Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबजार बन्द भएपछि कुखुरा व्यवसायी समस्यामा

बजार बन्द भएपछि कुखुरा व्यवसायी समस्यामा


भोजपुर, वैशाख १९
कोराना भाइरसका कारण सरकारले आह्वान गरेको लकडाउनले बजार बन्द भएपछि भोजपुरका पोल्ट्री फार्म व्यवसायी मर्कामा परेका छन् । उत्पादित कुखुरा तथा अण्डाको बजारीकरणमा समस्या हुनुका साथै कुखुरालाई खुवाउने दाना ल्याउन नपाउँदा व्यवसाय धराशायी बनेको व्यवसायीले गुनासो गरेका छन् ।

लकडाउनले बिक्री ठप्प हुँदा दैनिक ५० हजार रुपैयाँभन्दा बढीको घाटा भइरहेको रिदम पोल्ट्री फार्मका सञ्चालक अनिल बस्नेतले बताए । उनले भने, ‘यो समयमा व्यवसायमा निकै ठूलो धक्का लागेको छ, लकडाउनका कारण कुखुरा बिक्री भएको छैन । कुखुरालाई खुवाउन दाना ल्याउन नसक्दा बचाउन गाह्रो छ । कुखुराले कुखरालाई जिउँदै खान थालेका छन् ।’

करिब ३० लाख रुपैयाँ लगानीमा अरुण गाउँपालिकाको सिक्रेटार र पालपालेमा रहेको बस्नेतको फार्ममा अहिले छ हजारको हाराहारीमा कुखुरा छन् । कुखुरालाई खुवाउने दाना अभावमा दैनिक २०÷२५ वटाको हाराहारीमा कुखुरा मर्ने गरेको बस्नेतको भनाइ छ । ‘कुखरा बिक्री नभएपछि पैसा अभावमा कामदारलाई समेत तलब दिनसकेको छैन । दैनिक कुखुरा मरिरहेका छन् । व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था छ’, बस्नेतले भने ।

बस्नेतको फार्ममा स्थापनाकालबाट नै चार जनाले रोजगारी पाएका छन् । दाना अभावमा बिक्री लागि तयार भएका कुखुरा भटाभट मर्न थालेपछि उनीहरुको समेत रोजगारी गुम्ने अवस्था छ । कुखुराले बजार नपाएपछि रोजगार गुम्नेमा कामदार पनि चिन्तामा परेका छन् । फार्मका कामदार कुमार राईले भने, ‘रोजगारी पाइएको छ तर केही समयअघिबाट नियमित तलब नपाउन सकिरहेका छैनौं, बिक्री छैन, दाना अभावमा धेरै कुखुरा आफैं टोकाटोक गरेर मरिरहेका छन्, जसकारण हाम्रो रोजगारी नै गुम्मे अवस्था छ ।’ कुखुरापालक कृषकको समस्या समाधानमा पहल गर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

दाना खरिद तथा कुखुरा बिक्रीका लागि सवारी पास उपलब्ध गराइरहेको र यसको व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरेर समाधान गरिने प्रशासनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भने, ‘हामीले उहाँहरुजस्ता व्यवसायीलाई सहज वातावरण बनाइरहेका छौँ । खासमा उहाँको फार्ममा उत्पादन भएका कुखुरा बिक्री नहुँदा पैसा अभावले दाना ल्याउन नसक्नु भएजस्तो लाग्छ । बिक्रीका लागि सहजीकरण भूमिका खेल्छौँ ।’

कखुरा सामान्यतया ४० देखि ४५ दिनमा बिक्रीका लागि तयार हुने भए पनि फार्ममा तीन महिना बढी समयबाट कुखुरा पाल्नुपरेको बस्नेतले बताए । ‘बिक्रीका लागि ठिक्क समय हुने अवस्थामा लकडाउन सुरु भयो । अहिले फार्ममा तीन महिना बढी समयका कुखुरासमेत छन् । जति धेरै लामो समय भयो, त्यति नै मात्रामा दाना बढी खान्छन् । त्यही भएर बचाउन समस्या छ ।’ भोजपुर जिल्लाभर एक दर्जनको हाराहारीमा पोल्ट्री फार्म सञ्चालनमा छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x