Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतातोपानी नाका सञ्चालनमा  भारतीय सीमामा प्रत्येक दुई किमिमा सशस्त्रको पोष्ट स्थापना

तातोपानी नाका सञ्चालनमा  भारतीय सीमामा प्रत्येक दुई किमिमा सशस्त्रको पोष्ट स्थापना


काठमाण्डौं,चैत २७
बन्द रहेको तातोपानी नाकाबाट सामान नेपाल भित्रिन थालेको छ । नेपाल सरकारले तातोपानी र रसुवागढी नाका सञ्चालन गर्ने भने पनि सञ्चालन हुनसकेको थिएन । तर, चीनको केन्द्र सरकारले निर्देशन दिएपछि तातोपानी नाका खुलेको हो । नाका खुलेपछि पहिलो खेपमा कोरोना रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी औषधि नेपाल भित्रिएको छ । रसुवागढी नाका पनि खोल्नका लागि नेपाल सरकारले चीनको केन्द्र सरकारसँग कूटनीतिक पहल जारी राखेको छ ।

यसैबीच, राससका अनुसार खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्नसक्ने सम्भावित गोरेटो बाटोलाई समेत ध्यानमा राखेर सशस्त्र प्रहरी बलको थप टोली खटाइएको जानकारी दिएका छन् । प्रारम्भिक चरणमा दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीका मात्रै दुई हजार दुई सय ७० जनाको थप फोर्स थपिएको छ । यसअघि तीन हजार सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएका थिए । पहिले करिब १६ देखि १७ किलोमिटर दूरीमा रहेको सीमा निगरानी चौकी (बीओपी) रहेकामा थप फोर्स परिचालन गरेसँगै बढीमा हरेक दुई किलोमिटरको दूरीमा चौकी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले जानकारी दिए ।

फोर्स थपिएसँगै अहिले भारतीय सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायीसहित सुरक्षा निगरानीचौकी ९ सय १ पुगेको छ । जोखिमलाई मध्यनगर गरी पहिले रहेको १ सय २० स्थायी निगरानी चौकीसँग समन्वय गर्ने गरी थप टोली खटाइसकेको र मङ्गलबारदेखि काम थालिसकेको श्रेष्ठले जानकारी दिए । यसले अन्य सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेको छ । ‘सशस्त्रको फोर्सले मङ्गलबारदेखि काम थालिसक्यो, कतिपय ठाउँमा स्थानीय तहसँग समन्वय गरेर चौकीका लागि आवश्यक सामग्री जुटाइएको र कतिपय आफ्नै टेन्टमा राखिएको छ’, श्रेष्ठले भने । उनका अनुसार अब कोही मानिस सीमाको मुख्य विन्दुबाट मात्रै होइन साना–साना गोरेटा र अन्य खुला क्षेत्रबाट समेत आवतजावत गर्न सक्नेछैनन् ।

केही जङ्गल क्षेत्रमा आँखा छल्न खोजे पनि आवश्यक गौँडामा प्रहरी चौबीसै घण्टा परिचालन हुने भएकाले त्यो सम्भावना छैन । फोर्स थपिएसँगै सीमा क्षेत्रमा सशस्त्रका मात्रै पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबै बाहिनीपतिलाई श्रव्यदृश्य (भिडियो) सम्मेलनमार्फत सीमाको सुरक्षा चुस्त पार्न निर्देशनसमेत दिएका छन् । गृहमन्त्री थापाका अनुसार दक्षिणी नाकाको सुरक्षालाई ध्यानमा राखेर सीमा सुरक्षालाई अझ बढी कडाइ गर्न सशस्त्र प्रहरीले सुरक्षाको जिम्मा दिइएको छ । सबै निकाय गरेर सीमा क्षेत्रमा ११ हजार सुरक्षा फोर्स खटाएको र अझै तीन÷चार हजार फोर्स थप्ने क्रममा सरकार रहेको छ ।

सरकारले दक्षिणी सीमा क्षेत्रबाट रोगको सङ्क्रमणको जोखिम देखिएकाले अन्य आवश्यक तयारी थालेको छ । सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले पनि आवश्यक कदम उठाउन थालेको छ । सातवटै प्रदेशमा डेडिकेट अस्पताल स्थापना गर्ने प्रक्रियासमेत अगाडि बढेको गृहमन्त्री थापाले बताए । मुलुकमा कोभिड–१९ को जोखिम बढेकाले यही चैत ११ गतेदेखि सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्किन आदेश जारी गरेको थियो । उक्त आदेश तेस्रो हप्तामा चलिरहेको छ । अझै केही हप्ता सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको सरकारले जनाइसकेको छ ।

अहिलेको समयमा घरमै बस्ने, मास्क लगाउने, साबुन पानीले हात धुने, भिडभाडमा नजाने, हात नमिलाउने, सामाजिक दुरी कायम गर्नेजस्ता क्रियाकलाप गरे कोभिड–१९ बाट बच्न सकिने चिकित्सकले बताएका छन् । पहिलो पटक चीनमा देखिएको यसलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको रूपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ््यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

यो नयाँ प्रजातिको भाइरस हो । जुन मानवजातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास समस्या गराउन सक्दछ । दक्षिणी नाकामा सरकारले क्वारेन्टाइन बनाए पनि जथाभावीरूपमा मानिस आवतजावत गर्दा रोग सर्ने सम्भावना भएकाले सरकारले थप कडाइ गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x