको २४ घण्टे गस्ती


बुटवल,चैत १६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणमा सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सहरी क्षेत्रहरुमा जनचेतना बढी हुने भए पनि ग्रामीण क्षेत्रमा त्यसको अवस्था केही हदसम्म कमजोर देखिँदा ग्रामीण क्षेत्रमा मानिसहरु छिटफुट रुपमा बाहिर निस्किने गरेका दृश्यहरु पनि देख्न सकिन्छ । जनचेतनाको अभावले देखिएका आवजावतका दृश्यलाई पूर्णरुपमा कम गर्न भित्री तथा ग्रामीण क्षेत्रहरुमा अवस्थित सशस्त्र प्रहरी बल नेपालका क्याम्पहरुले प्रभावकारी भूमिका खेलेका छन् । त्यस्तै, लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी सुरक्षा बेस, अमुवा रुपन्देहीले पनि २४ सै घण्टाको गस्ती व्यवस्थालाई तिब्रता दिएको छ । सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिका–१३, १४ नम्बर वडामा कार्यक्षेत्रको जिम्मेवारी पाएको सुरक्षा बेसमा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र पौडेलले कमाण्ड सम्हालेका छन् । अधिकांश आफ्नै नेतृत्वमा गस्ती गर्ने पौडेलले छुट्टाछुट्टै टोली बनाएर गाडी र मोटरसाइकलमा पनि गस्ती गर्ने गरेको बताउँछन् । निरीक्षक पौडेलले भने, ‘अहिले ड्युटी त हामी २४ सै घण्टा गर्ने गरेका छौं । एउटै टोलीले २४ सै घण्टा सम्भव नहुने हुँदा टोली बनाएर क्रमबद्ध रुपमा निरन्तर खटिएका छौं । विशेष गरेर मधेशी समुदाय रहेको बस्तीहरुमा केही चुनौती नभएको होइन । भाषागत समस्याले राम्रोसँग सम्झाउनसक्ने वातावरण नभए पनि जेनतेन बाहिर निस्किनुहुँदैन ।’ भाइरसको संक्रमण हुन सक्ने भनेर कन्भिन्स गरी सम्झाएर ढोकाभित्रै पु¥याएर समेत प्रहरीहरु फर्किने गरेका छन् । मुख्य सडकहरुमा साइकल र मोटरसाइकलमा निस्किएकाहरुलाई फर्काएर घर बस्न आग्रह गरेको र सबैले मानेको पनि उनले जानकारी दिए । लकडाउनको पहिलो र दोस्रो दिन केही समस्या देखिए पनि अहिले लगभग बुझिसकेको अवस्था छ । स्थानीय सरकारमा जिम्मेवार पदका पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु पनि निरन्तर जनचेतना जगाउन खटिएकाले प्रहरीलाई पनि केही सहज भएको उनको भनाइ छ । सियारी गाउँपालिकामा रहेको जनता मावि र शुद्धोधन गाउँपालिकाको ज्ञानोदय दुधनाथ थारु बहुमुखी क्यापसमा बनाइएका दुईवटा क्वारेन्टाइनमा २२ जनालाई राखिएको जानकारी गराउँदै पौडेलले जनता मावि सियारीमा रहेका चार जनालाई कञ्चन गाउँपालिका र चार जनालाई लुम्बिनी क्वारेन्टाइनमा पठाएको बताए । सियारी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक जना पनि नभएको बताउँदै पौडेलले ज्ञानोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा १४ जना रहेको बताए । उनले राज्यले गृहबासको लागि आग्रह गरिरहँदा अटेरी गरी बाहिर निस्किनेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको पनि बढी सक्रियता हुनुपर्ने बताए । ग्रामीण क्षेत्रमा भएका सुरक्षा संयन्त्रहरुलाई सीमित स्रोत र साधनमा खुम्चिनुपर्ने बाध्यतात्मक अवस्थाले तीव्र रुपमा कार्यसम्पादनमा समस्या उत्पन्न हुने गरेको बताउँदै आवश्यक इन्धन, सवारीसाधन, मास्क उपलब्ध गराएर सहजताको वातावरण बनाउनुपर्ने बताए । पौडेलले समस्याको विकराल परिस्थितिमा राज्यद्वारा गरिएका निर्देशनहरुको पालना गर्नु जीवनरक्षाको प्रमुख आधार भएकोले लकडाउन अवधिभर सचेत भई घरभित्रै बस्न आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x