Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशबक्यौता असुली गर्न विराटनगर भन्सार सक्रिय

बक्यौता असुली गर्न विराटनगर भन्सार सक्रिय


विराटनगर । विराटनगर भन्सार कार्यालयले भन्सार जाँचपास परीक्षणमा शंकास्पद देखिएका केही व्यवसायी फर्म तथा कम्पनीको बक्यौता असुली प्रक्रिया सुरु गरेको छ । केही उद्योगहरूले कच्चापदार्थका नाममा तयारी वस्तु नै आयात गर्ने गरेकाले भन्सार राजस्व समेत असुली गर्नुुपर्ने देखिएपछि राजस्वले सम्बन्धित उद्योगको एक्जिम कोड बन्द गरी राजस्व असुली गर्न सुरु गरेको हो ।

२०७० सालदेखि नै बक्यौता नबुुझाएका व्यावसायिक फर्ममाथि विराटनगर भन्सार कार्यालयले निगरानी बढाएको हो । पहिलो चरणमा गत आर्थिक वर्ष २०७९/८० र चालू आर्थिक वर्ष २०८०/८१ मा जारी भएका प्रज्ञापनपत्रमध्ये शंकास्पद देखिएका भन्सार जाँचपासको जाँचपास परीक्षण गरेपछि भन्सार राजस्व ठगीको रहस्य खुुलेको हो । विराटनगर भन्सारले विभिन्न फर्मबाट असुुल गर्नुुपर्ने करिब ४२ करोड रुपैयाँभन्दा बढी नै बक्यौता रहेको देखिएको भन्सार स्रोतले बताएको छ । पछिल्लो समय विराटनगर भन्सारले दुुई सयभन्दा बढी प्रज्ञापनपत्र जारी भएकोमा पहिलो चरणमा करिब एक सय वटा प्रज्ञापनपत्रको भन्सार जाँचपास परीक्षण सुरु गरेको हो ।

कार्यालय स्रोतका अनुसार भन्सार जाँचपास परीक्षण र शंकास्पद आयात निर्यातकर्ता फर्म तथा कम्पनीको काम सुुरु भएको छ । विराटनगर भन्सार जाँचपास स्रोतका अनुसार ती एक सय वटा छनोट गरिसकेका कम्पनीहरूले करोडौं रकम बक्यौता बुझाउन बाँकी रहेको देखिएपछि विराटनगर भन्सारले धमाधम ती कम्पनीको आयात तथा निर्यातमा प्रयोग हुने एक्जिमकोड रोक्का गरी राजस्व असुली सुुरु गरेको हो । भन्सार विभाग र भन्सार जाँचपास परीक्षण कार्यालयले पनि कुल तीन सय ६० वटा आयात तथा निर्यातकर्ता फर्मको अनुसन्धानबाट १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०७९/८० र चालू आर्थिक वर्ष २०८०/८१ मा जारी भएका प्रज्ञापनपत्रमध्ये शंकास्पद देखिएका तीन सय ६० वटा फर्म तथा कम्पनीबाट करिब साढे नौ करोड राजस्व हिनामिना भएको आशंका लागेकाले जरिवानासहित १९ करोड राजस्व संकलनको लक्ष्य राखेको हो । ‘अनुसन्धान तथा अडिटमा परेका सबै फर्म तथा कम्पनीहरूबाट गलत काम भएको छ भन्ने होइन तर विभाग र जाँचपास कार्यालयले शंकास्पद लागेका तीन सय ६० वटा कम्पनी छनोट गर्दा १९ करोड राजस्व संकलन गर्ने वा थप हुने अनुमान गरिएको छ’, स्रोतले भन्यो । भन्सार जाँचपास गर्दा भन्सार तथा राजस्व छली गरेको पाइएमा छली गरेको राजस्व असुल गरिनेछ भने सोही बराबर जरिवानासमेत लाग्नेछ । भन्सार विभाग र भन्सार जाँचपास परीक्षण कार्यालयले आधा आधा शंकास्पद प्रज्ञापनपत्रको छनोट गर्ने भए पनि अनुसन्धान भने सबै जाँचपास परीक्षण कार्यालयले गर्ने गरेको छ ।

स्रोतका अनुसार सुुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगी पुुनित सारडाको जेसमिन हाइजिन उद्योगले मात्रै करिब ४८ लाख रुपैयाँभन्दा बढी नै बक्यौता बुुझाउनुपर्ने देखिएको छ । हाल उक्त उद्योगको एक्जिमकोड नै विराटनगर भन्सारले बन्द गरिदिएको छ । तर आफ्नो उद्योगको एक्जिमकोड बन्द भएपछि सञ्चालक सारडाले जेसमिन हाइजिन प्रालि थपेर नयाँ एक्जिम कोडबाट निर्बाधरूपमा आयात तथा निर्यातको काम गर्न सुरु गरिसकेका छन् । सञ्चालक सारडाले यो घटना बाहिरिने डरले भन्सार एजेन्ट समेत परिवर्तन गरी नयाँ भन्सार एजेन्टमार्फत काम गरेको स्रोतको दाबी छ । पछिल्लो समय भन्सार सहजीकरणका लागि उद्योगी सारडाले प्रह्लाद बस्नेत नाम गरेका आफ्ना एक कर्मचारी विराटनगर भन्सारमा खटाएका छन् ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x