Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली अस्पतालको सेकेण्डहेण्ड उपकरणका सबै कागजपत्र अख्तियारको कब्जामा

महाकाली अस्पतालको सेकेण्डहेण्ड उपकरणका सबै कागजपत्र अख्तियारको कब्जामा


कञ्चनपुर,बैशाख ७
महाकाली अस्पतालमा खरिद गरिएको भेन्टिलेटर मेसिन सेकेण्डहेण्ड रहेको र सामान खरिदमा अनियमितता भएको गुनासो आएपछि अख्तियार दुरूपयार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरले भेन्टिलेटर खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटर लगायतका उपकरण खरिदमा अनियमितता भएको निवेदन परेपछि महाकाली अस्पतालको भेन्टिलेटर खरिद प्रक्रियाका सबै कागजपत्र र टेण्डर प्रक्रियाका कागजात नियन्त्रणमा लिइएको जनाएको छ । अख्तियार कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तथा उपसचिव टोपबहादुर विष्टले उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि कागजपत्र नियन्त्रणमा लिएको जानकारी दिए । लकडाउन पछि अनुसन्धानको कार्य शुरु गरिने विष्टले बताए । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट महाकाली अस्पतालले खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको भनी विज्ञप्ति प्रकाशन गरेपछि खरिद प्रक्रियामा अनियमितताको आशंका गरिएको थियो ।

महाकाली अस्पतालले चैत १६ गते बोलपत्र आह्वान गरेको भए पनि बोलपत्र स्वीकृतिको प्रक्रिया अस्पताल खरिद एकाइ तथा मूल्याङ्कन समितिको हुने हुँदा बोलपत्रसम्बन्धी व्यवस्थापन समितिलाई जानकारी नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । बोलपत्र प्रक्रियामार्फत चैत २९ गते महाकाली अस्पताललाई प्राप्त भएको भेन्टिलेटर सन् २०१५ को मोडलको सामग्री रहेको छ । भेन्टिलेटरसहितका उपकरण तथा सामग्री आपूर्तिकर्ता कम्पनी आरजे सप्लायर्सले ठेक्का सम्झौताअनुसार ५३ लाखमा उपलब्ध गराएको हो । पुरानो मोडलका प्रयोग भइसकेका भेन्टिलेटरसहितका उपकरण अस्पतालमा पुगेपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले निरीक्षण गर्दै अस्पतालका लागि ल्याइएका उपकरण पुराना रहेको ठहर गरेको थियो ।

मन्त्रालयका बायोमेडिकल इञ्जिनियर हरेन्द्र चटौतको नेतृत्वमा आएको प्राविधिक टोलीले भेन्टिलेटर सन् २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्वीलसम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रेतिरको भागमा ७–८ सेन्टिमिटर कालो दाग, एक घण्टा व्याकअप दिने व्याट्री नभएको औँल्याएको थियो । यसैगरी, कम्पनीले उपलब्ध गराएको डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयरअनुरूप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घण्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसनअनुरूप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको बताएको छ । अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सञ्चालनका लागि खरिद गरेका स्वास्थ्य उपकरणहरूबारे जनगुनासो बढेपछि अख्तियारले स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया