Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाकञ्चन गाउँपालिका संघबाट आउने अनुदानमा निर्भर

कञ्चन गाउँपालिका संघबाट आउने अनुदानमा निर्भर


बुटवल । कञ्चन गाउँपालिका रुपन्देही संघ सरकारबाट आउने अनुदानमा नै निर्भर रहेको पाइएको छ । पालिकाले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक प्रगति प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।

गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले चालू आर्थिक वर्षको पहिलो छ महिनासम्म गाउँपालिका संघबाट आउने अनुदानमा नै निर्भर रहेको बताए । पालिकाको स्थानीय आम्दानीको स्रोत नभएपछि संघ र प्रदेशको अनुदानमा नै निर्भर हुनु परेको गौतमले बताए । उनका अनुसार समानीकरण अनुदान, सर्शत अनुदान चालू, सशर्त अनुदान पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान गरी प्रस्तावित पुँजीगत आय कुल ३४ करोड ५३ लाख रुपैयाँ रहेकोमा हालसम्म २० करोड दुई लाख ९१ हजार रुपैयाँ मात्रै पालिकामा प्राप्त भएको छ । यस्तै, प्रदेश सरकारको तर्फबाट १० करोड ३२ लाख ९० हजार रुपैयाँमध्ये ७९ लाख ३५ हजार नौ सय २० रुपैयाँ मात्रै प्राप्त भएको उनले जानकारी दिए । यस्तै, उनले राजस्व बाँडफाँटअन्तर्गत आठ करोड ६९ लाख ३५ हजार रुपैयाँ संघीय सरकारबाट आउनुपर्नेमा तीन करोड ३१ लाख ४० हजार रुपैयाँ मात्रै प्राप्त भएको छ भने प्रदेश सरकारबाट १६ लाख ४६ हजार तीन सय ३२ रुपैयाँ प्राप्त भएको छ ।

संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुनुपर्ने रकम अपेक्षितरूपमा उठ्न नसकेको उनले बताए । पूरै प्राप्त हुने अवस्था पनि अति न्यून रहेकाले चालू आवमा करिब दुई करोड रुपैयाँ बराबरका योजनाहरू अलपत्र पर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए । यस्तै, मालपोत राजिस्ट्रेसन अन्तर्गत ७९ लाख ३५ हजार नौ सय २० रुपैयाँ राजस्व संकलन भएको छ । चालू आवमा पालिका र वडा कार्यालयहरूबाट कुल एक करोड १९ लाख १२ हजार तीन सय ५० रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । यस्तै, उनले गाउँपालिका तथा वडा कार्यालयमा दरबन्दी संख्या ७० जनाको भए पनि आठ जनाको पदपूर्ति हुन बाँकी रहेको जानकारी दिए । यस्तै स्वास्थ्य चौकीमा १४ जनामा सबै दरबन्दी पूरा रहेको र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नौ दरबन्दीमा दुई जनाको पदपूर्ति हुन बाँकी रहेको बताए । यस्तै, आयुर्वेदमा चार जनामा चारवटै दरबन्दी खाली रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गौतमले चालू आवमा घुम्ती शिविरमार्फत योजना तथा कार्यक्रम सम्झौता, विभिन्न प्रकारका कृषिजन्य बीउविजन, विषादी, यान्त्रीकरण सामग्री वितरण, अनुदानमा दोहोरोपना हटाउन कार्यविधि निर्माण र अनुगमनलगायतका कार्य गरिएको बताए । यस्तै, शीत भण्डारण निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । यस्तै, उनले हरेक वडा कार्यालयमै प्राविधिक जनशक्तिको व्यवस्था, पूर्वाधार ल्याब सामग्री खरिद, सडक गुरुयोजना कार्यान्वयन, संघ र प्रादेशिक योजनाका लागि आवश्यक समन्वय, चालू खर्चमा नियन्त्रण, सार्वजनिक खरिदमा प्रतिस्पर्धा र पारदर्शिता, बेरुजु न्यूनीकरणका लागि अभियान सञ्चालनलगायतका कार्य सञ्चालन गरिएको बताए । यस्तै, उनले आगामी दिनमा राजस्व संकलनमा वृद्धि, टुक्रे योजनाहरूलाई निरुत्साहित गर्ने जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया