Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेश‘जन्मदर्ता नहुँदा अभिराज र मेघा विद्यालय भर्ना हुन सकेनन्’

‘जन्मदर्ता नहुँदा अभिराज र मेघा विद्यालय भर्ना हुन सकेनन्’


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ वस्ने अभिराज मण्डल र मेघा मण्डलले जन्मदर्ता नभएको कारण विद्यालय जान पाएका छैनन् । धेरै पटक छोरा–छोरीलाई विद्यालय भर्ना गराउने कोसिस गरेपनि विद्यालयले जन्मदर्ताविना भर्ना गर्न नमानेको उनीहरूकी आमा पुनम मण्डलले बताइन् ।

पुनमका पति दिलिप कुमार मण्डलको अल्पायुमै निधन भएपछि उनीहरूको विवाह दर्ता हुन सकेन । पुनम मण्डलसँग समेत नागरिकता छैन । बाबुआमाको विवाह दर्ता नहुँदा छोराछोरीको जन्मदर्ता समेत बनाउन नसकेको पुनमले बताइन् । ‘घरको सरसफाइसम्बन्धी ज्याला मजदुरीको काम गरेर छोरा–छोरीको पालनपोषण गरी हुर्काए तर जन्म दर्ता नभएकै कारण छोरा–छोरीलाई विद्यालय भर्ना गराउन सकिनँ’, उनले भनिन्, ‘धेरै पटक छोरा–छोरीलाई विद्यालय भर्ना गराउने कोसिस पनि गरें तर विद्यालयले जन्मदर्ता माग्यो । मैले छोरा–छोरीको जन्मदर्ता गराउन सकिनँ, कारण मसँग श्रीमानको नागरिकता र विवाह दर्ताको प्रमाण थिएन ।’

नागरिकता नहुँदा आफूले ज्याला मजदुरीबाट कमाएको केही पैसा बचत गर्नका लागि बैंकमा खाता खोल्न र मोबाइलको सिम कार्ड पाउनबाट समेत बञ्चित भएको उनले बताइन् । सानोमा नै आमा गुमाएकी पुनम हजुरआमाको साथमा हुर्किएकी थिइन् । उनको २२ वर्षअघि जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने देवशरण मण्डल र द्रोपती देवीको छोरा दिलिप कुमार मण्डलसँग विवाह भएको थियो । विवाहपछि धेरै समय बितिसक्दा पनि उनको श्रीमानले विवाह दर्ताका लागि चासो नदेखाएपछि पुनमले श्रीमानसँग विवाह दर्ता र नागरिकताको लागि कुरा उठाउँन थालेकी थिइन् । तर दिलिपले खासै चासो देखाएनन् । मदिराको कुलतका कारण दिलिपको अल्पायुमै निधन हुन पुग्यो ।

पुनम भन्छिन्, ‘श्रीमानको मृत्युपछि छोरा–छोरी हुर्काउनका लागि ज्याला मजदुरी गर्नेभन्दा अन्त ध्यान गएन । आफू निरक्षर भएको हुँदा प्राशासनिक कामकाजको बारेमा पनि ज्ञान थिएन ।’ उनलाई एउटै कुरामा विश्वास थियो, ‘कुनै दिन जिल्लाबाट गाउँ–टोलमा नागरिकता टोली खटिन्छ र त्यही समायमा मैले आफ्नो नागरिकता र छोरा–छोरीको जन्मदर्ता प्राप्त गर्छु ।’ दिलिप निधनपछि क्रमश सासु–ससुराको समेत निधन भयो । श्रीमान्, सासु ससुराको समेत निधन भइसकेपछि अहिले आफ्नो नागरिकत्ता बनाउन साह्रै कठिन भएको उनले सुनाइन् ।

‘गाउँलेहरूले साक्षी बसेर सहयोग गरेमा भने आफ्नो नागरिकता बन्ने रहेछ’, उनले भनिन् ‘मलाई गाउँ, समाज, छरछिमेक सबैले चिन्छन् र मेरो सबै यथार्थ र वास्तविकता पनि उहाँहरूलाई थाहा छ । आफूसँग सासु आमाको नागरिकता नम्बर र श्रीमानको भोट लिस्टको प्रमाण छ ।’ उनले आफ्नो नागरिकता र छोरा–छोरीको जन्म दर्ताका लागि सम्बन्धित सरोकारवालाहरूबाट सहयोगको अपेक्षा समेत गरेकी छिन् ।


क्याटेगोरी : मधेश प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया