Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसंसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?

संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?


काठमाडौं,प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई साताको बीचमा तीन सांसदका अभिव्यक्ति प्रतिनिधिसभाको “रेकर्डबाट हटाउन” निर्देशन दिइसकेका छन्।

संसदीय मामिलाका जानकारहरूका अनुसार प्रधानमन्त्री, मन्त्री वा सांसदहरूको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइने घटना संसदीय अभ्यासमा निकै कम हुने गर्छ।

तर जेठ १० गतेयता सांसदहरू शिशिर खनाल, लेखनाथ दाहाल र सुनिल शर्माले संसद्‌मा बोलेका केही शब्दहरू संसदीय अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिइसकेका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति “संसदीय मर्यादामा आँच पुग्ने किसिमको ठहर भए” सभामुखले त्यस्तो शब्द हटाउन निर्देशन दिन्छन्।
“संसदीय मर्यादामा आँच पुर्‍याउने, अरूलाई होच्याउने, सामाजिक रूपमा अपाच्य, सन्दर्भअनुसार दोहोरो र नीच अर्थ दिने अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाइन्छ,” गिरीले भने।

कस्तो अवस्थामा रेकर्डबाट हटाइन्छ?
साधारणतया कुनै सांसदले सदनमा बोलेको शब्द वा भनाइ “असंसदीय” लागे अरू सांसदहरूले त्यसबारे सभामुखलाई जानकारी गराउने र अभिलेखबाट हटाउन माग गर्ने प्रचलन रहेको संसद् सचिवालयका एक पूर्वसचिव मुकुन्द शर्माले बताए।

“कसैले रेकर्डबाट हटाउने माग गरे सभामुखले हटाउनुहुन्छ। हटाउँदाखेरि कुन शब्द वा वाक्य हटाइयो भन्ने स्पष्ट रूपमा सदनलाई जानकारी दिनुपर्छ,” शर्मा भन्छन्।

“हटाउने नहटाउने सभामुखको विशेषाधिकार हो। तर सभामुखले गरेको निर्णय सदनले थाहा पाउनुपर्‍यो। किन भने असंसदीय शब्द के हो भन्ने सदन र सर्वसाधारणलाई जानकारी हुनुपर्‍यो।”

प्रतिनिधिसभा नियमावलीले संसद्‌मा बोल्ने क्रममा सांसदहरूले पालना गर्नुपर्ने नियमहरूबारे उल्लेख गरेको छ।जसमा “सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावको छलफलमा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, संविधानले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने” विषयहरू समेटिएका छन्।

सांसदहरू आफैँले बनाएको नियमावलीमा “अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने” भनिएको छ।

संसदीय अभ्यासबाट शब्दहरू हट्ने क्रम बढ्दै जानुमा संसदीय मर्यादा र नियमबारे संसद् सचिवालय र दलहरूले सांसदहरूलाई प्रशिक्षण नदिनु पनि प्रमुख कारण रहेको पूर्वसचिव शर्मा बताउँछन्।

कसरी हटाइन्छ ‘असंसदीय शब्द’
संसद्को बैठकमा बोलिएका कुराहरूको अभिलेख राख्ने संसद् सचिवालयको सम्पूर्ण विवरण शाखामा छ वर्ष काम गरेका रामप्रसाद गैरेका अनुसार सदनमा सांसदहरूका अभिव्यक्तिको अडिओ र भिडिओ रेकर्डसँगै शब्द उतारेर ‘भर्ब्रेटिम’ अर्थात् ‘अक्षरशः’ अभिलेख पनि राखिन्छ।

“कम्प्युटर अडिओ, भिडिओ रेकर्डबाट पनि त्यस्ता शब्द वा अभिव्यक्ति हटाइन्छ र त्यसलाई अक्षरमा पनि उतारिँदैन,” गैरेले भने।

उनका अनुसार कतिपय अभिव्यक्ति इतिहासमा राख्न आवश्यक ठानिएको अवस्थामा के हटाउन भनिएको शब्द समेत तोकेर हटाइएको उल्लेख गरिन्छ।

केपी ओलीको त्यो नहटेको अभिव्यक्ति
चार वर्षअघि तात्कालिक प्रधानमन्त्री केपी ओलीले सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर दिने क्रममा “आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको” जबाफ आफूले नदिने बताएपछि आफ्नो प्रश्नलाई होच्याइएको भन्दै प्रतिपक्षी सांसदहरूले चर्को विरोध गरे।

प्रतिपक्षीको निरन्तरको विरोधपश्चात् तीन दिनपछि तात्कालिक सभामुख कृष्णबहादुर महराले ओलीका “संसदीय मर्यादाअनुकूल नरहेका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन” दिए पनि शब्द तोकेर उल्लेख गरेनन्।
संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार ओलीको उक्त अभिव्यक्ति अभिलेखमा राखेर त्यसको ‘फुटनोट’मा सभामुखबाट हटाउन आदेश भएको उल्लेख गरिएको छ।

“हटाउन भनिए पनि कुन शब्दलाई असंसदीय भनेर द्विविधा उत्पन्न भयो। त्यस कारण अभिलेख राख्ने क्रममा त्यो अभिव्यक्तिलाई चिह्न लगाएर अन्तिममा व्याख्या गरिएको छ,” उनले भने।

