Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली नोटमा राष्ट्रनिर्माताको तस्बिर राख

नेपाली नोटमा राष्ट्रनिर्माताको तस्बिर राख


काठमाडौं । नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ भन्ने विचार सबै किसिमले सही हो भन्ने तर्कका साथ यहाँ राख्न कोसिस गरिएको छ । अन्तर्राष्ट्रिय शक्ति राष्ट्र अमेरिका, छिमेकी राष्ट्रहरू चीन र भारतले उनीहरूका नोटमा राखेका व्यक्तिहरू र उनीहरूको योगदानसँग हाम्रा राष्ट्रनिर्माताको योगदानलाई तुलना गरेको खण्डमा लाग्छ हामीले हाम्रा राष्ट्रनिर्माताको तस्बिर नेपाली नोटमा राख्न धेरै ढिलो गरेका छौँ । अब यो गल्तीलाई सच्याउने उचित समय भएको छ ।

अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले अंग्रेजलाई अमेरिकाबाट निकाले । त्यस्तै, भारतमा महात्मा गान्धीले पनि भारतबाट अङ्ग्रेजलाई निकाल्ने आन्दोलनको नेतृत्व गरे । उता चीनमा माओले पनि जापानबाट चीनलाई मुक्त गरे । समानता के हो भने यी तीनै जना नेताहरूले आ–आफ्नो देशबाट विदेशी शक्तिलाई निकालेर देशवासीलाई ठूलो गुन लगाए । उनीहरूले आफ्नो देशलाई यति ठूलो गुन लगाएकाले देशले उनीहरूको सम्मानमा उनीहरूको फोटो आफ्नो देशको नोटमा राखेर कृतज्ञता जाहेर गरे । अर्थात् योगदानको मूल्याङ्कन र सम्मान भयो । उता सम्मान भयो, यता नि ? अब हामी यतातिर लागौँ ।

नेपाल एकीकरण गर्ने क्रममा अघि बढिरहेका पृथ्वीनारायण शाहलाई रोक्न र नेपाल कब्जा गर्ने दीर्घकालीन रणनीतिका साथ नेपाल पसेका अङ्ग्रेज सेनालाई उचित समयमा उचित स्थानमा उचित निर्णय र उचित तरिकाले आक्रमण गरेर पृथ्वीनारायण शाहले नेपालमा पाइला टेक्नै दिएनन् । यदि पृथ्वीनारायण अङ्ग्रेज सेनालाई धपाउन असफल भएको भए ऊ नेपालमा जम्ने थियो र नेपालको एकीकरण सम्भव हुने थिएन । राजनीतिक मानचित्रमा नेपाल भन्ने स्वतन्त्र देश र नेपाली नागरिकको कुनै अस्तित्व रहने थिएन । यसकारण पनि यो विजय नेपाल र नेपालीको लागि ज्यादै महत्वका विजय हो ।

माथि उल्लेख गरिएका तीन देश अमेरिका, भारत र चीनका नेताहरू क्रमश जर्ज वासिङ्टन, महात्मा गान्धी र माओ त्से तुङ्गले विदेशी शक्तिलाई धपाएजस्तै पृथ्वीनारायण शाहले पनि विदेशी शक्तिलाई पाइला टेक्न नदिई धपाए र आफ्नो मुलुकलाई गुलाम हुनबाट बचाए । यस हिसाबले हेर्दा पनि समान काम गर्ने नेताले समान सम्मान पाउनुपर्ने होइन र ? विदेशी खेदेर आफ्नो देशलाई स्वतन्त्रता दिने ती नेताहरूजस्तै स्वतन्त्रताको आधार सुनिश्चत गर्ने पृथ्वीनारायण शाहको पनि नेपाली नोटमा तस्बिर धेरै पहिला नै राखिनुपर्ने होइन र ? माथि उल्लेख गरिएका तीन नेताले नगरेको अझ बढी महत्वको राष्ट्र निर्माण अर्थात् मुलुकको एकीकरण समेत पृथ्वीनारायण शाहले गरेको हुनाले पनि नेपालको नोटमा राष्ट्रनिर्माताको तस्बिर नराख्नुपर्ने कुनै कारण छैन ।

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखेर नेपालले अन्तर्राष्ट्रिय जगत्लाई नेपाल कृतघ्नहरू बसोबास गर्ने देश नभएर कृतज्ञहरू बसोबास गर्ने देश हो भन्ने स्पष्ट सन्देश दिनुपर्छ । पृथ्वीनारायण शाहको सम्मान भनेको राष्ट्रनिर्माताको मात्र सम्मान होइन प्राचीन नेपालका सबै गौरवहरूको समेत सम्मान हो । पृथ्वीनारायणभन्दा पहिला विशाल नेपाल बनाउने किराँत राजा यलम्बर हुन् या लिच्छवी राजा अंशुवर्मा, मानदेव हुन् या मल्ल वंशका यक्ष मल्ल आदि सबै महान राजाहरू समेतको नेपाली नोटमा राखिएको पृथ्वीनारायणको तस्बिरले सम्मान गर्छ । किनभने पृथ्वीनारायण शाह ती सबैका विरासत हुन् ।

पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत नेपालले प्राचीन नेपाललाई आधुनिक नेपालसँग जोडेर नेपालको नयाँ इतिहास मात्र रचना गरेन बरु प्राचीन इतिहासलाई नवीन इतिहाससँग जोडेर प्राचीन गौरवमय इतिहासलाई समेत नेपालको सम्पत्ति बनायो । पृथ्वीनारायण शाहले जुन भूगोललाई नेपालको राजनीति सिमानाभित्र बाँधे त्यहाँ हाम्रा गौतम बुद्ध जन्मेको अर्थात् बुद्ध जन्मभूमि लुम्बिनीका गौरव गर्न पाउने भाग्यमानी नेपाली हुन पायौँ हामी । जुन सिमानाले विश्वको शिखर सगरमाथा भनेर गर्व गर्न दियो नेपाललाई । पृथ्वीनारायण शाहको नेपाली नोटमा राखिएको तस्बिरले हाम्रा यी सबै गौरवहरूको सम्मान गर्छ ।

नेपालको नोटमा सगरमाथाको चित्र राखिएको छ तर जसरी पृथ्वीनारायणको चित्रले बहु र व्यापक क्षेत्रको प्रतिनिधित्व गर्छ इतिहास र इतिहासको सम्मान बोक्छ । सगरमाथाले यी सबै क्षेत्रको प्रतिनिधित्व गर्न सक्दैन । पृथ्वीनारायण शाह पौरखले चुलिएका गौरव हुन् भने सगरमाथा प्रकृतिले खडा गरेको गौरव हो । पृथ्वीनारायणको तस्बिरले एकैपटक पौरखको पनि गौरवको पनि प्रतिनिधित्व गर्दछ ।

नेपालमा जन्मेर नेपाललाई विशाल बनाएर नेपाल जोगाउने र जगाउने विचार दिएर नेपाली माटोमा नै देह त्याग गरेर संसारलाई देखाउन सक्ने कुनै नेपाली महापुरुषको मुहार हो भने त्यो पृथ्वीनारायण शाहकै मुहार हो ।

पृथ्वीनारायण व्यक्ति होइन, संस्था हो । त्यो संस्थालाई नेपाली नोटमा सम्मान गर्दा एकैपल्ट धेरै व्यक्ति शक्ति, जुक्ति, अभियान, सभ्यता, संस्कृति र सौर्य आदि समेतको पनि सम्मान हो, अर्थात् हुन्छ । पृथ्वीनारायण शाह नेपालका प्रथम साम्राज्यवाद विरोधी योद्धा र विजेता हुन् । उनी दरबारका राजा मात्र थिएनन्, तरबार बोकेर युद्ध मैदानमा भिड्ने सिपाही पनि थिए । पृथ्वीनारायणको सम्मान भनेको आदि नेपाली साम्रज्यवाद विरोधी योद्धा र विजेताको पनि सम्मान हो । यस्तो उदाहरण दक्षिण एसियामा नै छैन । पृथ्वीनारायण शाह दक्षिण एसियाकै पराक्रमी योद्धा विजेता सिपाही र नेता हुन् । त्यसैले उनको सम्मानमा नेपाली नोटमा उनको तस्बिर राखेर नेपालको मात्रै होइन दक्षिण एसियाकै गौरवलाई सम्मानित गरिएको मानिनेछ ।

पृथ्वीनारायणको सम्मान आफैँमा युद्ध मैदानमा भिड्ने बहादुर सिपाहीको समेत सम्मान हो । किनभने पृथ्वीनारायण शाह स्वयम् तरबार बोकेर युद्ध मैदानमा भिड्ने बहादुर सिपाही थिए भनेर माथि नै भनिएको छ । बहादुर गोरखाली जुन नेपाली सौर्यको अन्तर्राष्ट्रिय ब्राण्ड बनेको छ, त्यो ब्राण्डका प्रतिनिधि नायक पृथ्वीनाराण नै हुन् । तसर्थ पृथ्वीनारायणको सम्मान भनेको नेपाली सौर्यको सम्मान पनि हो ।

पृथ्वीनारायण शाह कालु पाण्डेहरू पनि हुन्, बिसे नगर्र्चीहरू पनि हुन्, बंश गुरुङहरू पनि हुन् । त्यसैले पृथ्वीनारायणको तस्बिरमा बिसेहरू पनि छन् बंशहरू पनि छन् कालुहरू पनि छन् । यो उनीहरूको पनि सम्मान हो । नेपाल एकीकरण अभियानमा सरिक हुने रगत पसिना बगाउने सबैको सम्मान हो ।

नेपाल एकीकरण विचार र योगदानमा पृथ्वीनारायण सम्झन र बुझ्न सकेको खण्डमा नेपाली नोटमा नेपालका गौरव पृथ्वीनारायणको तस्बिर धेरै पहिल्यै राखिएको हुनुपर्ने थियो । हिजोका हरेक गल्तीलाई सच्याउने आजको दायित्व हो । आज इमानदारी र जिम्मेवारीबाट उम्कन पाउने छैन । अब पृथ्वीनारायण बारे कुनै पनि बाहना र कुनै पनि कृत्रिम लाञ्छना अक्षम्य हुने छन्, अस्वीकार्य हुनेछन् । पृथ्वीनारायण शाह राजाका पनि राजा थिए, बडामहाराजाधिराज । तर उनले जहिल्यै पदभन्दा माथि उठेर काम गरे । उनी नेताका पनि नेता हुन्, बडा नेता ।

उनी दूरद्रष्टा हुन्, योजनाकार र विचारक हुन् । उनी महत्वाकांक्षी हुन्, साहसी बहादुर र उच्च मनोबल पनि हुन् । उनी संगठक हुन् साझा नेता र साझा सपना पनि हुन् । उनी नेपालको हिजो हुन्, आज हुन् र भोलि पनि हुन् ।

उनी गोरखा नामको गमालामा मात्र सीमित भएर रमाउन चाहेनन् । विशाल नेपाल नामको फूलबारी भएर पूmल्न चाहे । उनले यो मेरो पूmलबारी भनेर सामन्ती अहंकार देखाएनन्, बरु विनम्र नेता भएर यो सबै जातको साझा फूलबारी हो उद्घोष गरिदिए र निर्देशन दिए ।

पृथ्वीनारायणसँगै नेपाली सभ्यता उभिन्छ नेपाली प्रकृति र संस्कृति पनि उभिन्छ । उनको उठेको चोर औँलाले एकताको साथ एक ढिका भएर उठ नेपाली माथि–माथि उठ भन्छ र खबरदार सबै विकृतिलाई प्रहार गर्ने पृथ्वीविचारको हतियार पनि छ भन्छ । पृथ्वीनारायण शाह नेपाल एकीकरण मात्र होइनन्, नेपाल पुनर्जीवन पनि हुन् । राज्य टुक्रिएर एकताकाको विशाल नेपाल राज्यको नामनिशान हराएर अस्तित्वविहीन थियो, पृथ्वीनारायणले एकीकृत विशाल राज्य मात्र दिएनन् राज्यको नाम नेपाल दिएर नेपाललाई पुनर्जीवन पनि दिए ।

जुनै कोणले हेर्दा पनि नेपालको नोटमा पृथ्वीनारायणको तस्बिर राख्नु नपर्ने कुनै कारणै छैन । हिजो उनको मुकुट ओढ्ने उत्तराधिकारीले यसको महत्व नबुझेर नेपाली नोटमा राष्ट्रनिर्माताको तस्बिर राखेनन् भन्दैमा परिवर्तनले यो ऐतिहासिक गल्तीलाई नसच्याउनु पर्ने हो र ?

अहिले राज्यले यो गल्ती सच्याउने उचित समय हो । गौरवशाली राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा राखेर नेपाली नोट र नेपालको गौरव बढाउने हो । सबैलाई चेतना भया ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया