Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास

ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास


काठमाडौं,भारतको ओडिशामा भएको घातक र भयानक रेल दुर्घटनामा “नेपाली नागरिक परे-नपरेको हालसम्म जानकारी नआएको” भारतका लागि नेपाली राजदूतले  बताएका छन्।

शुक्रवार साँझ भएको उक्त दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरिसकेका छन् भने ८०० भन्दा बढी घाइते भएको बताइएको छ।

उक्त रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भइसकेको र मर्मत कार्य भइरहेको भारतको रेल मन्त्रालयले जनाएको छ। बीबीसी हिन्दीले जनाए अनुसार दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘पीडादायी’ भनेका छन् र घटनामा दोषी पाइएका मानिसहरूलाई “कडा सजाय” दिइने बताइसकेका छन्।

नेपालीबारे सोधखोज
दिल्लीस्थित नेपाली राजदूत शङ्कर शर्माले बीबीसीसँग कुराकानी गर्दै धेरै जनाको ज्यान जाने गरी दुर्घटना भएपछि आफूले त्यसबारे “सोधखोज गरिरहेको” बताए।

उनले भने, “घटना हुने बित्तिकै हामीले यहाँका निकायहरूसँग समन्वय गरेर जानकारी लिने प्रयास गर्‍यौँ। हालसम्म उक्त घटनामा नेपालीहरू परेको जानकारी पाइएको छैन।”

“हामीले उक्त राज्यस्थित भारतीय प्रहरीहरू र त्यहाँ रहेका नेपाली समुदायका मानिसहरूसँग पनि बुझ्दा नेपाली नागरिक घटनामा परेको थाहा भएको छैन।”

यद्यपि अझै पनि कैयौँ मृतकको पहिचान हुन बाँकी रहेको र ठूलो सङ्ख्यामा घाइतेहरू रहेकाले नेपाली नागरिक उक्त घटनामा परेका छन् कि छैनन् यकिन भइनसेको उनको भनाइ छ।

“थप जानकारी आउने क्रम जारी छ। त्यसैले हामी यहाँका निकायहरूसँग निरन्तर सम्पर्कमा रहेर बुझिरहेका छौँ,” उनले भने। “भारतमा धेरै नेपालीहरू रहेकाले यहाँ प्राकृतिक वा यस्तै दुर्घटना र विपद्‌ आइपर्दा नेपाली नागरिक पर्ने सम्भावना हुने हुँदा हामी सधैँ सतर्क हुने गर्छौँ।”

शर्माले कुनै नेपाली नागरिक उक्त घटनामा वा अप्ठ्यारोमा परेको भए “तत्काल दूतावासलाई जानकारी गराउन” नेपाली समुदायलाई आग्रह गरिएको पनि बताए।

कैयौँ शवको पहिचान हुन बाँकी
उक्त घटनामा मारिएका कैयौँ मानिसको पहिचान हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।मारिएकामध्ये १७० शवलाई उक्त राज्यको भुवनेश्वर सहरमा पुर्‍याइएको छ।

त्यसमा कैयौँ पहिचान नखुलेका शवहरू पनि छन्।

भुवनेश्वरका कलेक्टरले ट्विटरमा उक्त जानकारी दिएका हुन्।उक्त सहरका विभिन्न सरकारी तथा निजी अस्पतालमा शवहरू राखिएका छन्।

भुवनेश्वरका म्युनिसिपल कमिशनर विजय अमृत कुलाङ्गेले मृतकका परिवारलाई हरेक खाले सहायता गर्ने व्यवस्था गरिएको बताएका छन्।

उनले मृतकका आफन्तलाई शव लानका लागि नि:शुल्क व्यवस्था गरिएको र भुवनेश्वरमै अन्तिम संस्कार गर्न चाहनेका लागि पनि व्यवस्था मिलाइएको बीबीसीलाई जानकारी दिए।

कसरी भयो दुर्घटना?

भारतमा भएको चार दशकयताकै सबैभन्दा घातक रेल दुर्घटनाको कारण अझै स्पष्ट हुन सकिरहेको छैन।ओडिशाको बालासोर जिल्लामा भएको उक्त दुर्घटनामा एकै पटक धेरै वटा रेलहरू जुध्ने अवस्था बनेको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण खालको अनुसन्धान सुरु गरिएको छ।दक्षिण पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकृत केएस आनन्दका अनुसार प्रारम्भिक विवरणहरूले ‘सिग्नल फेल’ भएर दुर्घटना भएको सङ्केत गरेको छ।

दुर्घटनाका क्रममा आपसमा ठोकिएका दुई वटा यात्रुवाहक रेलमा करिब दुई हजार यात्रुहरू रहेको अनुमान गरिएको छ।उक्त दुर्घटना कसरी भयो भन्नेबारे विवादास्पद विवरणहरू आएका छन्।

अधिकारीहरूका अनुसार कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसले शुक्रवार साँझ ७ बजेतिर रोकिएको मालवाहक रेललाई ठक्कर दिएपछि उसका डिब्बाहरू पटरीबाट खसेको बताएका छन्।

तर उक्त रेल कसरी मालवाहक रेलको पटरीमा प्रवेश गर्‍यो भन्ने अस्पष्ट छ।त्यसपछि कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू विपरीततर्फको लिकमा पुगेका थिए।

ती डिब्बाहरू यशवन्तपुरबाट हावडा जाँदै गरेको विपरीत दिशामामा रहेको अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेससँग ठोकिन पुगे।”कोरोमण्डल एक्सप्रेसले मुख्य लाइनमा यात्रा गर्नु पर्ने थियो तर त्यसको साटो ‘लुप लाइन’का लागि सिग्नल दिइएको थियो त्यसले गर्दा रेल त्यहाँ पहिले नै पार्क गरिएको मालवाहक रेलमा ठोक्कियो,” आनन्दले भने।”यसका डिब्बाहरू त्यसपछि दुवै तर्फको लिकमा खसे र हावडा सुपरफास्ट एक्सप्रेस पनि पटरीबाट खस्यो।”(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया