Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग वाणिज्य संघद्वारा बजार मूल्यभन्दा बढी मूल्य निर्धारण

उद्योग वाणिज्य संघद्वारा बजार मूल्यभन्दा बढी मूल्य निर्धारण


सोलुखुम्वु,वैशाख ४

महेन्द्र शाही
कोरोना संक्रमणको जोखिमका कारण आम नागरिकहरू त्रसित बनिरहेका बेला हालै मात्र सालुखुम्बुको नेचा सल्यान गाउँपालिका उद्योग वाणिज्य संघले एकतर्फी रूपमा सार्वजनिक गरेको मूल्यसूचीप्रति स्थानीय उपभोक्ताले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना भाइरसको जोखिम कम गर्नका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीमा उपभोक्ताको आवश्यकता परिपूर्तिमा जिम्मेवार बन्नुपर्ने संघ आफैं संगठितरूपमा कालोबजारी गर्ने प्रयासमा लागेको स्थानीयले आरोप लगाएका छन ।

हाल नेचा सल्यानमा रहेको स्थानीय बिहीबारे बजारमा दैनिक उपभोग्य वस्तुहरू चिनिप्रति ९०, चिउरा ८०, सोना मन्सुली चामल प्रतिकेजी ४४, रोतो दाल प्रति केजी एक सय ३०, चिउरा ८० र खाने तेल आधा लिटरको ८० रूपैयाँमा कारोबार भइरहेको छ । तर, उद्योग वाणिज्य संघले सार्वजनिक गरेको मूल्यसूचीमा झन्डै ५ देखि एक सय पाँच रूपैयाँसम्म बढी मूल्य निर्धाण गरिएको छ । व्यापारीले आफैँले बढी मूल्य लिएको भए पनि प्रशासन भने मुख दर्शक बनेको स्थानीयको आक्रोश छ । उनीहरूले संघले मूल्यसूची सार्वजनिक गर्ने बहानामा मूल्य वृद्धिको सूची सार्वजनिक गरेको भन्दै त्यसलाई अबिलम्ब सच्याउन मागसमेत गरेका छन् । हुन पनि नेचा सल्यान गाउँपालिकाले राहत सामग्री ढुवानीका लागि गरिएको प्रस्ताव आह्वानमा स्थानीय व्यापारीहरूले हालको बजारमूल्यभन्दा पनि कममा सामान ल्याउने सम्झौता गरेका छन् । तर, उनीहरूले अहिले बेचिरहेको भन्दा पनि मूल्य वृद्धि गरेर एकतर्फी रूपमा मूल्यसूची सार्वजनिक गर्नुलाई स्वभाविक मान्न नसकिने उपभोक्ताको तर्क छ ।

बजार मूल्यभन्दा बढी मूल्यको कायम गर्दा पनि प्रशासन भने मुखदर्शक बनेको स्थानीयको सिताराम भट्टराईको भनाई छ । बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढीको मूल्य निर्धाण गर्नु आफैँमा अच्चमको कुरा भएको उनको भनाइ छ । बजारमा पहिले नै बिक्री भएको मूल्यभन्दा बढीको मूल्य निर्धारण गरेर समयोज गरेको भन्नु गलत भएको उनको भनाइ छ । जनप्रतिधिले पनि अनुगमन नगर्ने तथा उद्योग वाणिज्य संघले पनि उपभोक्तालाई मारमा पर्ने निर्णयले सबैको मिलेमतो भएको हुन सक्ने अर्का स्थानीय ओमप्रसाद कट्टलको भनाइ छ । जताबाट पनि आपूmहरू मारमा परेको उनले बताए । स्थानीय तहमा लाग्ने हाटबजार तथा खाद्य तथा अखाद्य वस्तुको अनुगमन गर्ने अधिकार स्थानीय तहमा रहेको र बजार अनुगमन समितिको संयोजक स्थानीय तहको उपाध्यक्ष रहने व्यवस्थाअनुसार नेचा सल्यान गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरिएको छ ।

समितिमा स्थानीय प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उधोग बाणिज्य संघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको बजार अनुगमण समितिले नेचासल्यानका विभिन्न पसलहरूको विगत १० महिना यता एक पटक पनि अनुगमन गरेको छैन । यसको फाइदा उठाउँदै व्यापारीहरूले अहिले बजारमा विषादी, मादक पदार्थ, सुर्तिजन्य पदार्थ र दैनिक उपभोग्य खाद्य सामग्री एउटै पसलबाट बिक्री वितरण गरिरहेका छन् । बजारमा बढ्दो बेथिति र अस्वाभाविक मूल्यसूची सार्वजनिक हुँदासमेत स्थानीय प्रहरी प्रशासन र जनप्रतिनिधिहरूले रहस्यमय मौनता साँधिरहेका छन् । पटक–पटक उपभोक्ताबाट बजार अनुगमनको माग गरिएको भए पनि संयोजकले बैठक नबोलाउनु आश्चर्यजनक भएको आम उपभोक्ताको गुनासो छ ।

दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुनुपर्ने कुनै कारण देखिँदैन, न त ढुवानी भाडामा वृद्धि भएको छ न त बाहिरबाट आयात गरिएका सामानको मूल्य वृद्धि नै भएको छ । बजारमा कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि भइरहँदा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । यता उद्योग वाणिज्य संघ नेचा सल्यानका अध्यक्ष हेम भट्टराईले समयअनुसार हेरफेर गर्न सकिने बताए । अहिले मूल्य पनि समायोज गर्न सकिने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया