Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

ओगिल्जा


काठमाडौं । अमर अधिकारीको ओगिल्जा नामक आत्मकथा सङ्ग्रह २०८० सालमा दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ । यस आत्मकथा सङ्ग्रहभित्र उनीद्वारा लेखिएका घटनाहरू छ वटा खण्डमा विभाजन गरिएका छन् । खण्ड एकमा बाल्यावस्थादेखि किशोरावस्थासम्मका घटनाहरूलाई समावेश गरिएको छ । दुई वर्षको उमेरदेखिका सम्झनामा यस कृतिका लेखक अमरलाई आमाले काखमा राखेर घाम तपाउँदै तेल घसिदिएको पनि राम्ररी सम्झना छ भनिएको छ । होलीलाई हामी होरी भन्थ्यौँ । होली आउनुभन्दा केही दिनअघि नै हामी पचका (पिच्कारी) बनाउनका लागि खस्रे बाँस काट्न लुङ्ग्री तरेर बाहेखोला जान्थ्यौँ भनेर लेखिएको छ ।

रोल्पा जिल्लाको खुङ्ग्रीमा रहेको ओगिल्जा यस्तो स्थान हो, जहाँ अमरले बाल्यकाल पार गरी किशोरावस्थामा प्रवेश गरेदेखि नै ज्यादै नजिक भएका छन् । रोल्पाबाट चालिस वर्ष अगाडि काठमाडौं छिरेका लेखक अमरले सरकारी सेवा गर्दा गर्दै पनि समय निकालेर २०४५ सालदेखि नै साहित्यप्रति अगाध रूचि र झुकाव राखेका छन् । बाल्यकालमा अमरको चेत खुलेदेखि नै घरमा रेडियो घन्किरहन्थ्यो कहिले अगेना छेउको थाममा त कहिले मूलढोकाबाहिर दायाँपट्टिको किलामा झुण्डिएर ।

गाउँमा चार–पाँच घरमा मात्र रेडियो हुन्थे । लाइसेन्ससहित भनेर मैले भोगेका रेडियोका कथाभित्र उनले लेखेका छन् । सजीवनको गेडा खाँदा झण्डै ज्यान गएको भनेर पाँच–छ कक्षा पढ्दाताकाको कुरा हो, बिदाको दिन म र नरेन्द्र अंकलले गाईलाई पाबाङमाथि चरनमा छोडेर अलि मुनितिर फलेको सजीवनको बोेटमा सुकेर झुण्डिएको गेडा निकालेर चाख्यौँ । गेडा ज्यादै स्वादिलो मानेर खान थाल्यौँ ।

थप्दै खाँदै गर्दा धेरै मात्रामा सिध्याइसकेछौँ । त्यो मीठो स्वादको नतिजा लाकुरधारा आइपुगेपछि देखिन थाल्यो । झाडावान्ता सुरु हुन थालेपछि घरि तल र घरि माथि, घरि यता र घरि उता गर्न थाल्यौँ । घर पुग्दा शरीर शिथिल भइसकेको थियो भनेर अमरले लेखेका छन् । यस सङ्ग्रहभित्रको खण्ड दुईमा संस्थान सेवामा प्रवेशपछिका घटनाहरूलाई समावेश गरिएको छ । एक हजार रुपैयाँ ऋण काढेर काठमाडौं छिरेको हुँ भनेर उनले लेखेका छन् । २०४० सालमा एसएलसी परीक्षा उत्तीर्ण भएपछि उनलाई काठमाडौं ल्याएर पढाउने आर्थिक क्षमता पिताजीमा छँदै थिएन रे । दोकान गर्दाखेरिको दश हजार ऋण साहुलाई तिर्न नसकेर अमरका पिता चरम आर्थिक संकटमा हुनुहुन्थ्यो भनिएको छ । सुरुका दिनमा उनले दैनिक १९ रुपैयाँ ज्यालादारीमा काम गरेका थिएँ । २०४० साल असोज ९ गतेदेखि वीरगञ्ज चिनी कारखानाको अफिस पुतलीसडकमा उनले जागिर सुरु गरेका रहेछन् । भाँडाकुँडा सित्तैमा पाउने लोभमा चाउचाउ र कफी धेरै खाए भनेर अमरले लेखेका छन् ।

No description available.

यस सङ्ग्रहभित्रको खण्ड तीनमा निजामती सेवा प्रवेशपछिका घटनाहरूलाई समेटिएको छ । इन्जिनियर ओभरसियर आफूले मात्र भत्ता लिन्थे मलाई दिँदैैन’थे भनेर अमरले लेखेका छन् । आफू बेहाल हुनबाट जोगिँदाको त्यो खुशीमा हाम्रो इस्माली खलककोे मात्र नभएर निजामती सेवामा खुङ्ग्रीकै पहिलो व्यक्तिको रूपमा उनले आफूलाई उभ्याएका रहेछन् । काठमाडौंमा रोल्पालीले पनि सरकारी जागिर खान्छन् र भन्नेहरू पनि भेटिन्थे रे ।

खण्ड चारमा जन्मभूमि खुङ्ग्री र आसपास झल्काउने गीत उनले लेखेका छन् । उक्त गीतमा देउखुरीको पराल बोकी गाउँतिर ल्याउने भर्खर किन्या माली गाई मंसिरमा ब्याउने भनेर लेखेका छन् । खण्ड पाँचभित्र अमरवाणीहरू लेखेका छन् । राम्रो कामका लागि अरूलाई सके प्रोेत्साहित गर्नु नसके निरुत्साहित नगर्नु । मन मस्तिष्क शुद्ध नभई जीवन सरल, सहज र सार्थक बन्दैन । खुशी निक्षेप हो भने मुस्कान त्यसको ब्याज हो भनेर अमरवाणी उनले लेखेका छन् ।

मोबाइलमा लिपिबद्ध गरी पुस्तकलाई प्रकाशनमा ल्याउने यस सङ्ग्रहका लेखक नै नेपालको पहिलो कृतिकार हुन् । यस सङ्ग्रहलाई सरसर्ती हेर्दा कृतिकार किशोरावस्था हुँदा लुङ्ग्री नदीमा पौडी खेल्नुका साथै अन्य खेलहरू खेल्ने थलो र जन्मथलोको प्रमुख गौचरन पनि रहेछ ओगिल्जा । अन्त्यमा यस सङ्ग्रहभित्रको खण्ड छमा खुङ्ग्री÷माडीखोला÷रोल्पा÷राप्तीमा बोलिने शब्दहरू अमरले लेखेका छन् ।
कृतिः ओगिल्जा
प्रकाशक तथा लेखकः अमर अधिकारी
मूल्यः रु. २०१।–
पहिलो संस्करणः वि.सं. २०८०
पृष्ठः ११६


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया