Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक समृद्धिमा चिया खेती

आर्थिक समृद्धिमा चिया खेती


विश्वनाथ खरेल
भारतको दार्जिलिङको चियाले विश्व बजारमा आफ्नै पहिचान स्थापित गरिसकेको र दार्जिलिङको हावापानीसँग नेपालको पहाडी क्षेत्रको हावापानी मिल्दो भएकाले नेपाली चियालाई पनि दार्जिलिङ चियाकै नाममा अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने बाध्यता छ । त्यसैले नेपाली चिया निर्यातको ८० प्रतिशत भारतमा हुनेगरेको छ । यो अवस्थाले गर्दा नेपाली उत्पादनले उचित मूल्य पाउन सकेको छैन । जबसम्म हाम्रो देशमा नुनदेखि सुनसम्म आयात हुन्छ । यसरी प्रत्येक वस्तु विदेशबाट किनेर प्रयोग गर्दा राष्ट्रको व्यापारघाटा चुलिँदो छ । यसर्थ युवाहरूले वैदेशिक रोजगारीबाट कमाएको रेमिटेन्सले देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको छ । तर, एउटा कृषिजन्य उत्पादनमा भने मुलुक आत्मनिर्भर भएर विदेशी मुद्रासमेत आर्जन गर्न सुरु गरेको छ । यहाँका उपभोक्ताले प्रयोग गर्ने चियाको माग पूरा गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले प्रभुत्व जमाउन थालेको छ ।

हरेक वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा नेपाली चियाको बिक्रीबाट विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनेको छ । यो वर्ष यहाँको माग पूरा गरेर करिब दुई अर्ब ४० करोड रूपैयाँको चिया निर्यात हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेको सम्बन्धित क्षेत्रले जनाएको छ । यसको साथसाथै कृषिजन्य उत्पादनमध्ये चियामा हामी आत्मनिर्भरको नजिक पुग्न लागेको अवस्था छ । देशमा उत्पादित चिया बेचेर विदेशबाट रकम आर्जन गर्न सफल हुने स्थितिलाई नर्कान सकिन्न । जबसम्म कृषि क्षेत्रको विकास हुँदैन तबसम्म मुलुकको भाग्य रेखा कोरिन सक्दैन । कृषि क्षेत्रको दिगो विकास आर्थिक आश्यकता मात्र नभई अपरिहार्य रहेको छ । यसै सन्दर्भमा चिया खेती पनि मुलुकको एक मुख्य नगदे बालीको रूपमा रहेको छ । अतः देशमा चिया खेती पूर्वको इलाम जिल्लाबाट सुरु भएको पाइन्छ ।

विश्वको कुल उत्पादन र निर्यातमा नेपालको योगदान न्यून भए पनि इलाम र पूर्वाञ्चलका अन्य पहाडी जिल्लाहरूको हावापानी दार्जिलिङसँग मिल्दोजुल्दो छ । देशको उत्पादनमा गुणस्तरको हुँदाहुँदै पनि अन्तर्राष्ट्रियस्तरमा स्वीकार हुने मापदण्ड अवलम्वन गर्न सकियो भने विश्व बजारमा नेपाली चियाले ठाउँ लिने संकेत प्रशस्त सम्भावना छ । यसरी विश्व बजारमा अर्गानिक चियाको माग बढ्दो छ, अर्गानिक चियाको माग नेपाली चियाको लागि राम्रो अवसर हो । अर्गानिक तथा गुणस्तरीय उत्पादनमा नै नेपाली चियाको भविष्य गाँसिएको छ ।

चिया खेतीमा संलग्न सबैले चिया रोपण उत्पादन प्रतिशतदेखि बजार व्यवस्थासम्म गुणस्तरमा ध्यान दिन आवश्यक छ । यसर्थ चियाको उत्पादन र क्षेत्र विस्तार मात्र होइन आन्तरिक र बाह्य बजार प्रवद्र्धनमा ध्यान दिनुपर्दछ । विकास र विस्तारको प्रशस्त सम्भावना छ । हालसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रो परिचित भइसकेको नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरमा सुधार गर्दै लैजान सकेको खण्डमा स्थायी बजार र उपभोक्ता र सुरक्षित गर्न सकिनेछ । यसको लागि सम्बन्धित निकाय लागिपरेको बुझिन्छ । चिया उत्पादन तथा नेपाल आत्मनिर्भर मात्र होइन निर्यात व्यापार गर्न समेत सक्षम छ ।

खासगरी नेपालको पूर्वी क्षेत्रका जिल्लाले चिया उत्पादनको अधिकांश हिस्सा धानेको छ । इलाम र झापामा उत्पादन हुने चिया विदेश समेत निर्यात भइरहेको छ । तर, उत्पादक र चिया किसानको एक्लो प्रयासमा निर्यात भइरहे पनि कतिपय समस्यासँग जुझ्न भने राज्यले नै चासो दिनुपर्ने किसान र उत्पादक कम्पनीको माग छ । स्पष्ट नीति र राहतका कार्यक्रमको अभावमा आफूहरूले समस्या झेल्नुपरेको किसान र उत्पादक गुनासो गर्छन् । चिया उत्पादन बढाउन र भारतीय उत्पादकसँग प्रतिस्पर्धा गर्न सरकारले राहतका कार्यक्रम ल्याउन पर्ने चिया किसान र उत्पादक बताउँछन । भारतले चिया उत्पादक किसानदेखि कम्पनीलाई समेत भारतले ठूलो अनुदान दिने गर्छ । यही भएर भारतीय चियासँग प्रतिस्पर्धा गर्न नेपाली उत्पादनलाई कठिन छ ।

समग्रमा भन्नुपर्दा देशको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लाका किसानले चियाको व्यावसायिक खेती गर्छन् । आर्थिक वर्ष २०७३/०७४ मा झापामा ११ हजार पाँच सय ५७ हेक्टरमा, इलाममा आठ हजार ४५, पाँचथरमा एक हजार तीन सय ५२, धनकुटामा नौ सय ६१, तेह्रथुममा चार सय ५९ र अन्य जिल्लामा छ हजार एक सय ४८ हेक्टरमा चियाखेती गरिएको छ । कुल २८ हजार पाँच सय २२ हेक्टरमा चिया लगाइएको छ । चियाखेती विस्तार गरे विदेशी मुद्रा आर्जन गर्ने बलियो माध्यम हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सम्बन्धित अधिकारीहरूले बताएका छन् । यसरी नेपाल सरकारले चिया खेतीलाई प्राथमिकतामा राखेको छ जसले गर्दा अझै पनि उत्पादन बढाउन सके विदेशी मुद्रा आर्जनको गतिलो माध्यम बन्न सक्छ । यसरी चिया रोपेको तीन वर्षमा नै उत्पादन दिन्छ । करिब हजार मिटर तलको उचाइमा यसको खेती हुँदै आएको छ ।

चियाको सार्वजनिक खरिदबिक्री हुने स्थान अक्सन स्थापना गरे बजार विस्तारमा अझै सहयोग हुने किसान बताउँछन् । नेपाली चियाको ठूलो परिणाम भारत हुँदै विदेशी बजारमा जाने गरेको भए पनि अक्सन अभावमा यहाँबाट सिधै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न कठिनाइ भएको छ । अक्सन नहुँदा भारतका उद्योगीले नेपाली चियालाई आफ्नो ब्रान्डमा बिक्री गर्ने गरेका छन् । समष्टिरूपमा हेर्ने हो भने हाम्रो देशबाट भारत र तेस्रो देश निकासी हुने सामग्री तथा वस्तुमा चियाजन्य वस्तुले ठूलो हिस्सा ओगटेको छ । २०७२/७३ मा कुल २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार आठ सय ७३ रूपैयाँको मात्र निर्यात भएकोमा चियाजन्य वस्तु मात्र सात अर्ब १८ करोड ६१ लाख २१ हजार एक सय ८२ रूपैयाँको निर्यात भएको थियो । यो निर्यात भएको कुल रूपैयाँको २५ प्रतिशतभन्दा बढी हिस्सा हो तर, आर्थिक वर्ष २०७३/७४ मा ग्रीन टी, कालो चिया, तेजपात, चिया मसला र कफीको निर्यातसमेत एक अर्बभन्दा बढीले कमी छ ।

गत आर्थिक वर्ष २०७३/७४ मा छ अर्ब २७ करोड १४ लाख २३ हजार चार सय रूपैयाँको चियाजन्य उत्पादन निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०७०/७१ मा चियाको मात्र पाँच अर्ब ९९ करोड १६ लाख ५९ हजार सात सय १३ रूपैयाँको निर्यात व्यापार भएको थियो । उक्त रकम कुल निर्यात व्यापारको २० प्रतिशतभन्दा कमी हो । अझ चियाजन्य उत्पादनको आयात हरेक वर्ष बढी रहेको सम्बन्धित निकायको भनाइ छ । यसरी आर्थिक वर्ष २०७०/७१ मा ३७ करोड ५१ लाख नौ सय २७ रूपैयाँको चियाजन्य उत्पादन आयात गरेको पूर्वाञ्चलले चार वर्षपछि अर्थात् गत आर्थिक वर्षमा एक अर्ब १२ करोड ५२ लाख ४९ हजार छ सय ६८ रूपैयाँको चिया आयात गरेको छ । यो आयात चार वर्षअघिको तुलनामा तेब्बर हो । यसको साथसाथै विगत चार वर्षअघि ३७ करोड ५१ लाखको आयात गर्दा छ अर्ब ३२ करोडको निर्यात व्यापार थियो । गत आर्थिक वर्षमा छ अर्ब २७ करोडको निर्यात गर्दा आयात एक अर्ब १२ करोडको भइसकेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया