Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगट्राफिक व्यस्थापनमा प्रविधिको प्रयोग

ट्राफिक व्यस्थापनमा प्रविधिको प्रयोग


काठमाडौं । विसं २००९ सालदेखि ट्राफिक प्रहरीले सडक ट्राफिक व्यवस्थापनमा आफ्नो सेवालाई निरन्तर प्रवाह गर्दै आइरहेको छ । विभिन्न आरोह अवरोहहरू पार गर्दै यस संगठनले राम्रो चुस्त सेवा प्रवाहलाई मूल ध्येय मानेको देखिन्छ । दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, साँघुरा सडक, सवारी नियमबारे जनमानसमा बुझाइको कमी विशेषगरी ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्ति ट्राफिक व्यवस्थापनका लागि वर्तमानका जटिल एवम् चुनौतीपूर्ण कार्य हो । सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवम् अव्यवस्थित प्रतिस्पर्धाले पनि सवारी व्यवस्थापन एवम् ट्राफिक नियम परिपालनामा चुनौती थपिँदै गएको छ । यातायातसँग सम्बन्धित पक्षबाट यस्ता चुनौतीलाई अवसरका रूपमा लिएर यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै दीर्घकालीन योजना तयार गरि कार्यान्वयन गरिनु अतिआवश्यक भइसकेको छ ।

विषय प्रवेश
सामान्य तथा विशेष परिस्थितिमा समेत ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐननियमको पालना गराउनुका साथै सवारी नियम उल्लंघनकर्तालाई सजक गराउने कार्य नै आजको समयमा मुख्य चुनौती रहेको देखिन्छ । ट्राफिक प्रहरीले आफ्नो मुख्य मिसनको रूपमा ‘सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापन’लाई अगाडि सारेको छ । यस अर्थमा पनि प्रहरीले सवारी व्यवस्थापन, विद्यमान ऐननियमको पालना र सवारी नियम उल्लंघनकर्तालाई मानसिकरूपमा पनि तयार गरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्दै लानुपर्ने देखिन्छ ।

सवारी नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्न ट्राफिक व्यस्थापनमा प्रविधिको प्रयोगसम्बन्धी मेरो अवधारणा ।

हाम्रो मुख्य उद्देश्य भनेको सवारी धनी र ट्राफिक प्रहरीबीच सडकमा हुने विवाद वा झगडालाई पूर्णतः बन्द गराउनु र योजनाबद्ध तथा मर्यादितरूपमा ट्राफिक नियमको परिपालना गर्नु÷गराउनु नै हो । त्यसको लागि ट्राफिक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्दै लैजानुपर्छ । सो कार्यलाई कार्यान्वयन गर्न र जरिवाना गर्ने कार्यलाई सहज बनाउन छुट्टै एक सफ्टवेयरको विकास गर्नुपर्छ जुन सडकमा खटिने प्रहरीको मोबाइलमार्फत चलाउन सकियोस् । त्यसैगरी अनलाइनबाटै ट्राफिक क्लियरेन्स प्राप्त गर्न एक वेभसाइटको आवश्यकता पर्छ ।
यसमा कसरी कार्य गर्ने त ?

पहिलो चरण
कुनै पनि सवारीधनीले सडकमा ट्राफिक नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले सवारी धनीको सवारीमा ट्राफिक नियम उल्लंघन भएको कारण र सो गल्तिका लागि लाग्ने रकम उल्लेख भएको (जसलाई कोड नंवरको आधारमा सानो बनाउन सकिन्छ ।) स्टिकर टास्ने र प्रहरीले मोबाइलबाट सो सफ्टवेरमा सवारीको विवरण, जरिवानाको कारण, रकम, अवस्था (फोटो) आदिको विवरण पोस्ट गर्ने ।

दोस्रो चरण 
कुनै सवारी धनीले वर्ष भरिमा कति पटक जरिवानामा परेको हो सो को कारण र रकमसहितको रेकर्ड सफ्टवेयरमा सुरक्षित रहेको हुन्छ । जब सवारी धनीले सवारी नवीकरण गर्ने बेला आउँछ त्यतिबेला ट्राफिक प्रहरी कार्यालयमा वा बैंकमार्फत निजले तिर्नुपर्ने जरिवाना रकम तिरेपछि एक क्लियरेन्स पत्र लाइनमार्फत प्राप्त गर्नेछ । सो क्लियरेन्स पत्र भएका सवारीहरूको मात्र यातायात व्यवस्था कार्यालयले वार्षिक नवीकरण गरिदिने छ । यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयबीच समन्वय हुनुपर्नेछ । त्यसैगरी अनलाइनमार्फत आफूले तिर्नुपर्ने जरिवाना सवारी धनीले वेभसाइटमा हेर्न पाउने छ भने जरिवाना तिर्नु नपर्ने सवारी धनीले अनलाइनबाटै ट्राफिक क्लियरेन्स पत्र प्राप्त गर्न सक्नेछ ।
यस प्रक्रियाबाट हुने सहजताहरू
१)  सवारी धनी र ट्राफिक प्रहरीबीच सडकमा हुने सबै किसिमका विवाद, झगडा वा लेनदेन पूर्णतः बन्द हुन्छ ।
२)  सवारी नियम उल्लङ्घनकर्तासँग तत्काल पैसा नहुँदा आइपर्ने समस्याको एउटा मर्यादित समाधान हुन सक्छ ।
३)  सवारी नियम उल्लङ्घनकर्ता सवारीधनीले तिरेको सबै रकम सरकारी खातामा जाने हुँदा राजस्व रकम बढ्छ ।
४)  सवारी धनीहरू बढी सतर्क रहनुपर्ने हुँदा सडक सुरक्षित, मर्यादित र व्यवस्थित हुन्छ ।
५)  प्रविधियुक्त सवारी व्यवस्थापनमा यस कार्यले सहयोग पुग्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया