Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीकेन्द्र सरकारको कारण दोलखाका अधिकांश अस्पताल अलपत्र

केन्द्र सरकारको कारण दोलखाका अधिकांश अस्पताल अलपत्र


दोलखा । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने लक्ष्यअनुसार एकैसाथ शिलान्यास भएका दोलखाका अधिकांश अस्पताल अलपत्र बनेका छन् ।

यहाँका स्थानीय तहमा निर्माण हुने अस्पतालमा संघीय सरकारले बजेट निकासा नगर्दा अलपत्र परेका हुन् । संघीय सरकारले भुक्तानी दिन ढिलाइ गर्दा निर्माण कम्पनी तथा ठेकेदारले निर्माण कार्य बीचमा नै रोकिदिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले बजेटको सुनिश्चितता नै नगरी एकै साथ देशभर पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने भन्दै अस्पतालको शिलान्यास गरेका थिए । सोपश्चात निर्माण सुरु गरिएका अस्पताल हाल अलपत्र अवस्थामा छन् । निर्माण थालनी गर्न सुरुमा केही बजेट आए पनि त्यसपछि भने थप बजेट नआएपछि अस्पताल भवनहरू निर्माण हुन नसकेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

मेलुङ गाउँपालिकाले अस्पताल निर्माणका लागि पहिलो चरणमा आएको ६० लाख रुपैयाँले डीपीसी मात्र गरेर छोडेको छ । थप बजेट नआएको र पालिकासँग रकम समेत नभएको कारण भवन निर्माण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । यस्तै, तामाकोसी गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण हुँदै गरेको अस्पतालको काम पनि बजेट अभावका कारण अन्तिम चरण गएर रोकिएको छ । सो वडाका वडाध्यक्ष सुरज खड्काले पहिलो चरणमा आएको बजेटले ७५ प्रतिशत काम सकिएपनि त्यसपछि केन्द्र सरकारले बजेट पठाउन ढिला गर्दा केही काम बाँकी रहेको बताए । करिब दुई करोड बजेट भुक्तानी केन्द्र सरकारले नपठाउँदा बीचमा काम रोकिन पुगेको उनले जानकारी दिए ।

त्यसैगरी बैतेश्वर गाउँपालिकामा निर्माण हुँदै गरेको बैतेश्वर अस्पतालको पनि हालत उस्तै रहेको छ । ११ करोड लागतमा निर्माणाधीन १५ शैय्याको अस्पतालको काम पनि रकम भुक्तानी नभएकै कारण रोकिएको छ । हालसम्म तीन करोड बजेट भुक्तानी भएको भए पनि बाँकी रकम भुक्तानी नभएको भन्दै निर्माण कम्पनीले निर्माण कार्यलाई रोकिदिएको छ । यस्तै, पालिकाकै बैतेश्वर अस्पतालको पनि करिब आठ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । जिल्लाको बिगु गाउँपालिकाले पनि बजेट अभावमा सिँगटीमा कोरोना अस्पताल सञ्चालनमा ल्याएको छैन । गौरीशङकर गाउँपालिकाले बजेट अभावकै कारण प्राथमिक स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यता जिल्लाकै शैलुङ गाउँपालिकामा पनि बजेट अभावकै कारण अस्पताल भवन निर्माण गर्न सकेको छैन ।

स्थानीय तहहरुले पटक–पटक संघीय सरकारसँग बजेट माग गर्दा समेत भुक्तानी दिन नसकेको निर्माण कम्पनी तथा सम्बन्धित पालिकाहरूको गुनासो छ । स्थानीय तहसँग अस्पताल निर्माण पूरा गर्ने स्रोत नहुँदा केन्द्र सरकारकै भर पर्नुपर्ने बाध्यता रहेको छ । तर संघीय सरकारले पनि भुक्तानी नपठाउँदा अधिकांश स्थानीय तहका अस्पताल निर्माणको काम बीचमै अलपत्र परेको हो । जिरी नगरपालिकामा भने पहिलेदेखि नै जिल्ला अस्पताल रहेको छ । यस्तै, भीमेश्वर नगरपालिकामा आकस्मिक ब्लकसहितको अस्पताल भवन निर्माणधीन अवस्थामा छ । संघीय सरकारको १८ करोड ५९ लाख रुपैयाँमध्ये ११ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माणको काम सुरु भएको हो । सो अस्पताल भवन निर्माणको जिम्मा एमके बीसी, सिमपानी जेभीले पाएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी नगरपालिका र ठेकदारबीच सम्झौता भएको छ । कालिञ्चोक गाउँपालिकाको सिंँगटीमा रहेको अस्पताल भने स्तरोन्नति भई सञ्चालनमा आएको छ । ६० लाख रुपैयाँ बजेटमा सो अस्पतालको स्तरोन्नति गरिएको हो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया