Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’ प्रभाव : तरकारी नबिक्दा किसान मारमा

‘लकडाउन’ प्रभाव : तरकारी नबिक्दा किसान मारमा


बाजुरा,बैशाख ८
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरू मारमा परेका छन् । किसानहरूले उत्पादन गरेको तरकारीहरू बजारमा बिक्री गर्न नपाउँदा बारीमा नै कुहिएर जाने गरेको छ ।

सबैतिरका बजार बन्द, आवतजावत तथा तरकारी ढुवानीको समस्या भएपछि तरकारी बारीमै कुहिन थालेको कृषकहरूले दुखेसो गरेका छन् । किसानहरूले बिक्रीका लागि तयार भएको बन्दा फर्सीलगायतका तरकारी यतिबेला बजारमा ढुवानी गर्न सकिरहेका छैनन् ।

व्यावसायिक तरकारी खेती गर्दै आइरहेका किसानहरूले लकडाउनका कारण करोडौंको तरकारी बारीमा सडने बताएका छन् । ग्रामीण क्षेत्रका किसान निकै मारमा परेको भए पनि कालोपत्रे सडक भएको ठाउँका किसानहरूको तरकारी भने कृषि ज्ञान केन्द्र बाजुराले किसानको घरमा नै पुगेर संकलन गर्न सुरु गरेको छ । लकडाउनले बारीमा नै तरकारी कुहिन लागेको किसानहरूको गुनासो आएपछि घरमा नै पुगेर तरकारी संकलन गर्न सुरु गरेको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराले एक दिन फरक पारेर किसानका घरमै गएर तरकारी उठाउने गरेको छ । केन्द्रले किसानबाट संकलन गरेको तरकारी सदरमुकामलगायत बाक्लो बस्ती भएका बजारमा वितरण गर्दै जनाएको छ ।

संकलन केन्द्रमा ठूला ट्रकहरू लिएर नियमित तरकारी लिन आउने व्यापारीहरू लकडाउनमा परेका र किसानहरूले भएको तरकारी पनी बिक्री गर्न नपाउने भएपछि सडकको छेउछाउमा रहेका कृषकहरूको तरकारी बजारसम्म पु¥याउन केही मदत गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताए ।

ज्ञानकेन्द्रले तरकारी संकलन गर्न थालेपछि कृषकहरूलाई केही राहत मिलेको बुढीगंगा नगरपालिका २ ताप्रिसेराका तरकारी कृषक कृष्णबहादुर थापाले बताए । कृषि ज्ञान केन्द्रले आफ्नै गाडी ल्याएर तरकारी बजारसम्म नलगिदिएको भए लाखौँको घाटा बेहोर्नु पर्ने अवस्था आएको अर्का कृषक महेन्द्र धामीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया