Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीबर्थिङ सेन्टरको दुर्दशा : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

बर्थिङ सेन्टरको दुर्दशा : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे


सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूतिगृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिएको छ । प्रसूतिगृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ ।

प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुइँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । उनले भनिन्, ‘वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तात्तिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निस्सासिँदो धुलो उठ्ने गर्दछ ।’ स्वास्थ्यकर्मीले गर्भवती र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने अवस्था छ ।

‘सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन’, उनले भनिन्, “प्रसूतिगृह वरिपरि वनमारा र घाँसपातको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । हामी स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।’ अनमी श्रेष्ठका अनुसार यस प्रसूतिगृह दुई–चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भए पनि समाधान हुन सकेको छैन ।

विसं २०६३ देखि यस प्रसूतिगृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ । वर्षाैँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ छ । ‘प्रसूतिगृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो । यो सानो टहरोभित्र दुईवटा शय्या राखिएको थियो । यो टहरो भत्काइएका कारण शय्या झिकेर कौसीमा राख्नुपरेको छ’, उनले भनिन्, ‘वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ ।’

गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटक–पटक पहल गरे पनि केही प्रगति हुन नसकेको गुनासो गरे । ‘प्रसूतिगृहको मुख्य टहरो पनि ज्यादै साँघुरो छ । कोठामा छिर्ने ढोका नै साँघुरो छ । नागबेली परेर बल्लतल्ल भित्र छिर्न सकिन्छ । सुत्केरी हुन आउने आमालाई शय्यासम्म लैजान कठिन हुन्छ । चालीस स्क्वायर फिटको कोठामा शिशुलाई न्यानो राख्ने हिटर, लेबर शय्या, सुत्केरी भएपछि सुताउने शय्या, अक्सिजन सिलिन्डर, सक्सन मेसिन र अन्य उपकरण राख्नुपरेको छ । दुईजना स्वाथ्यकर्मी र एक जना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ’, उनले भने, ‘नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ । कुनै निकास छैन । फोहर पानी टेकेर भित्र पस्नुपर्छ । साह्रै सास्ती छ । सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराएका छौँ तर कुनै सुधार हुँदैन ।’

एकजना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई–तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउण्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूतिगृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन । कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ । नेपाली कांग्रेस गोलबजार नगरसभापति राजदेव साह सुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको बताउँछन् । उनले भने, ‘प्रसूति सेवाको यो हालत छ, लज्जास्पदभन्दा पनि जनताको स्वास्थ्यसँग हदैसम्मको खेलवाड गरिएको छ । नगरपालिका गोलबजारको ध्यान जानुपर्ने हो ।’

साहका अनुसार गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ । साठी हजारभन्दा माथि जनसङ्ख्या भएको गोलबजार नगरपालिकामा एकजना ‘एमबीबीएस’ चिकित्सक छैनन् । हालै स्वास्थ्य सेवा विभागले सो प्रसूतिगृहलाई ‘अल्ट्रासाउण्ड मेसिन’ प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । सी अनमी निरीक्षक शाक्यले भनिन्, ‘मैले तालिम त लिएर आएँ तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्ने नगरपालिकालाई जानकारी गराएको छु । अहिलेसम्म कुनै वास्ता गरिएको छैन ।’ स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो ।

सडक विभागले खाली गरेर वर्षौँदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूतिगृह बनाइएको उनले बताए । उनका अनुसार तीस वर्ष बित्यो तर प्रसूतिगृहको जीर्णोद्धारसमेत भएन । ‘२१औँ शताब्दीमा बाख्रा गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ’, उनले भने । गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने उक्त प्रसूतिगृहमा जग्गाको विवाद भएकाले मर्मतसम्भार गर्न नसकिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रसूतिगृहलाई अन्यन्त्र स्थानान्तरण गरिने प्रक्रिया सुरु गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया