Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधस्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ


बरहथवा (सर्लाही) । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा सोमबार प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीका अनुसार राजालाई पैसासहित पक्राउ गरिनुका साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमा छापा मार्दा पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ ।

अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, पाँच सय दरका छ सय २२ थान, एक सय दरका एक सय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो । दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया