Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक विकासका मुद्दालाई राजनीतिक आँखाबाट नियाल्दा

आर्थिक विकासका मुद्दालाई राजनीतिक आँखाबाट नियाल्दा


काठमाडौं । राजनीतिको सन्दर्भमा भन्नुपर्दा सम्बद्ध मुलुकको सम्प्रभु नागरिक समुदायको सामाजिक, आर्थिकलगायतका दैनिक जनजीविकासँग साक्षात्कार रहने विषयगत बुँदाहरूको मार्गचित्र कोर्ने रूपरेखाको रूपमा यसलाई बुझ्न सकिनेछ । जसमा अवस्था हेरी फल्ने, फुल्ने एवम् मौलाउने अवसर प्राप्त गर्नेछ भन्दा फरक नपर्ला । प्रस्तुत कार्यदिशामा सकारात्मक नतिजा हासिल गर्नका लागि यस क्षेत्रमा प्रष्ट राजनीतिक नीतिको आवश्यक पर्ने तथ्यहरूले औँल्याउँदै आएको पाइन्छ ।

विपरीत अवस्था तयार गर्दै राजनीतिक पूर्वाग्रह तथा तिक्तताका कारण नीतिगतरूपमा नै आफ्नै राजनीतिक दिग्दर्शनप्रति प्रष्ट धारणासहितको जोखिम बहन गर्न नसक्ने हो भने निश्चितरूपमा त्यहाँ दुर्घटना निम्तिने छ । किनकि सामाजिक क्षेत्रसँग सम्बन्धित रहेको अर्थसरोकारका विषयलाई आफ्नो कार्यक्षेत्रभित्र अख्तियार गर्न सक्ने परिस्थितिजन्य व्यवहारको विकासले नै राजनीतिक तथा अर्थनीतिको सहसम्बन्ध स्थापित गराउन सक्षम रहन्छन् भन्ने तथ्यसँग यस क्षेत्रका जानकारको भिन्न मत रहेको पाइएन ।

तसर्थ, तत् सन्र्दभमा हुन आउने विवादित विषयवस्तुले सम्बद्ध राज्यव्यवस्थामा अराजकताको विज–विजारोपण गर्ने भएकाले निर्दिष्ट आर्थिक विकासका लक्ष्यहरू किमार्थ हासिल हुन सक्दैनन् । जसका कारण आम–नागरिक समुदायमा अशान्ति उत्पन्न हुन गई विद्रोहको अनेकौ रूप प्रकट हुने सम्भावना जीवन्त रहन्छ । वस्तुतः प्रस्तुत तीतो यथार्थसँग नेपाल पनि भिन्न रहन सकेको छैन ।

आर्थिक असमानताले असहजता उत्पन्न गराएको खण्डमा शासकीय स्वरूपमा आमूल परिवर्तनको द्वन्द्वगत अवस्था सिर्जना हुने देखिन्छ । मूलतः प्रस्तुत तथ्यगत आधारलाई मूल केन्द्रविन्दुमा राखी नेपालमा पनि राजनीतिक परिवर्तनको शंखघोष भएको हो । जसको मूल मुद्दा भनेकै नागरिक समृद्धि तथा आर्थिक विकासमा रहन आएको न्यूनताको सरोकारजन्य विषयगत बुँदाहरूसँग अन्तरसम्बन्धित रहेको पाइयो । जसको परिपूर्तिको लागि राजनीतिक स्वच्छता कायम रहनुपर्ने हुन्छ । यद्यपि नागरिक हितभन्दा दलीय हितको लागि राजनीतिक सम्बन्ध विस्तार गर्ने गैरराजनीतिक चरित्रका कारण आर्थिक विकास र नागरिक समृद्धिका तहगत मुद्दाहरू सधैँ नै ओझेलमा पर्न गएको मात्र हो । प्रस्तुत प्रवृत्तिको कार्यव्यवहारले आर्थिक विकासप्रतिको सम्प्रभु नेपाली नागरिकको समृद्धिको चाहना पूरा हुन सक्दैन ।

यस क्षेत्रमा कायम रहेको आर्थिक विसंगतिपूर्ण व्यवहारलाई पन्छाउँदै विकासको मूलमन्त्रसहितको रणनीतिलाई आवश्यक व्यवस्थापन गर्ने हो भने मात्रै समस्या समाधानको क्षेत्रमा निर्णायक भूमिका निभाउन सक्ने वातावरण तयार हुने देखिन्छ । जसले विकाससम्मत भावी रणनीतिक कार्ययोजनालाई व्यवहारमा उतार्न सहजीकरणको मार्ग प्रशस्त गर्नेछ । जसलाई आर्थिक विकास एवम् नागरिक समृद्धिको मूलमन्त्र मान्दा फरक नपर्ला ।

तथापि निश्चित उद्देश्य प्राप्तिका लागि आर्थिक विकासका मुद्दालाई राजनीतिक आँखाबाट नियाल्ने गलत राजनीतिक संस्कृतिको कारण लक्ष्यअनुरूपको प्रगति हासिल गर्न नसकिएको मात्र हो । जसअपजसको साँघुरो घेरामा समाहित रहँदै राम्रो कामको स्यावासी आफू वा आफू समर्पित समूहमा राख्ने तथा नराम्रो कामको सम्पूर्ण दोषको भागिदार विपरीत राजनीतिक समूहलाई थुपार्ने भ्रमित राजनीतिक दिग्दर्शनको दृष्टिदोषका कारण हामीले गणतान्त्रिक राज्यव्यवस्थालाई आत्मसात गरेको लामो समयसम्म पनि आर्थिक विकाससहितको समृद्धिको यथोचित फल प्राप्त गर्नमा विलम्ब भएको मात्र हो । समूहगत भावनाको हित अनुरूपको निर्णय नै राजनीतिको यथार्थपरक मार्गदर्शन रहेको तथ्यगत विशेषतालाई हामीले भुल्न मिल्दैन । तसर्थ दोषपूर्ण अवस्थालाई सुधार्न जरुरी भइसकेको छ । सम्बद्ध क्षेत्रमा रहेको ऋणात्मक व्यवहारलाई समूलरूपमा अन्त्य गर्नका लागि नागरिक हितग्राही कार्यमा अनुबन्धित रहँदै विकासको खातिर जनउत्तरदायी तथा जवाफदेहिताको सदैव खाँचो रहन्छ । प्रस्तुत तथ्यगत आधारलाई लत्याउँदै नागरिक समाजप्रति जनउत्तरदायी हुन नसक्ने वा नचाहने गतिविधिको विकासले आर्थिक विकासको गतिलाई राजनीतिसँग समदूरीमा राख्दै हातेमालो गर्न सक्ने अवस्था रहँदैन । परिणामतः विकास योजनामा खर्चिने अर्थव्यवस्थापनमा समेत पारदर्शिताको अभाव रहन गई विकाससम्मत खर्चमा आर्थिक अपराजन्य अवस्था सिर्जना भएको त होइन भन्ने भ्रम नागरिक समाजमा सिर्जित रहने देखिन्छ । जुन निकै नै चिन्ताको विषय हो ।

यही त्यो कारक तत्व हो जसले आर्थिक विकासलाई सहजैअगाडि बढ्न कठिनाइ उत्पन्न गराई नागरिक समाजमा दुविधाजन्य अवस्था कायम गर्ने गरेको छ । समानताका आधारमा उल्लेख्य जनसहभागिताले विकास निर्माणका गतिलाई तीव्रता दिने प्रयास गर्ने हो भने निर्धारित समयसीमाभित्रमा नै उद्देश्य अनुरूपको लक्ष्य हासिल गर्न सकिने अवस्था प्रारम्भ हुने देखिन्छ ।

प्रस्तुतः व्यवहारको विकासले त्योबेला पूर्णता हासिल गर्नेछ जुनबेला निर्वाचित जनप्रतिनिधिले सम्बद्ध मुलुकको कानुनले निर्देशित गरेको सीमालाई अवलम्बन गर्दै व्यवहारतः लागू गर्ने प्रतिबद्धता जाहेर गर्नेछन् । किनकि लोकतन्त्रको विकास तथा संस्थागत गर्ने कार्यमा नेपालका लोकतान्त्रिक समूहको अतुलनीय योगदान रहेको तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न अवश्य पनि मिल्दैन । जुन निश्चितरूपमा शान्ति, समृद्धि तथा सहमतीय व्यवहारका अतिरिक्त आपसी विश्वासमा अन्तर्निहित रहने विषयवस्तु हुन् । जसका लागि लोकतान्त्रिक समूहको वास्तविक साक्षी रहेका नागरिक समूहको सहभागिताको अभावमा कुनै पनि सकारात्मक आर्थिक विकासका लक्ष्यले आफ्नो सही गन्तव्य निर्धारण गर्न नसक्ने ठोकुवा गर्न सकिनेछ । तसर्थ सम्बद्ध क्षेत्रमा रहेका कमीकमजोरीलाई नियाल्दै गतिरोधको अन्त्य गर्नु आजको आवश्यकता हो ।

जुन धेरै हदसम्म लोकतान्त्रिक मूल्यमान्यतामा आाधारित रहेको पाइन्छ । किनभने लोकतन्त्र भनेको विधिको शासन भएको हुँदा त्यसमा सम्प्रभु नागरिक समाज नै सर्वशक्तिमान रहने राजनीतिक सैद्धान्तिक धरालतलाई लोकतान्त्रिक समूहले आत्मबोध गर्दै नागरिक हितको लागि सदैव दत्तचित्त रहँदै कार्य गर्नु युक्तिसंगत कदम हुनेछ ।

उपरोक्त महत्वाकांक्षी कार्ययोजनालाई आर्थिक विकासका पाटामा अनुबन्धित गर्दै निर्धारित समयावधिभित्रमा नै लिइएको लक्ष्यमा पुग्न जस्तोसुकै कठिनभन्दा कठिन परिस्थितिमा पनि राजनीतिक हस्तक्षेपजन्य व्यवहारको परिकल्पना गरिने छैन भन्ने मान्यतालाई विकासको मूर्तरूप मान्न सकिन्छ । जसका लागि आवश्यक पर्ने राजनीतिक दर्शन नै नागरिक हितकारी आर्थिक विकासको पक्षपोषक तत्व विशेष होभन्दा त्यति फरक नपर्ला । जुन सदैव सक्षम नेतुत्वदायी भूमिकाको सद्भावमा आधारित रहने गर्छ ।

किनकि सत्ता प्राप्तिको लागि गरिने फोहोेरी राजनीतिक खेलले सम्बद्ध क्षेत्रको मुद्दालाई सहजै सम्बोधन गर्न नसक्ने भएकै कारण बेलाबखत तत् सन्दर्भमा समस्या उत्पन्न हुने गरेको मात्र हो । राजनीति तथा अर्थनीतिको अन्तरसम्बध कायम रहँदा–रहँदै पनि यी दुवै भिन्न परिवेशमा रहेका पृथक–पृथक विषयवस्तुहरूको विषयगत बुँदालाई अगाल्ने क्षेत्रविशेष भएकोले यी दुवै पक्षलाई एक अर्को पक्षले हस्तक्षेप गरिनुहँुदैन भन्ने राजनीतिक तथा आर्थिक दर्शनका मूल्यमान्यतालाई आधार मान्दै अगाडि बढ्ने प्रयासले मात्र सफलता हासिल गर्न सम्भव रहनेछ । अन्यथा द्वन्द्वगत मनोभावनाको अभिवृद्धि भई एक अर्को पक्षमा विश्वासको संकट उत्पन्न हुने देखिन्छ । यस प्रकारका कदमहरू जनहित एवम् राष्ट्रहितका लागि पक्कै पनि शुभसंकेत होइनन् । तसर्थ प्रस्तुत खराब परिसूचकको जालोबाट अलग रहनु नै आर्थिक विकासको लक्ष्य हासिल गर्नु सरहको अवस्था हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया