Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन


बुटवल । प्रायःजसो विवादमा परिरहने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा रहेको सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । करिब एक महिनादेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।

पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राकेशकुमार चौधरीले काम गर्न नसक्ने अवस्था आएको भन्दै काज सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू पाँच÷छ महिनाभन्दा बढी टिक्ने गरेका छैनन् । चौधरीभन्दाअघि करिब छ महिना अगाडि हाल कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका झविलाल भट्टराई प्रमुख प्रशासकीय अधिकृत थिए । उनी पनि छ महिनाभन्दा बढी टिक्न सकेनन् । भट्टराईभन्दा पहिले गाउँपालिकामा कुनै पनि प्रमुख प्रशासकीय अधिकृत आउन नमानेपछि करिब डेढ बर्षसम्म निमित्तकै भरमा चलेको थियो । बल्लतल्ल आएका भट्टराई र चौधर पनि छ महिनाभन्दा बढी गाउँपालिकामा टिक्न सकेनन् ।

कर्मचारी स्रोतका अनुसार गाउँपालिकामा अधिकांश जनप्रतिनिधिहरूले कानुनविपरीतका काम ल्याएर कर्मचारीलाई जबरजस्ती गर्न दबाब दिने गरेका छन् । कानुनभन्दा बाहिर गएर काम गर्ने अधिकार नभएको भन्दै काम गर्न इन्कार गरेपछि अनावश्यकरूपमा बखेडा खडा गरेर उनीहरूले कार्यालयमै धाकधम्की दिई गाली गलौज समेत गर्ने गरेको कर्मचारीहरूको गुनासो छ । स्रोतका अनुसार वडा नं ३ वडा कार्यालय भवन निर्माण प्रमुख विवादको विषय भएको बुझिएको छ । वडा नं ३ को कार्यालय भवन निर्माणको लागि डीपीआर भइसकेको र सोही ठाउँमा भवन निर्माणको लागि प्रक्रिया बढाउने तयारी भइरहँदा उक्त वडाका वडाध्यक्षले सो स्थानमा नभएर आफ्नो निजी जग्गामा बनाउनुपर्ने दबाब दिएपछि भवन निर्माणको विवाद उत्कर्षमा पुगेको थियो ।

उक्त विषयमा वडाध्यक्षले काम गर्न धम्की दिँदै कार्यालयमा आएर गालीगलौज गरेका थिए । तर वडा नं ३ का वडाध्यक्ष अदहम अलि देवानले भने सो कुरालाई स्वीकार गर्न तयार छैनन् । आफूले कसैलाई पनि गालीगलौज नगरेको उनले बताए । हाल कार्यालय भएकै ठाउँमा कार्यालय भवन बनाउनपर्नेमा आफ्नो जोड रहेको उनले बताए । तर भारतीय सीमानामा रहेको पोखरी मासेर कार्यालय भवन बनाउनुपर्ने कुरा आएकाले सो कुरामा आफूले फरक मत राखेको उनले बताए । ‘मैले हाल कार्यालय भवन भएको ठाउँमा केही जग्गा नपुग हुन्छ । उक्त कार्यालय भएको छेउमा मेरो जग्गा छ’, उनले भने, ‘वडा कार्यालय भवन निर्माणका लागि नपुग जग्गा मैले दानमा दिन्छु भनेको छु र दिन्छु ।’ जनतालाई पायक पर्ने स्थानमा कार्यालय राखौं भन्ने प्रस्ताव आफूले राखेको उनले बताए ।

यस्तै, गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले पालिकाका सात वटै वडाहरूमा मानिसहरूको मृत्यु हुँदा शव जलाउनका लागि दाउरा दिएको भनेर फर्जी बिल बनाएर जबरजस्ती पास गराउनको लागि दबाब दिएका दिए । उक्त बिल पास नभएपछि प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षबीच मनमुटाव भएको कार्यालय स्रोतले जनाएको छ । तर यस विषयमा कुनै मनमुटाव नभएको अध्यक्षले दाबी गर्दै आएका छन् । ३ नं वडा कार्यालयको भवन निर्माणको विषयमा भने केही विवाद भएको उनले स्वीकारे । ‘विपन्न परिवारको कुनै सदस्य मर्दा चार कुइन्टल दाउरा दिने कार्य पहिल्यैदेखि भएको हो । अहिले आएर मैले एक निर्णय गरेर दिएको कुरा होइन । फर्जी बिल पेस ग¥यो भन्ने कुरा बिल्कुलै अनर्गल हो’, उनले भने । प्रमुख प्रशासकीय अधिकृतलाई राख्न धेरै प्रयास गरे पनि उनी नमानेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जानकारी मन्त्रालयमा दिइसकेको र छिट्टै नयाँ अधिकृत आउने उनले बताए । नआए कसैलाई निमित्त दिएर भए पनि काम चलाउने योजना रहेको अध्यक्ष श्रीवास्तवले बताए । विपद् व्यवस्थापनमा बाहेक तत्काल भुक्तानीमा कुनै समस्या नआउने बताउँदै योजनाको भुक्तानी प्रमुख प्रशासकीय अधिकृत आएपछि पनि दिन सकिने बताए । प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले कानुनको सीमाभन्दा बाहिर गएर काम गर्नको लागि दिने गरेको दबावको कारणले उक्त क्षेत्रमा काम गर्न नसकेको बताए ।


क्याटेगोरी : समाचार, गाउँ पालिका
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया