Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारललितपुरका घर–घरमा नगर प्रहरी सेवा

ललितपुरका घर–घरमा नगर प्रहरी सेवा


ललितपुर । ललितपुर महानगरपालिकाले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाई गरी सोअनुसारको सेवा प्रवाह गर्नका लागि नगर प्रहरी परिचालन कार्यक्रम सुरु गरेको छ ।

‘सुन्दर ललितपुर नगरी, घर–घरमा नगर प्रहरी’ भन्ने मूल नाराको साथ ललितपुरमा आयोजित एक कार्यक्रमका बीच महानगरले घर–घरमा नगर प्रहरी कार्यक्रम सुरु गरेको हो । ललितपुरले सुरु गरेको यो अभियान देशकै नयाँ नौलो भएको महानगर प्रमुख चिरीबाबु महर्जनले दाबी गरे । यस अभियानले बहुआयामिक महत्व कायम गर्ने उनको भनाइ छ । दैनिक ५० जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले जानकारी दिए । अभियानमा भएका राम्रा नराम्रा अनुभव, गतिविधि तथा सुधार गर्नुपर्ने पक्षलाई समेटेर नगर प्रहरी प्रमुखले प्रत्येक हप्ताको जानकारी महानगर प्रमुखलाई गराउने व्यवस्थापन भएको उनले बताए । यो अभियानमा नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग सहकार्य गरिने जानकारी गराउँदै प्रहरी प्रमुख हाछेथुले नगर प्रहरीको कामबाट विगतमा नगरवासीबाट आउने गुनासोमा ७० प्रतिशत कम भएको बताए ।

त्यस्तै, महानगर प्रमुख महर्जनले नगर प्रहरीकै सक्रियतामा सडकको सरसफाइ र वृक्षारोपण गरिएका बोटबिरुवाको संरक्षण र त्यसमा नियमित पानी दिएर सहरलाई सुन्दर बनाउन काम गर्दै आएको जानकारी दिए । वृक्षारोपण गरिएका बोटबिरुवा संरक्षणका लागि प्रोत्साहन र दण्ड र जरिवानाको नीतिलाई पनि महानगरले अवलम्बन गर्दै आएको उनले बताए । विगतमा बोटबिरुवा मास्ने एक जनालाई एक लाख र अर्कालाई १५ हजार रुपैयाँ जरिवाना गरिएको समेत उनले जानकारी गराए । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले यस अभियानले महानगरबाट प्रवाह हुने सेवा थप प्रभावकारी हुने भन्दै नागरिकको अपेक्षा सम्बोधन गर्न सम्भव हुने बताए ।

महानगरका नीति, नियम, कर व्यवस्थापनका कानुन, विकासका विषयमा जानकारी दिन महानगरमा रहेका एक लाखभन्दा बढी घरमा नगर प्रहरी परिचालन हुन प्रहरी प्रमुख हाछेथुले जानकारी दिए । अहिले ललितपुर महानगरले एम्बुलेन्स, शव वाहन, ढल निकासको सरसफाइका लागि जेटिङ मेसिनको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x