संसद्को अभिलेखबाट हटाउन भनिएका तीन अभिव्यक्ति

प्रचण्डले भारतबाट भैँसी ल्याएको प्रसङ्गबारे गरिएको कटाक्ष

आफ्नो हालैको भारत भ्रमणबारे प्रधानमन्त्रीले सोमवार सदनमा जानकारी गराएका थिए।प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १५ वटा मुर्रा जातका उन्नत राँगा नेपाललाई दिने सहमति भएको थियो।

प्रधानमन्त्रीको भ्रमणबाट ठूला उपलब्धि नभएको र उनी “भैँसी चढेर आएको” भन्दै कतिपयले उनीप्रति व्यङ्ग्य गरेका थिए।प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि भैँसीको प्रसङ्ग व्यक्त गरे।

“हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खरै आफैँले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवश भैँसी चढेर आएको कुराहरू आए,” खनालले भने।
त्यसअघि आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्रीले यस विषयमा गुनासो पनि गरेका थिए।“भैँसीको कुरा अहिले भएको कुरा होइन। सात वर्षअघि नै मुर्रा भैँसी ल्याउनेबारे समझदारी भएको रहेछ। आएको मात्रै अहिले हो,” प्रधानमन्त्रीले भने।

“मान्छेले मलाई चाहिँ भैँसी चढाएर हिँडाएका छन्।”

तर विपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई गरेको व्यङ्ग्यप्रति नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आपत्ति जनाए। सत्तापक्षका सांसदहरूसँगै प्रतिपक्षका सांसदहरू पनि आफ्नो सीटबाट उठेपछि संसद्‌मा एकछिन चर्काचर्की नै भयो।

“भैँसी चढेर आउनुभएको भन्ने शब्द रेकर्डबाट हटाउन म सचिवालयलाई निर्देशन दिन्छु,” पाण्डेसहित सत्तापक्षका सांसदहरूको अडान पछि सभामुखले निर्देशन दिए।

सभामुखको निर्देशनप्रति आक्रोशित देखिएका विपक्षी दलका सांसदहरूले होहल्ला र विरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्री आफैँले पनि आफूलाई “भैँसी चढाएको” भनेका कारण उनको सम्बोधनमा भएको शब्द पनि हटाउन माग गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले व्यङ्ग्य पचाउन नसकेको आरोप लगाए।“स्वयं प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर भन्दा केही नहुने। दृष्टान्तस्वरूप हाम्रा माननीय भन्दा हटाउने हो भने ठिक छ हटाऊँ,” उनले भने

“यो हटाउने हो भने स्वयं प्रधानमन्त्री आफैँले भनिसकेपछि भनिएको हुनाले प्रधानमन्त्रीले भनेको त्यो शब्द पनि हटाऔैँ, हामीलाई कुनै आपत्ति छैन।”

सभामुखले प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द “संसद्को अभिलेखमा राख्न उचित नदेखिएका कारण” रेकर्डबाट हटाउन उपयुक्त हुने स्पष्ट पारे।

प्रतिपक्षी सांसदहरूको माग पछि सभामुखले “जसले बोलेको भए पनि भैँसी चढेर आएको भन्ने शब्दहरू रेकर्डबाट हटाउन” अर्को निर्देशन दिए।

पशुपतिनाथको जलहरीको विषयमा ओली सरकारलाई आक्षेप

यसअघि जेठ १० गते नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पूर्वप्रधानमन्त्री केपी ओलीलाई इङ्गित गर्दै लगाएको भ्रष्टाचारको आरोप संसद्‌को रेकर्डबाट हटाइएको थियो।

उनले ओली नेतृत्वको सरकार धेरै भ्रष्टाचार प्रकरणहरू आएको उल्लेख गर्दै, “स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्ट्राचार, पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाएर गरिएका भ्रष्टाचारहरू” भनेका थिए।
दाहालको अभिव्यक्तिमा एमाले सांसदहरूले आपत्ति जनाएपछि सभामुखले शब्द तोकेर उनका अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन निर्देशन दिए।

पछि प्रधानमन्त्रीले पनि त्यस विषयमा स्पष्टीकरण दिनुपरेको थियो।प्रमुख प्रतिपक्षी दलका नेतालाई पशुपति क्षेत्र विकास कोषले गरेको काममा जोड्नु उचित नभएको प्रधानमन्त्री प्रचण्डले सदनमा बताएका थिए।

उपसभामुखलाई दलसँग जोडेर सोधिएको प्रश्न

जेठ १० मै नेपाली कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्ति पनि सदनको अभिलेखबाट हटाउन निर्देशन दिइयो।शर्माले जेठ ९ गते बोल्ने क्रममा सभामुखको आसनमा बसेर बैठक चलाइरहेकी उपसभामुख इन्दिरा रानालाई उनको दलसँग जोडेर प्रश्न गरेका थिए।

“तपाईँकै साथीहरू कहाँ हुनुहुन्छ अहिले? तलब भत्ता खाने अनि बैठकमा नबस्ने?” राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सदनमा अनुपस्थित भएको भन्दै शर्माले रानालाई भनेका थिए।

भोलिपल्ट रास्वपाका सांसद हरि ढकालले शर्माको अभिव्यक्तिले उपसभामुखलाई आक्षेप लगाएको भन्दै अभिलेखबाट हटाउन माग गरे।

ढकालको मागपछि शर्माको अभिव्यक्ति अभिलेखबाट हटाउन निर्देशन दिइएको थियो। (बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया