चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो ।
कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आइतबारदेखि फाराम खोल्न सकिने बताए ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने राससलाई बताए । उनले भने, “आजै हामी युजरनेम र पासवर्ड कार्यालयमा पठाइदिन्छौँ, अरु काम उहाँहरुको हो ।”
कार्यालयका प्रमुख भुजेलले आइतबारदेखि फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भइरहेको बताए । उनका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ । क्रमशः यो सङ्ख्या बढाउँदै लगिने उनले जानकारी दिए ।
एक साताको फाराम भर्ने समय राखिने छ । हाल यस कार्यालय भरतपुर विमानस्थल अगाडि रहेको छ । अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।
यो कार्यालयबाट सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुनेछ । त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उनले बताए । नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन् ।
ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ एक किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षदेखि नै सेवा दिने तयारी गरे पनि ट्रायल सेन्टर सञ्चालनका विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो ।
जिल्लावासी सवारी चालक अनुमतिपत्रका लागि हेटौँडा, वीरगञ्ज, कावासोती, काठमाडौँलगायतका ठाउँमा जान बाध्य रहेका छन् । भरतपुर महानगरपालिकामा पहिलो पटक प्रमुख भएको दोस्रो वर्षदेखि रेनु दाहालले यहाँ यातायात कार्यालय स्थापना गरी सवारी चालक अनुमतिपत्र दिने व्यवस्थाका लागि पहल थालेकी हुन् । उनले भने, “हाम्रो पाँच वर्षको निरन्तर प्रयासपछि अब भरतपुरबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएको छ ।”
भरतपुरको आँपटारीमा रहेको वन क्षेत्रको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराउन महानगरपालिकाले निर्णय गरेर बागमती प्रदेश हुँदै सङ्घीय सरकारसम्म फाइल पु-याइएको छ । आफ्नै जग्गामा कार्यालय स्थापना गर्न समय लाग्ने भएपछि जिल्ला समन्वय समितिको भवनबाट सेवा दिन सुरु गरिएको हो । दाहालले तत्काल यहाँबाट सेवा थालेर आफ्नै कार्यालय भवन निर्माणतर्फ लाग्ने बताए । उनले थपे, “महानगरले सवारी चालक अनुमतिपत्र यहीँबाट दिने कामलाई उच्च प्राथमिकतामा राखेर निरन्तर लागिपरेकै कारण सफल भएको हो ।”
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया