Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनमैत्री क्याम्पसले यूजीसीबाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त

जनमैत्री क्याम्पसले यूजीसीबाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त


काठमाडौं, पुस १०
जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटी असुरेन्स एण्ड एक्रेडिटेसन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ ।

काठमाडौं उपत्यकामा क्यूएए प्रमाणपत्र पाउने पहिलो उच्च शैक्षिक संस्थाहरुमध्ये जनमैत्री एक हो । २०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिँदै आएको जनाएको छ । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययन अध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाइ स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको दाबी गरेको छ । विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले २०७३ सालमा जनमैत्री बहुमुखी क्याम्पसको प्रिभिजिट गरेर सुधार गर्नुपर्ने केही कामहरु औंल्याएको थियो । तीमध्ये भवन तथा अन्य पूर्वाधार निर्माणको कार्य प्रमुख थियो ।

२०७२ सालको विनाशकारी भूकम्पमा आफ्ना सबै भवन र कक्षाकोठा गुमाएकाले क्याम्पसका लागि पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण थियो । जसले क्यूएए पाउने सपनालाई केही वर्ष पछि धकेलेको थियो । तर, निरन्तर प्रयासले क्याम्पसले आवश्यक लगभग सबै पूर्वाधारहरु निर्माण सम्पन्न गरेको क्याम्पसले जनाएको छ । आवश्यक पूर्वाधार निर्माण कार्यले गति लिएपछि २०७५ मंसिरमा प्रा.डा. प्रेमराज पन्त नेतृत्वको युजीसीको अनौपचारिक निरीक्षण कमिटीले क्याम्पसको स्थलगत अनुगमन गरेको थियो । युजीसीका प्रतिनिधिसमेत सम्मिलित सो कमिटिले दिएको सुझावका आधारमा क्याम्पसले पूर्वाधार निर्माण सम्पन्न गरेको छ । क्यूएए प्राप्त गरेपछि जनमैत्री बहुमुखी क्याम्पसलाई जिम्मेवारी र चुनौती दुवै थपिएको बताएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया