Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्वारेन्टाइनमा बसेकाको ¥यापिड परीक्षण तीव्र

क्वारेन्टाइनमा बसेकाको ¥यापिड परीक्षण तीव्र


चीतवन,वैशाख २
विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाको ¥यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) तीव्र पारिएको छ । जिल्लामा ३० जना सार्वजनिकसहित छ सय २१ जना होम क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विदेशबाट आएर घरको र सार्वजनिक क्वारेन्टाइनमा १४ दिन पूरा गरेकाको परीक्षण सुरु गरिएको हो ।

कालिका नगरपालिकामा रहेका ३९ जनाको परीक्षण सम्पन्न भएको तिवारीले जानकारी दिए । अन्य स्थानीय तहले आइतबार परीक्षण किट बुझेर लगेको र सोमबारदेखि काम सुरु गरेको उनले बताए । हालसम्म सबै स्थानीय तहमा गरिएका परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
परीक्षणका क्रममा नेगेटिभ नभई रियाक्टिभ अर्थात् शरीरमा भाइरस भएको देखिएमा पीसीआर परीक्षण गरिनेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मंलबारसम्ममा सार्वजनिक र घरको क्वारेन्टाइनमा रहेका छ सय २१ जनाको परीक्षण सम्पन्न गर्ने तयारी गरिएको छ । हाल माडी, कालिका र राप्ती नगरपालिकामा सार्वजनिक क्वारेन्टाइनमा ३० जना रहेका छन् । अरु सबै घरको क्वारेन्टाइनमा रहेका छन् । भट्टराईले आरडीटी परीक्षणमा नेगेटिभ देखिएसँगै सबै क्वारेन्टाइनबाट मुक्त हुने जानकारी दिए ।

रत्ननगर र माडी नगरपालिकामा परीक्षणका क्रममा रियाक्टिभ देखिएमा पीसीआरका लागि स्वाब संकलन गर्न आवश्यक सामग्रीसमेत पठाइएको छ । यसैबीच मठ, मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिकस्थलमा अनुगमन तीव्र पारिएको छ । लकडाउनपछि ती स्थलमा बाहिरबाट मानिस आएर बसेको हुनसक्ने भन्दै अनुगमनलाई तीव्रता दिइएको हो । भट्टराईले त्यस्ता स्थलमा समूहमा नबस्न र लकडाउनपछि कोही आएको जानकारी भएमा तत्काल स्थानीय प्रशासनलाई खबर गरिदिन पनि आग्रह गरेका छन् ।

आइतबार दिउँसोबाट २४ घण्टाभित्र धार्मिक संघसंस्थाको अनुगमन गर्न सुरक्षा निकाय परिचालन गरिएको थियो । ती ठाउँमा समूहमा रहेको भेटिएमा सार्वजनिक क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । धार्मिकस्थलमा समूहमा गरिने नियमित पूजा र प्रार्थनालाई हालका लागि रोक्न निर्देशन दिइएको उनले जानकारी दिए । कोरोना अस्पतालको व्यवस्थापन जिम्मा भरतपुर अस्पताललाईकोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको अगुवाइमा यहाँ स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको व्यवस्थापन आजदेखि भरतपुर अस्पतालले हेर्न सुरु गरेको छ । सो अस्पतालमा अन्य स्वास्थ्य संघसंस्थासँग क्षणिक समयका लागि ल्याएका सामानबाहेक सम्पूर्ण सामग्री अब भरतपुर अस्पतालको हुने भएको छ ।

भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सो अस्पतालको व्यवस्थापन हेर्ने सम्बन्धमा सम्झौता भएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालको नाम भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल नै रहनेछ । नामको माथि भरतपुर महानगरपालिकाबाट स्थापित र भरतपुर अस्पतालबाट सञ्चालित लेखिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल संयोजक रहेको भरतपुर कोरोना नियन्त्रण कार्यदलको अगुवाइमा चैत ७ गते अस्पताल सुरु भएको थियो । सो अस्पतालमा हालसम्म कोरोना आशंका गरिएका तीन सय ५५ जनाको उपचार गरिसकिएको छ ।

कार्यदलका सदस्य सचिव एवं भरतपुर अस्पताल विकास समितिका अध्यक्ष अधिकारीका अनुसार एक सय ४३ जनालाई भर्ना गरेर सो अस्पतालले उपचार गरेको छ । जसमध्ये २०२ जनाको स्वाब परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको उनले जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख दाहालले चैत मसान्तसम्मको सम्पूर्ण खर्च महानगरपालिकामार्फत भुक्तानी हुने र अबको व्यवस्थापन भरतपुर अस्पतालले गर्ने बताइन् । तत्काल अस्पताल आवश्यक भएकाले महानगरको अगुवाइ ७२ घण्टाभित्र कोरोना अस्पताल स्थापना गरिएको भन्दै उनले अरु केही समय सञ्चालन गर्नुपर्ने देखिएपछि व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले यसको सम्पूर्ण जिम्मेवारी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको बताइन् ।

भरतपुर अस्पताल विकास समितिका सदस्यसमेत रहेकी दाहालले अबको सञ्चालनका क्रममा कुनै समस्या आइपरेमा महानगरले सहयोग गर्ने बताइन् । कोरोना अस्पतालमा ५० साधारण शैया, १० एचडीयू शैया र १० शैयाको सघन उपचार कक्ष रहेका छन् । भरतपुर अस्पताल छ सय शैयाको संघीय अस्पताल हो । जुन कोरोना अस्पतालनजिकै रहेको छ । भरतपुर अस्पतालले आइसोलेसनमा राख्नुपर्ने बिरामीलाई कोरोना अस्पतालमा राख्ने र जटिल बिरामीलाई भरतपुर अस्पतालमा नै राखेर उपचार गर्ने जनाएको छ । कोरोना रोगको उपचारकै लागि नेपालमा पहिलोपटक भरतपुरमा अस्पताल स्थापना गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x