Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैली‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’

‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’


काठमाडौं । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् ।

बालबालिकालाई सुर्ती र धुम्रपानबाट टाढा राख्ने उद्देश्यले युवा सिर्जनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा वर्षेनि ४७ अर्ब रुपैयाँ उँडिरहेको बताए । सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले जानकारी दिए । यस्तै, उनले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लङ्घन भएमा विद्यार्थी स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने औंल्याए ।

सो अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा आदित्य रञ्जितले धुम्रपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पुर्याउन आह्वान गरे । धुम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभई आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्न राज्य लाग्नुपर्नेमा उनले जोड दिए । युवा सिर्जनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताइन् । सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सुर्ती सेवन र नगर्न उनले आग्रह गरिन् ।

महानगरपालिका वडा नं १० का जनप्रतिनिधि रोहिणी श्रेष्ठले धुम्रपान निषेध गर्न वडा आफैँ पनि सक्रिय भएर लाग्ने र यसमा सबैको साथ अनि सहयोग आवश्यक रहेको बताइन् । युवा सिर्जनशील समाजले बालबालिकाहरूलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरूमा सचेतना कार्यक्रम थालेको हो । समाजले शुक्रबार बुद्धनगर आधारभूत विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम गरेको थियो । सो विद्यालयका अध्यक्ष श्याम तण्डुकारले विद्यालय वरपरको क्षेत्रलाई सुर्तीमुक्त बनाउँदै लानुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया